हिजो दिनभर भिआईपीहरुको ओहोरदोहोर

हिजो दिनभर भिआईपीहरुको ओहोरदोहोर
सुन्नुहोस्

अति विशिष्ट र विशिष्ट व्यक्तिहरुको काठमाडौंबाट बाहिरिने र भित्रिने क्रम हिजो केही बढी देखियो । प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, उपसभामुख, मन्त्री, राजनीतिक दलका नेता तथा उच्च पदस्थ अधिकारीहरुको ‘मुभमेन्ट’ निकै भएको बताइन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओली पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त कार्यक्रममा सहभागी हुन बिहान पौने १२ बजे काठमाडौंबाट त्यता जानुभएको थियो । स्वास्थ्यमन्त्री प्रदिप पौडेलसहितको १४ सदस्यीय टोली यती एअरलाइन्सको उडानमा पोखरा गएर साँझ ५ बजेको समयमा राजधानी फर्केको थियो । फर्कंद सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसहित सरकारी टोलीमा १८ सदस्य थिए ।

स्वास्थ्यमन्त्री पौडेल भने यती एअरलाइन्सको अर्को उडानमा राति साढे ६ बजे राजधानी फर्कनुभएको थियो ।

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हिजो बिहान ११ बजे बुद्ध एअरको उडानमा भरतपुर गएर साँझ ५ बजे राजधानी फर्कनुभएको बताइन्छ । उहाँसँगै सात सदस्यीय टोली त्यता गएको हो ।

हिजै बिहान बुद्ध एअरको उडानमा राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार तथा पूर्वमन्त्री सुनिल बहादुर थापा र पूर्व राज्यमन्त्री उमेश श्रेष्ठ भरतपुर पुगेको बताइन्छ । 
 

उता कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही बुद्ध एअरको उडानमा दिउँसो १ बजे काठमाडौंबाट सुर्खेत र पूर्व उपप्रधानमन्त्री तथा काँग्रेस उपसभापति पूर्णबहादुर खड्का दिउँसो १ बजे बुद्ध एअरको उडानमा पोखरा गएका हुन् । 

त्यस्तै यती एअरलाइन्सको उडानमा दिउँसो ३ बजे मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल जनकपुर, एमाले महासचिव शंकर पोखरेल दिउँसो ३ बजे श्री एअरलाइन्सको उडानमा काठमाडौंबाट भैरहवा गएका हुन् । उपसभामुख इन्दिरा रानामगर बुद्ध एअरको उडानमा दिउँसो साढे ३ बजे भद्रपुर र पूर्वमन्त्री दीपक गिरी बुद्ध एअरको उडानमा नेपालगञ्जबाट काठमाडौं आएको बुझिएको छ ।

हिजै राजधानीबाट बाहिरिने र भित्रिने भिआईपीहरुमा क्रमशः पूर्वमन्त्री अब्दुल खान अपरान्ह पौने ५ बजे यती एअरलाइन्सको उडानमा नेपालगञ्जबाट, बुद्ध एअरको उडानमा बेलुकी ५ बजेको समयमा बुद्ध एअरको उडानमा मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव जनकपुर र माओवादी केन्द्रकी नेतृ पम्फा भुसाल बेलुकी पौने ६ बजे बुद्ध एअरको उडानमा काठमाडौंबाट भैरहवा गएका थिए ।

एमाले सचिव तथा पूर्वमन्त्री छबिलाल विश्वकर्मा साँझ साढे ६ बजे बुद्ध एअरको उडानमा भैरहवाबाट काठमाडौं आएको बताइन्छ ।

टिप्पणीहरू