एमाले छाड्ने, भीम रावल रोज्नेको संख्या थपिँदै
नेकपा एमालेबाट निकालिएपछि आफ्नै नेतृत्वमा ‘मातृभूमि जागरण अभियान’ शुरु गरेका डा.भीम रावलका कार्यकर्ताहरुले एमाले परित्याग गर्न थालेका छन् । उनको अभियानलाई समर्थन गर्दै सुदूर पश्चिमका एक हजार बढी कार्यकर्ताले एमाले छाडेको दाबी छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको ठाडो निर्देशनमा रावललाई सदस्य समेत नरहने गरी निष्काशन गरिएकोमा भत्र्सना गर्दै एमालेका केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला समिति, नगर कमिटी, वडा कमिटीलगायत विभिन्न विभाग वा संगठनमा सदस्य रहेका एक हजार ८१ जनाले पार्टी परित्याग गरेको बताइन्छ ।
‘आफ्नो जीवनको उर्जावान् समय देश, जनता र पार्टीको हितमा समर्पण गर्नुभएका डा.भीम रावलको सदस्यता अपहरण गर्ने केपी ओलीको सत्ता उन्मादी र अत्याचारपूर्ण निर्णयको देशव्यापाी रुपमा निन्दा गर्नुपर्छ,’ उनीहरुले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘देश, राष्ट्रिय, स्वाधीनता, स्वाभिमान र समृद्धिको पक्षमा तथा भ्रष्टाचार, अत्याचार एवं राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरणविरुद्ध सशक्त आवाज उठाएकै कारण उहाँको पार्टी सदस्यता केपी ओली गुटले खाएको छ ।’
कम्प्युनिष्ट र समाजवादका विरोधीहरुसँग घाँटी जोड्दै पार्टीलाई सिद्धान्तहीन, आर्दशहीन र गन्तव्यहीन यात्रामा धकेल्ने ओली गुटको नेतृत्वमा बसिरहनुको कुनै औचित्य नभएकोले मातृभूमि जागरण अभियानलाई पूर्ण रुपमा समर्थन गर्दै एमाले छाडेको उनीहरुले बताएका छन् ।
पार्टी परित्याग गरेकामा एमाले केन्द्रीय विभागका दुई जना, सुदूरपश्चिम प्रदेश कमिटी तथा विभागीय सदस्य सात जना, जिल्ला कमिटी सचिवालय सदस्य पाँच जना, प्रवास केन्द्रीय प्रतिनिधि परिषद्का एक जना, जिल्ला कमिटी सदस्य १७ जना, पूर्व जिल्ला कमिटी सदस्य तीन जना छन् ।
त्यस्तै, जिल्ला सल्लाहकार सदस्य १३ जना, नगर कमिटी पदाधिकारी तथा सचिवालय सदस्य १२, अनेम संघका कार्यवाहक अध्यक्ष एक, जनवर्गीय संगठनका प्रमुखसहित पदाधिकारी आठ, वडा कमिटीका अध्यक्ष र पदाधिकारी २२ जना, संगठित सदस्यहरु ६३७ जना, नेकपा एमालेका ३५३ जनासहित अन्य पार्टीबाट पाँच जना अभियानमा प्रवेश गरेको बताइन्छ ।
टिप्पणीहरू