चिनियाँ सकमक्षीसमक्ष ‘निर्लज्ज’ सँग प्रस्तुत हुनुपरेको रहस्योद्घाटन

सुन्नुहोस्

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले चीनसँग हालै सम्पन्न बिआरआई सम्झौता कार्यान्वयनबारे प्रष्ट पार्ने क्रममा चिनियाँ समकक्षी वाङ यीसँगको भेटवार्तामा आफू निर्लज्ज ढंगले प्रस्तुत भएको दाबी गर्नुभएको छ । आज आयोजित संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै उहाँले ऋणको सट्टा नेपाललाई अनुदान उपलब्ध गराउन आग्रह गर्ने क्रममा आफैलाई लाज लाग्नेगरी त्यसरी प्रस्तुत हुनुपरेको धारणा राख्नुभएको छ । 

भन्नुभयो, ‘मैले चीनको परराष्ट्रमन्त्रीलाई स्पष्टसँग के भनेको छु भने हाम्रो कूल गार्हस्थ उत्पादन (जिडिपी) ४१ प्रतिशत डेथ सर्विसिङमा छ । हामी कुनै पनि प्रकारको ऋण लिने अवस्थामा छैनौं । त्यसकारण हामीले तपाईंसँग एड र ग्रान्टको मात्र अपेक्षा गरेका छौं भनेर निर्लज्जका साथ प्रस्तुत गरेकी छु ।’ त्यसरी प्रस्तुत हुनुपर्ने कारणबारे उहाँले नै प्रष्ट पार्ने कोशिस गर्नुभएको छ । अगाडि भन्नुभयो, ‘जे हो त्यो त भन्नैपर्यो नि । अहिले हामीले जति परियोजना यसमा हालेका छौं त्यो सबै एड फाइनान्सिङमै आउँछ । चीन सरकारले पनि के भनेको छ भने जति पनि परियोजना हामीले दिने भनेका छौं त्यहीअन्तर्गत आउँछ ।’

चीन सरकारसँग ऋणसम्बन्धी कुनै पनि समझदारी नभएको उहाँको दाबी छ । बिआरआई परियोजनाअन्तर्गतका सबै परियोजना एड फाइनान्सिङमै हुने उल्लेख गर्नुभयो । प्रधानमन्त्रीको हालैको चीन भ्रमणमा महत्वपूर्ण सम्झौता भएको उहाँको भनाई छ ।

टिप्पणीहरू