समानुपातिक प्रणाली दुरुपयोग भएकोमा वर्षमानको चिन्ता
प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले समावेशिता र समानुपातिक प्रणालीका त्रूटी सच्याउनुपर्नेमा जोड दिएका छन् ।
पार्टी सम्वद्ध अखिल (क्रान्तिकारी)को महाराजगञ्ज चिकित्सा क्याम्पस इकाई सम्मेलनलाई आज सम्बोधन गर्दै उनले निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्नेहरू समानुपातिक प्रणालीबाट सांसद भएकाले सुधार गर्नुपर्ने बताएका हुन् ।
‘समावेशिता चुनाव लड्न नसक्नेहरुको लागि हो, प्रतिस्पर्धाको लागि योग्य बनाउने त्यसको उद्धेश्य हो’, पूर्वमन्त्री पुनले भने, ‘लुप होलबाट प्रतिस्पर्धा गर्न नसक्नेहरुको लागि छुट्याइएको कोटाको फाइदा लिएर सक्षम व्यक्तिहरु तीन पटकसम्म सांसद र मन्त्री भइरहेका छन्, अब यसलाई रोक्नुपर्छ ।’
प्रतिश्पर्धाबाट मूलधारको राजनीतिमा आउँन नसक्ने सिमान्तकृत वर्गलाई लक्षित गरेर समानुपातिक प्रणालीको अवधारणा अघि सारिए पनि पछिल्लो समय असम्बन्धित वर्गले फाइदा लिइरहेको उनको भनाई छ । आफ्नै उदाहरण दिँदै पुनले भने, ‘म मन्त्री भएको छु, मेरो छोराछोरीले काठमाडौैँमा पढेका हुन् । अब उनीहरुले सरकारी सेवामा जाँदा जनजाति कोटाबाट हैन खुल्ला प्रतिस्पर्धा गर्नुपर्छ ।’
पूर्व अर्थमन्त्रीसमेत रहेका पुनले सक्षम वर्गले नै समावेशिता र समानुपातिक प्रणालीका त्रूटीहरु सच्याउनुपर्ने पनि दोहोर्याए । ‘गाउँका गरिब बाहुन तथा क्षेत्रीको छोराछोरी, पछि परेका मधेसी र जनजातिका छोराछोरी, आर्थिक र राजनीतिक पहुँच नभएकाहरूका छोराछोरीका लागि छुट्ट्याइएको कोटाबाट सक्षमले अवसर लिन मिल्दैन’, उनले भने ।
टिप्पणीहरू