ट्रम्पको चिनियाँ राष्ट्रपतिसँग फोनवार्ता, ताइवान मामिलामा विवेक प्रयोग गर्न चीनको आग्रह

ट्रम्पको चिनियाँ राष्ट्रपतिसँग फोनवार्ता, ताइवान मामिलामा विवेक प्रयोग गर्न चीनको आग्रह
सुन्नुहोस्

पर्सि राष्ट्रपति पदको शपथ लिनुअघि अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच फोनवार्ता भएको छ । अमेरिकी भावी राष्ट्रपतिले शपथअघि चिनियाँ राष्ट्रपतिसँग गरेको कुराकानीलाई अन्तर्राष्ट्रिय राजनीतिक वृत्तमा अर्थपूर्ण ठानिएको छ ।

यता चिनियाँ विदेश मन्त्रालय र उता ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा चिनियाँ राष्ट्रपतिसँग फोन वार्ता भएको बताएका छन् । दुई नेताबीच दुई मुलुकबीचको व्यापार, सामाजिक सञ्जाल टिकटकलगायत विषयमा कुराकानी भएको हो । 

राष्ट्रपति सीले ताइवान मामिला चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतासँग जोडिएको स्पष्ट पार्दै अमेरिकी पक्षले यसमा विवेक लगाउनुपर्ने धारणा राख्नुभएको बताइएको छ । उता, ट्रम्पले टेलिफोन वार्तामा ताइवानबारे कुनै कुरा नभएको दाबी गरेका छन् ।

पर्सि हुने ट्रम्पको शपथ ग्रहण समारोहमा चीनले उपराष्ट्रपति हान झोङलाई पठाउने निर्णय गरेको छ ।
 

टिप्पणीहरू