डेढ दशकअघि भ्रष्टाचार, अहिले मुद्दा
बाराको साविक आदर्श गाविस जीतपुरका तत्कालीन सचिव आस महमद अन्सारीउपर भ्रष्टाचार मुद्दा दायर भएको छ । गाविस सचिव हुँदा आर्थिक अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीविरद्ध मुद्दा दर्ता गरेको हो ।
अन्सारीले आर्थिक वर्ष २०६४–६५ मा गाविसको स्वामित्वमा रहेको गुदरी र मिना बजारमा सटरहरु भाडामा लगाउँदा एक सय २१ जना उपभोक्ताबाट लिएको धरौटीबापतको झण्डै साढे ३८ लाख रुपैयाँ दुरुपयोग गरेको अख्तियारको आरोप छ । अख्तियारका अनुसार उनले सटर भाडामा लगाउँदा अपनाइएको विधि पारदशी भएको भनी यकिन गर्न सकिने अवस्था समेत छैन ।
‘साविक आदर्श गाविस (हाल जीतपुरसिमरा उपमहानगरपालिका) को स्वामित्वमा रहेको गुदरी र मिना बजारका सटरहरु उपभोक्तालाई भाडामा लगाउँदा अपनाइएको विधि पारदर्शी भएको भनी एकिन गर्न सकिने अवस्था नरहेको, निजले सटरहरु उपलव्ध गराउँदा लिएको धरौटीबापतको रकमसँग सम्बन्धित कागजातहरु लुकाई बरबुझारथ समेत नगरेको र १२१ जना उपभोक्ताहरुबाट लिएको आव २०६४/६५ को लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भएबमोजिम धरौटीबापतको ३८,३०,५०० रुपैयाँ साविक गाविसको धरौटी खातामा जम्मा गर्नुपर्नेमा सो नगरी बदनियत राखी निज आस महमद अन्सारीले हिनामिना, दुरुपयोग गरेको,’ अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उनले उपभोक्ताबाट लिएको रकमको विवरणसहितका कागजात तथा अन्य सरकारी कागजपत्र समेत लुकाएको दाबी गर्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम ३८ लाख ३० हजार पाँच सय रुपैयाँ बिगो कायम गर्दै कैद र जरिवाना हुन मागदाबीसहित विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।
टिप्पणीहरू