राष्ट्रपतिका हरेक निर्णयमा पैसाको गन्ध

राष्ट्रपतिका हरेक निर्णयमा पैसाको गन्ध

निवर्तमान अमेरिकी राष्ट्रपतिले कार्यकालको अन्तिम दिन चिनियाँ सामाजिक सञ्जाल टिकटकमाथि रोक लगाएको भोलिपल्ट नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले ७५ दिनका लागि अस्थायी फुकुवा गरिदिए । सोमबार चार वर्षे कार्यकालका लागि शपथ खाएलगत्तै उनले उक्त निर्णय गरेका हुन् । 

व्यापारिक पृष्ठभूमिका ट्रम्पका पछिल्ला निर्णय र धारणाहरुको पछिल्तिर उनी र उनको समूहको आर्थिक स्वार्थ जोडिएको पाइएको छ । त्यसको गतिलो उदाहरण अहिले टिकटकमाथिको प्रतिबन्ध फुकुवासम्बन्धी निर्णय हो । जबकि अघिल्लो कार्यकालमा उनी टिकटकलगायत चिनियाँ सामाजिक सञ्जालमाथि प्रतिवन्ध लगाउनुपर्ने धारणामा अडिग थिए । 

राष्ट्रपति ट्रम्पले हिजो बोल्दै विश्वकै धनी टेस्ला कम्पनीका सिइओ एलन मस्कलाई टिकटक अक्वाएर (प्राप्ती) को आग्रह गरेका छन् । उनले टिकटकलाई अमेरिकी कम्पनीले खरिद गरेपछि सञ्चालन अनुमतिसँगै त्यसमा अमेरिकी सरकारको ५० प्रतिशत सेयर हुनसक्ने संकेतसमेत गरेका छन् । यसबाट विदेशी व्यापारिक कम्पनीलाई सञ्चालनमा रोक लगाउने र बाध्यकारी तवरले आफू वा आफूले भनेको अर्को अमेरिकी कम्पनीलाई बिक्री गराउने रणनीति देखिन्छ ।

ट्रम्पले अमेरिकी कम्पनी ओराकलका अध्यक्ष ल्यारी एलिसनलाई पनि मस्कको विकल्पका रुपमा टिकटक खरिदका लागि अघि सारेका छन् । अमेरिकामा हाल टिकटकको आम्दानी ५ अर्ब डलर रहेकोमा अमेरिकी कम्पनीलाई बिक्रीपछि यसको आम्दानी बढेर एक खर्ब डलर पुग्ने आकलन गरिएको छ । राष्ट्रपतिले हिजो गरेको आग्रहको सार संक्षेप यस्तो छ, ‘अमेरिकी कम्पनीले टिकटक खरिद गरेपछि त्यसको आधा अंशियार अमेरिकी सरकार हुनेछ । त्यसपछि सँधै निर्वाध सञ्चालनको बाटो खुल्ने छ ।’

ट्रम्पले हिजो बोल्दै विश्वकै धनी टेस्ला कम्पनीका सिइओ एलन मस्कलाई टिकटक अक्वाएर (प्राप्ती) को आग्रह गरेका छन् ।

आजभन्दा चार वर्षअगाडि उनले अघिल्लो कार्यकालमा प्रतिबन्ध लगाएको एपलाई अहिले विश्वका धनाढ्यहरुलाई खरिदको निम्ति मार्ग प्रशस्त गराउँदै त्यसमा राज्यको समेत स्वामित्व रहने बताउनुले उनको उद्देश्य आफूूजस्तै धनीलाई पोस्ने रहेको अनुमान गर्न सकिन्छ । 

यता चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले टिकटकलाई अमेरिकी कम्पनीले अक्वाएर गर्ने भन्ने राष्ट्रपति ट्रम्पको धारणालाई विश्व बजारमा उपस्थित कम्पनीको आन्तरिक मामिला भएको बताएकी छन् । ‘व्यवसाय सञ्चालन,एक्विजिसन वा अन्य निर्णय बजार सिद्धान्तका कुरा हुन्,’ उनको भनाई छ ।

यसअघि सोमबार राजधानी वासिङ्ग्टनस्थित क्यापिटल हिलमा आयोजित राष्ट्रपतिको शपथ ग्रहण समारोहमा विश्वको प्रख्यात कम्पनीका सिईओ तथा अध्यक्षझैँ टिकटकका सिईओ सौ चि पनि उपस्थित थिए । उपस्थित अन्य व्यवसायी तथा कम्पनीका मालिकहरुमा मेटाका सिईओ मार्क जुकरबर्ग,एलन मस्क,अमेजनका संस्थापक जेफ बेजोस,गुगलका कार्यकारी सुन्दर पिचाईलगायत छन्  ।

टिप्पणीहरू