प्रधानमन्त्रीविरुद्ध चर्को भाषण गरेका प्रदेश प्रमुखको रजगज
प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘हत्यारा’ करार गर्दै चर्को भाषण गरेर एक समय चर्चामा आएका थिए, लुम्बिनी प्रदेश प्रमुख कृष्ण घर्तीमगर । समानुपातिक राज्य प्रणालीको चर्को विरोधी रोल्पाका उनी प्रधानमन्त्री ओली नेतृत्वको सरकारकै पालामा प्रदेश प्रमुख बने ।
पार्टीभित्र सभापति शेरबहादुर देउवानिकट भनेर चिनिने उनी यतिबेला सचिवालयलाई कार्यकर्ता भर्ती केन्द्र बनाएको आरोपसँगै विवादमा तानिएका छन् । प्रदेश प्रमुखको सचिवालयमा १२ जना कर्मचारी छन्, तीमध्ये धेरैजसोलाई सचिवालयबारे केही थाहा नभएको बताइन्छ । शेखर कोइरालानिकट मानिने प्रदेश नेताहरुको आरोप छ, ‘प्रदेश प्रमुखले लाज पचाएर आफन्तहरुलाई जागिर दिए ।’
घर्तिका प्रमुख स्वकीय सचिवमा दलमन पुन मगर छन् । प्रदेश प्रमुखको नातेदार भएकै कारण उनले सचिवालयमा जागिर पाएको जिल्ला तहका एकथरी कांग्रेसी नेताको दाबी छ । अजयकुमार महरा सह–स्वकीय र अस्मिता घर्ती उप–स्वकीय सचिव छिन् । अस्मिताका श्रीमान प्रदेश प्रमुख घर्तीकै कार्यकर्ता हुन् । श्रीमानको बलमा उनले सचिवालयमा नियुक्ति पाएको बताइन्छ । स्वकीय अधिकृतमा नियुक्ति पाएकी भृकुटी विकलाई उक्त पदबारे जानकारी समेत छैन । सचिवालयमा बाबु टेकबहादुर विक देखिने गरेका छन् । प्रदेश प्रमुख घर्तीले सञ्चार सहजीकरणको निम्ति एक जना पत्रकारलाई आफ्नो सचिवालयमा राख्नु स्वाभाविक हो । उच्च पदस्थ व्यक्तिहरुले त्यसो गर्छन् पनि ।
तर, उनले आफैँ ‘फोटोग्राफर अधिकृत’ पद सृजना गरी लोकेन्द्र चन्दलाई जागिर दिए । जबकि चन्द रोल्पामा बस्छन् । त्यसैमाथि उनी फोटो पत्रकार पनि होइनन्, एउटा रेडियोमा विज्ञापन खोज्ने मामुली कर्मचारी भएको बताइन्छ ।सचिवालयका अन्य कर्मचारी दिलिप केसी, झरना आचार्य, चन्द्रप्रकाश बुढाथोकी, गणेश घर्ती, पुष्प घर्ती, शेरबहादुर वली र सरोज डाँगीले पनि कुनै योग्यता प्रस्तुत गरेर जागिर खाएका होइनन् । तीमध्ये अधिकांशलाई प्रदेश प्रमुख घर्तीले आफन्तीकै कारण नियुक्ति दिएको कोइराला पक्षका नेताहरुको दाबी छ । प्रशासन सहायकको नियुक्ति आचार्यले लिए पनि सचिवालयमा भने हर्ताकर्ता बाबु लिलाधर हुन् ।
घर्तीले सचिवालयमा अनावश्यक जम्बो टोली राखेर राज्यमाथि आर्थिक भार थपेको कांग्रस प्रदेश समितिका एक सदस्यले बताए । ‘पहिलो कुरा त उहाँ (घर्ती)ले देउवाको आर्शिवाद पाएर हामी (कोइराला पक्ष)लाई नेताको व्यवहार गर्नुभएको छैन, अर्को कुरा सचिवालयमा आफन्तहरु भर्ती गरेर तमासा देखाइरहनु भएको छ’, उनले भने ।
टिप्पणीहरू