भीम रावलको सम्बोधनमा ‘कमरेड’ र ‘लाल सलाम’ को अभाव

भीम रावलको सम्बोधनमा ‘कमरेड’ र ‘लाल सलाम’ को अभाव
सुन्नुहोस्

रमेश रावत

कैलालीको धनगढी विमानस्थलमा आज बिहान एकाएक हलचल उत्पन्न भयो । लामो समयसम्म मौन रहेका एमालेबाट हालै निष्कासित पूर्व उपप्रधानमन्त्री भीम रावलको आगमनले विमानस्थल बाहिरको वातावरणमा नयाँ तरंग उत्पन्न भएको थियो ।

एमालेको दशौं महाधिवेशनपछि छेउमा पुर्याइएका नेता रावल पार्टीको कारबाहीपछि पहिलो पटक गृहप्रदेश सुदूरपश्चिम टेकेका हुन् । काठमाडौंबाट गएका उनले विमानस्थलमा उपस्थित समर्थकहरुलाई गर्दै आफ्नो अभियान थालेको सहजै अनुमान लगाउन सकिन्छ ।

मातृभूमि जागरण अभियान लिएर जन्मस्थान अछाम हिँडेका रावलले सम्बोधनका क्रममा राष्ट्रलाई माया गर्नेहरूलाई आफ्नो अभियानमा जोडिन आग्रह गरे । अभियानको घोषणासहित धनगढीमा ओर्लिएका रावललाई उनका समर्थकहरुले भव्य स्वागत गरेका छन् । राष्ट्रिय झण्डा बोकेका समर्थक र शुभचिन्तकहरुले उनको पक्षमा धेरैबेर नारा लगाएका थिए । 

खादा बोकेका समर्थकहरूको अनुहारमा उत्साह झल्किरहेको देखिन्थ्यो । विमानस्थलको उक्त दृश्यले कुनै नेताको केवल स्वागत मात्र देखाइरहेको थिएन, उनको नयाँ यात्रा र विचारप्रति समर्थनको अभिव्यक्ति भएको रावल निकटस्थहरुको भनाई छ । समर्थकहरुले मातृभूमि अभियान नेपाल जिन्दाबाद, डा. भीम रावल जिन्दाबाद नारा लगाएका थिए ।

उनको स्वागतमा कुनै कम्युनिष्ट शैली र शब्दको नाराबाजी थिएन । समर्थकहरुलाई छोटो सम्बोधन गरेका रावलले कतै पनि ‘कमरेड’ शब्द प्रयोग गरेनन् । उनले दाजुभाइ दिदीबहिनी शब्द दोहोर्याएका थिए । कसिलो मुट्ठीले सलाम भन्ने गरेका उनले यस पटक दुवै हात उठाएर नमस्कार गरे । मन्तव्यको अन्तमा रावलले मातृभूमि जागरण अभियान जिन्दावाद भन्दै अभिव्यक्ति टुंग्याए।

रावलले आफ्नो अभियान व्यक्तिगतभन्दा पनि सामाजिक रूपान्तरणको प्रयास भएको देखाउन खोजेको अनुमान गर्न सकिन्थ्यो । सुदूरपश्चिमको माटोमा उनी पहिलो पटक विगतका राजनीतिक चिन्ह र विचारबाट अलग्गिएको नयाँ नेता झैँ प्रस्तुत भएका हुन् । आधा शताब्दीसम्म वामपन्थी आन्दोलनमा सक्रिय रहँदा उनले अपनाएको शैली र विचारबाट यस पटक उनी टाढा देखिए । अभिव्यक्तिमा सुदूरपश्चिमको हित र परिवर्तनको आकांक्षाबारे बताएका थिए ।

रावलको आगमनले सुदूरपश्चिममा एउटा नयाँ चर्चा चलेको छ । सर्वसाधारण जनताले जान्न चाहेको उनले के देखाउन खोजिरहेका छन् ? उनी अब कहाँ जानेछन् ? लगायत प्रश्नहरूको उत्तर समयले दिने छ । तर, रावलको नयाँ अध्यायले मुलुकको राजनीतिक धरातलमा केही फरक रंग थप्ने उनका समर्थकहरुको निचोड छ ।

हुनतः रावल नेपाली राजनीतिका पूराना खेलाडी हुन् । उनमा आत्मविश्वासको कुनै कमी नभएको धनगढी विमानस्थलमा देखिएको उनको प्रस्तुतीले पनि पुष्टि गरेको छ । कोट र ढाका टोपीमा सजिएका रावलको ‘बडी ल्याङ्वेज’ ले पनि त्यसको संकेत गरेको बताइन्छ ।

धनगढी विमानस्थलमा छोटो सम्बोधन गरेपछि रावल गृहजिल्ला अछाम प्रस्थान गरेका छन् । भोलि रामारोशन गाउँपालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ ।

टिप्पणीहरू