८४ दिन थुनामा बस्दा ४ किलो बढेछ तौल
८४ दिन लामो प्रहरी हिरासतमा बसेर गत बिहिबार बाहिर निस्कँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निकै मोटोघाटो र फूर्तिलो देखिए । सो पार्टीका नेता-कार्यकर्ताले हिरासतभित्र आफ्ना सभापतिलाई यातना दिएको, अमानवीय व्यवहार गरेको आरोप प्रहरी प्रशासनमाथि लगाएका थिए । तर, खाइलाग्दो जिउडाल र हर्षित चेहरामा हात हल्लाउँदै लामिछाने हिरासतबाट बाहिर निस्किँदा ती आरोप स्वत: मिथ्या प्रमाणित भएको छ ।
कास्की प्रहरीले हिरासतभित्र रहँदा उनलाई कुनै कुराको अभाव हुन नदिएको बताएको छ । एक प्रहरी अधिकारीका अनुसार कानुनको सीमाभित्र रहेर रविले जे चाहन्थे,प्रहरीले त्यही पुर्याइदिएको थियो । ‘बाहिर हल्ला गरिएको जस्तो अवस्था भित्र थिएन’, जनआस्थासँग उनले भने, ‘उहाँ (रवि)ले जे माग्नुहुन्थ्यो,हामीले पुर्याइदिएका थियौँ ।’
हिरासत बसाइकै क्रममा लामिछानेको चार किलो ताैल बढेकाे छ । काठमाडौँबाट पोखरा पुर्याएको भोलिपल्ट कात्तिक ३ गते बिहानै स्वास्थ्य जाँच गर्दा तौल मापन गरिएको थियो । प्रहरीले बिहिबार हिरासतमुक्त हुनुअघि अन्तिम पटक स्वास्थ्य जाँच गराएको थियो । यसक्रममा लामिछानेको वजन चार किलो बढेको पाइएको हो । यसबाट उनको खानपिन र स्वास्थ्य अवस्थाप्रति प्रहरीले अपनाएको संवेदनशीलता पुष्टि हुने उनै प्रहरी अधिकारीले बताए ।
लामिछानेले हिरासतमा रहँदा पूर्णरुपले शाकाहारी खाना खाएको पनि उनले जानकारी दिए । ‘फलफूल र दूध दही चाहिँ राम्रै खोज्नुहुँदो रहेछ,हामीले पनि जसोतसो पुर्याइदियौँ', उनले भने, 'यसै पनि अनेक आरोप लागिरहेको थियो । फेरि हिरासतमा भोकै राखे भनेर अर्को तनाव देलान् भन्ने डर !’
कास्कीमा ६५ लाख धरौटी बुझाएर छुटेका लामिछानेविरुद्ध काठमाडौँ, चितवन,पर्सा र रुपन्देहीमा पनि मुद्दा चलिरहेको छ । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा अहिले थुनछेक बहस चलिरहेको छ । हिजो बिहान आफैँ बयानको लागि अदालतमा उपस्थित भएका लामिछानेको बहस नसकिएपछि न्यायाधीश माधव अधिकारीको इजलासले न्यायिक हिरासतमा पठाउन आदेश दिएको थियो । आज साँझसम्म वा पर्सि धरौटीमा छोड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश आउनसक्ने अनुमान गरिएको छ ।
टिप्पणीहरू