भैंसी मरेपछि स्नेहाको आँखाबाट आँशुको बलिन्द्र धारा

भैंसी मरेपछि स्नेहाको आँखाबाट आँशुको बलिन्द्र धारा

भैँसी मरेपछि विधिपूर्वक अन्तिम संस्कार गरिएको घटना सायदै सुन्नुभएको होला ! तर, ललितपुरमा मायाकुमारी नामकी भैँसीको मृत्युपछि फूलमाला चढाएर विधिपूर्वक अन्तिम संस्कार गरिएको छ । 

डेढ वर्षदेखि ललितपुरको स्नेहा केयर्समा उपचाररत मायाकुमारीको अस्ति निधन भएको हो । केयर्सकी सञ्चालिक स्नेहा श्रेष्ठका अनुसार डेढ वर्षअघि मासुको लागि भैंसी तराईबाट काठमाडौँ ल्याइएको थियो । त्यसपछि बधशालामा पुर्याएर मार्ने क्रममा टाउकोमा घन प्रहार गरियो । तर, भैँसी ढल्नुको साटो चोटमा रन्थनिएर भाग्यो । 

नेपाल प्रहरीको टोलीले समातेर पुनः बधशालाकै जिम्मा लगाउन खोज्यो । एकजना पशु अधिकारकर्मीले प्रहरी र बधशालासँग पौंठेजोरी खेल्दै भैँसीलाई स्नेहा केयर्समा पुर्याए ।

टाउकोमा घन बज्रेपछि अत्तालिएको भैँसी केही महिनासम्म मानिससँग तर्सिएको स्नेहा श्रेष्ठ बताउँछिन् । सेन्टरमा पुर्याउँदा भैँसीको एउटा सिङ भाँचिएको थियो भने आँखा र टाउकोबाट रगतको धारा चुहिरहेको थियो । स्नहाले भनिन्, ‘बधशालाभित्र टाउकोमा बज्रिएको घनको प्रहार कति दर्दनाक हुन्छ भन्ने तिमीलाई मात्र थाहा थियो !’

भैँसीको उपचार चलिरहेको थियो । त्यसैक्रममा उसको पेटमा दुई महिनाको गर्भ रहेको खुल्यो । त्यसपछि दिलोज्यान दिएर भैँसीको उपचारमा लागेको अनुभव स्नेहाले सुनाइन् । चार महिनापछि बल्ल भैँसीले मानिससँग नजिक हुन सिकेको उनको अनभुव छ । उनैले ‘मायाकुमारी’ नाम राखिएदिएकी हुन् । केही समयपछि मायाकुमारीले पाडी पाएपछि नाम राखियो ‘मैचा’ ।

एकपटक मृत्युको मुखबाट बाँचेकी मायाकुमारीले अस्ति प्राण त्यागेकी हुन् । उनको बिदाइमा स्नेहाले भनेकी छन्, ‘तिम्रो मायाको चिनो मैचाको मूख हेरेर तिम्रो झल्को मेटाउनुबाहेक अब हामीसँग कुनै विकल्प छैन । आज हामी सबैको गला अबरुद्ध भइरहेको छ । गहभरी आँशु लिएर तिमीलाई श्रद्धाञ्जली अर्पण गर्दछौँ ।’

टिप्पणीहरू