ओलीविरुद्ध नारा लगाएको आरोपमा एमालेका दुई नेता निलम्बित

ओलीविरुद्ध नारा लगाएको आरोपमा एमालेका दुई नेता निलम्बित
सुन्नुहोस्

सत्तारुढ नेकपा एमालेका अर्का दुइजना नेता कारवाहीमा परेका छन् । पार्टीबाट निकालिएका पूर्वउपाध्यक्ष डाक्टर भीमबहादुर रावलको पक्षमा नारा लगाएको आरोपमा कैलालीका दुई नेतामाथि एमालेले कारवाहीको डण्डा बर्साएको हो । 

हिजो बसेको जिल्ला सचिवालय बैठकले सूदूरपश्चिम प्रदेशका पूर्वमन्त्रीसमेत रहेका कृष्णराज सुवेदी र जिल्ला सदस्य भीष्मराज सुवेदीको सदस्यता खोसेको बताइएको छ । कारबाहीमा परेका दुबैजना रावल निकट नेता मानिन्छन् । 

उनीहरुलाई रावलको मातृभूमि जागरण अभियानको गतिविधिमा संलग्न रहेको आरोप लगाइएको छ । अस्ति शुक्रबार रावल धनगढी विमानस्थलमा आवरणरत गर्दा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएको र त्यसमा यी दुइको संलग्नता रहेको एमालेको दावी छ । 

पछिल्लो समय एमालेले एकपछि अर्को नेतामाथि कारवाहीको हतियार उज्याईरहेको छ । रावललाई निष्कासन गरेकै दिन सचिवालय बैठकले स्थायी समिति सदस्य डाक्टर विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई निलम्बन गरेको थियो । मीनबहादुर जग्गा-दान प्रकरणमा पार्टीको निर्णयविरुद्ध सार्वजनिक टिप्पणी गरेको आरोपमा निलम्बित उनीहरुलाई ओलीले थप कारवाहीको चेतावनीसमेत दिएका छन् । 

त्यस्तै, पार्टीका प्रदेशस्तरीय नेता तथा कोशी प्रदेशका पूर्वसांसद तथा विमल कार्की पनि कारवाहीमा परेका छन् । अध्यक्ष ओलीको मानहानी हुनेगरी स्ट्याटस लेखेको आरोप थोपरेर दुई दिनअघि मात्र उनलाई पार्टीबाट निलम्बन गरिएको हो । 

एमालेले गत मंसिरमा अर्का एक माननीयमाथि पनि जथाभावी बोलेको आरोपमा अनुशासनको कारबाही गरेको थियो । बाँके १(ख) बाट निर्वाचित लुम्बिनी प्रदेशका सांसद दुर्गाप्रसाद चौधरीलाई एमालेले सदस्यताबाट निलम्बन गरेको हो । उनीमाथि पार्टीको मूल्य,मान्यताविपरीत अध्यक्ष ओली र महासचिव शंकर पोखरेललाई गालीगलौज गरेको, सामाजिक सञ्जालमा नेतृत्वको चरित्रहत्या हुनेगरी सामग्री पोष्ट गरेको आरोप लगाइएको छ । 

यता, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन खोजेको आरोप लागेका काठमाडौँ जिल्ला कमिटीका पूर्व इन्चार्ज तथा सांसद कृष्ण राईमाथि पनि कारवाहीको चेतावनी दिइएको छ । मिडियामा गएर जथाभावी बोलेको भन्दै पछिल्लो सचिवालय बैठकमा अध्यक्ष ओलीले उनीमाथि कारवाही हुनसक्ने बताएका थिए ।
 

टिप्पणीहरू