चीनको मरुभूमिमा सौर्य पर्खाल, ऊर्जा क्षेत्रमा विश्वकै पहिलो ‘मेगा प्रोजेक्ट’
चीनले भित्री मंगोलियामा अवस्थित कुबुछी मरुभूमिमा सौर्य पर्खालको निर्माण गर्न थालेको छ । कुनै समय ‘मृत्युको सागर’ भनिने मरुभूमिमा चीनले चार सय किलोमीटर लामो सोलार ग्रेटवाल बनाउन लागेको हो ।
नवीकरणीय ऊर्जाको प्रमुख केन्द्र (हब) को रुपमा विकास गर्न लागिएको विशाल परियोजनामार्फत् एक लाख ८० हजार किलोवाट सौर्य ऊर्जा उत्पादन गर्ने लक्ष्य लिइएको छ । ऊर्जा क्षेत्रमा विश्वकै पहिलो ‘मेगा प्रोजेक्ट’ अन्तर्गत सन् २०३० सम्ममा एक सय मेगावाट सौर्य ऊर्जा उत्पादन गरिने जनाइएको छ ।
मरुभूमिमा प्यानलहरु बिच्छ्याइनेछ । राज्य नियन्त्रित चाइना थ्री गर्जेज र स्टेट पावर इन्भेष्टमेण्ट कर्पोरेसनलगायत उद्योगले निर्माण गरिरहेको सोलार ग्रेटवालको पहिलो चरण सकिनेबित्तिकै चीनको नवीकरणीय ऊर्जामा ठूलो वृद्धि हुने विश्वास लिइएको छ ।
चीनले विश्वव्यापी क्षमताको ५१ प्रतिशत सौर्य ऊर्जा उत्पादन गर्दै आएको छ । सन् २०२४ को मध्यसम्ममा चीन विश्वको कुल क्षमताको तीन लाख ८६ हजार ८७५ मेगावाट अर्थात् आधाभन्दा बढी सौर्य ऊर्जा उत्पादन गर्ने पहिलो राष्ट्र बन्ने छ ।
हाल ७९ हजार ३६४ मेगावाट सौर्य ऊर्जा उत्पादन क्षमताका साथ अमेरिका दोस्रो र ५३ हजार ११४ मेगावाट रहेको भारत तेस्रो स्थानमा छ । सन् २०१७–०२३ को अवधिमा चीनको सौर्य ऊर्जा क्षमता हरेक वर्ष ४० हजार मेगावाटले बढेको थियो ।
चीनको ऊर्जा आवश्यकता पूरा गर्ने लक्ष्य मात्र नभई जलवायु परिवर्तनविरुद्धको लडाईँमा विश्वको ज्योति बन्ने शुरुवातको रुपमा लिइएको छ । सोलार ग्रेटवालले वातावरणमैत्री ऊर्जा मात्र उत्पादन गर्दैन, यसले आर्थिक र पर्यावरणीय फाइदासमेत पुर्याउँछ । यो प्रणालीले मरुभूमिमा नवीकरणीय ऊर्जा विकासको सुनिश्चित गर्ने बताइएको छ ।
टिप्पणीहरू