आजै रविबिरुद्ध पूरक अभियोग दर्ता हुँदै
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना प्रकरणको पूरक अभियोगपत्र आज रुपन्देही जिल्ला अदालतमा दर्ता हुँदैछ । गोखा मिडिया नेटवर्क प्रा.लि.का अध्यक्ष जिबी राई,उपाध्यक्ष छविलाल जोशी,प्रबन्ध निर्देशक रवि लामिछानेसहितका प्रतिवादीमाथि थप अनुसन्धान गरी सरकारी वकिलको कार्यालयले पुरक मुद्दा दर्ता गर्न लागेको हो ।
लामिछानेलगायतका अभियुक्तमाथि सहकारी ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामध्ये तयारी अभावले एउटा आजै दर्ता हुने तयारी छ । सम्पत्ति शुद्धीकरणको मुद्दा भने एक दुई दिनमै दर्ता हुनेछ । सुप्रिम सहकारीको एक अर्बभन्दा बढी रकम हिनामिना भएको छ । सोमध्ये १४ करोडभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कको खातामा गएको छ ।
२०८० बैशाख ३ मा सरकारी वकिल कार्यालयले रुपन्देही जिल्ला अदालतमा दायर गरेको सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका तत्कालिन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवादी बनाइएको थिएन । बहालवाला मन्त्री भएकाले प्रहरीले संलग्नता देखिए पनि उनीमाथि अभियोग लगाउन सकेको थिएन ।
सो मुद्धामा सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ्ग पुर्पक्षका लागि थुनामा छन् । बचत हिनामिना प्रकरणका मुख्य योजनाकार पूर्व अध्यक्ष तथा सल्लाहकार गितेन्द्र बाबु राई (जिबी राई), ब्यवस्थापक सागर केसीलगायतका अभियुक्तहरु फरार छन् । २८ जना प्रतिवादी रहेको मुद्धामा १ अर्ब २ करोड रुपैयाँ बिगो माग भएकोमा पूरक अमियोगपत्रमा बिगो केही बढ्ने भएको छ । सहकारीका १८३१ बचतकर्ताले जाहेरी दिएपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।
२८ जना प्रतिवादी रहेको मुद्धामा १ अर्ब २ करोड रुपैयाँ बिगो माग भएकोमा पुरक अमियोगपत्रमा बिगो केही बढ्ने भएको छ ।
सुप्रिम सहकारीबाट गोर्खा मिडियामा १० करोड ९९ लाख ३६ हजार रुपैयाँ रकम पठाइएको छ । रवि लामिछानेको नाममा दुई करोड कर्जा देखिएको छ । रविले लिएको कर्जा पनि गोर्खा मिडियामै गएको छ । गोर्खा मिडियाको सिद्धार्थ बैंक लि.को खाता नं. ००११५९७८०९७ र ग्लोबल आईएमई बैंकको खाता नं. ०४०१०१००००५७७ मा पैसा पठाइएको छ ।
गोर्खा मिडिया नेटवर्कमै गएको त्यत्रो पैसा पठाउनुको उद्देश्य कहि खुलेको देखिदैन । सहकारीका ब्यवस्थापक सागर केसी र अन्य कर्मचारीहरुले कर्जा फारम भर्ने, पेश्की विवरण तयार पार्ने र बैंकमा गएर पैसा जम्मा गर्ने गरेको देखिन्छ ।
जिवि राईको कम्पनी स्प्रीङउड रियलस्टेट प्रा.लि.मा १५ करोड ३३ लाख ६३ हजार, नेचर नेष्ट प्रा.लि.मा १० करोड ७७ लाख ८३ हजार, जिबि गु्रप अफ कम्पनीज प्रा.लि.मा १२ करोड ३५ लाख ५४ हजार लगानी भएको छ । सचिव कुमार रम्तेल २ करोड ५३ लाख ६३ हजार, दिनेश रोक्का ३ करोड ९२ लाख, जिबि राईकै नाममा ६ करोड ६६ लाख ६१ हजार, ब्यवस्थापक सागर केसी १ करोड १३ लाख, अध्यक्ष ओमप्रकाश गुरुङ्ग २ करोड ८८ लाख, भूपेन्द्र राई ४ करोड ४० लाख कर्जा गएको देखिन्छ ।
टिप्पणीहरू