राजधानीबाट जाने टोलीले फार्मेसी नवीकरण गर्दै

राजधानीबाट जाने टोलीले फार्मेसी नवीकरण गर्दै

प्रदेश स्तरमा सञ्चालित औषधि (फार्मेसी) पसल दर्ता प्रमाणपत्र नवीकरणका निम्ति औषधि व्यवस्था विभागबाट टोली खटाउन लागिएको छ । विभागले सेवाग्राहीको सहजताका लागि नवीकरणका लागि टोली खटाउन लागिएको जनाएको छ । विभागको टोली पहिलो चरणमा आइतबारदेखि गण्डकी प्रदेशमा जाँदै छ । 

टोलीले फार्मेसी पसल दर्ता प्रमाणपत्र नवीकरण र व्यवसायी मान्यताप्राप्त कार्ड नवीकरण गर्नेजस्ता सेवा प्रदान गर्ने विभागले जनाएको छ । ‘सेवाग्राहीको माग तथा सुविधालाई ध्यानमा राखी विभागको कार्यलाई सेवाग्राहीमैत्री बनाउन फार्मेसी पसल दर्ता प्रमाणपत्र नवीकरण र व्यवसायी मान्यताप्राप्त कार्ड नवीकरण गर्नेजस्ता सेवा प्रदान गर्न यस विभागबाट टोली खटिने हुँदा गण्डकी प्रदेशअन्तर्गत सञ्चालनमा रहेका थोक तथा खुद्रा औषधि पसलका सञ्चालक तथा व्यवसायीलाई जानकारी गराइन्छ,’ सूचनामा उल्लेख छ ।

टोलीले गण्डकीको स्वास्थ्य मन्त्रालयमार्फत आगामी माघ ११ गतेसम्म सेवा प्रदान गर्ने छ । प्रदेशस्तरमा सञ्चालित औषधि पसलको दर्ता प्रमाणपत्र तथा व्यवसायी मान्यता कार्ड प्रत्येक पाँच–पाँच वर्षमा नवीकरण गरिन्छ ।

टिप्पणीहरू