पार्टी र चिप्लेकिराको गति उस्तै : झलनाथ खनाल
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफ्नो दल चिप्लेकिराको गतिमा हिँडिरहेको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा हिजो आयोजित पार्टी विदेश र स्कुल विभागबीच निर्णय पुस्तिका आदानप्रदानसम्बन्धी कार्यक्रममा उहाँले पार्टी अधिवेशन भएको सात महिनापछि बल्ल माइन्युट हस्तान्तरण भएकामा असन्तुष्टि पोख्दै पार्टीलाई वैचारिक–सैद्धान्तिक रूपमा बलियो बनाउने र मर्मतसम्भार गर्ने कुरा अन्योलमा नै रहेको उल्लेख गर्नुभयो ।
यसबीचमा आफू बिरामी भएको र विदेश गएको बेलामा भएका गतिविधिबारे अनभिज्ञ रहेको जनाउँदै आफ्नो जिम्मेवारीलाई विदेशबाट स्कुल विभागमा सट्टापटट्टा गरिएकोमा असन्तुष्टि पोख्नुभयो । एक प्रसङ्गमा भन्नुभयो, ‘माक्र्सवादका सिद्धान्त पढेर र पार्टीमा दस्तावेज पारित गरेर मात्र केही काम छैन । त्यसलाई अध्ययन गरिनुपर्छ र नेपाली माक्र्सवादको परिप्रेक्ष्यमा लागु गराउनुपर्छ ।’
आगामी कार्यदिशा समाजवादी क्रान्ति नै भएकामा जोड दिँदै नेता खनालले माक्र्सवादका ठेली मात्र नपढी व्यवहारमा नेपालको माक्र्सवाद विकसित गरिनुपर्नेमा जोड दिए । पार्टीको पछिल्लो अन्तरपार्टी निर्देशनानुसार खनालको विदेशबाट स्कुल र प्रमेश हमालको स्कुलबाट अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा जिम्मेवारी हेरफेर गरिएको छ ।
‘समाजवादी कार्यक्रमको नीति छैन, पार्टी चलते चलाते ढङ्गले चलेको छ, हिँड्दै छ, पाइला मेट्दै छ जस्तो भइरहेको छ’, पूर्वप्रधानमन्त्रीले भन्नुभयो । चीनले कम्युनिस्ट पार्टी स्थापनादेखिका अनुभव सँगालेर सन् १९४५ मा दस्तावेज पारित गरेको र त्यसलाई माओ विचारधारा भनिएको, तङ सियाओफिङका पालामा चिनियाँ कम्युनिस्ट पार्टीको अनुभवसमेत समेटेर सन् १९८५ मा दोस्रो र चीनलाई नयाँ शक्तिका रूपमा विकसित गरी साम्राज्यविरुद्ध लड्नसक्ने बनाउन सन् २०२१ मा सि चिनफिङले तेस्रो दस्तावेज ल्याएपछि विरोधीको हाड चूर्ण पार्न सक्ने शक्ति बनेको उल्लेख गर्नुभयो । साम्यवादी चीन निर्माण भएको एक सय वर्ष सन् २०४५ मा संसारको आधुनिक र शक्तिशाली चीन बनाइने नीति अघि सारिएको जनाउँदै नेपालले पनि आफ्नै वास्तविकतामा आधारित हुन सिक्नुपर्ने उदाहरण प्रस्तुत गर्नुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एकपल्ट आफूकहाँ आएर कम्बोडियामा कम्युनिस्टहरूको पिपल्स पार्टी चलिरहेकाले नेपालमा पनि चलाउन आग्रह गरेको प्रसङ्ग पनि खनालले सुनाउनुभयो । पार्टी स्कुल विभागका निवर्तमान सचिव अशेष घिमिरेले खनालले संज्ञा दिएको चिप्लेकिरा विषयको समर्थन गर्दै विभागहरूको पूर्ति चाँडो गर्नुपर्नेमा जोड दिनुभयो । वर्तमान अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख हमालले आफ्नो दलले दक्षिणपन्थी अवसरवादविरुद्ध लड्दै वैचारिक पुनर्एकीरणका साथ अन्य वामपन्थी दललाई गोलबन्द गर्नुपर्नेमा जोड दिनुभएको छ ।
पार्टी नेता हमालले यही माघ १५ गते नेपाल प्रज्ञा–प्रतिष्ठानमा अपरान्ह १ बजे ‘समसामयिक परिस्थिति र समाजवादी मोर्चाको कार्यभार’ विषयमा विचारगोष्ठी हुने सूचना सुनाउँदा खनालले व्यङ्ग्य गर्नुभएको थियो । ‘एकेडेमीमा हैन, जनतामा पो जानुपर्छ’, उहाँको भनाई छ ।
मोर्चा पुष्पकमल दाहाल प्रचण्डलाई मात्र चाहिने जनाउँदै स्कुल विभागका निवर्तमान सदस्यले शङ्कर पोखरेलले दाहाल सरकारमा जान जान लागेकोसमेत बैठकमा सुनाउनुभयो ।
पशुपतिका श्रमिकलाई समाजवादीले खै हेरेको ?
सोही अवसरमा पशुपति क्षेत्र विकास कोषका सफाइ कर्मचारी निकालिएकामा श्रम अदालतले पुनः हाजिर गर्न अन्तरिम आदेश दिए पनि कोषले ४० कर्मचारीमध्ये आफ्ना नाता पर्ने तीन जनालाई मात्र पुनः नियुक्ति दिएको तर समाजवादी, कम्युनिस्ट पार्टीले निकालिकाहरूका पक्षमा नबोलेकामा एकीकृत ट्रेड युनियन महासङ्घका रवि केसीले बेदुराम भुसाल, डा विजय पौडेलसमेत सहभागी बैठकमा आपत्ति जनाएको बताइन्छ ।
सामाजिक अभियानकर्मी आशिका तामाङ ती मजदुरका पक्षमा बोल्दा प्रहरीलाई दुर्व्यवहार गरेकाे आरोपमा थुनामा छिन् ।
टिप्पणीहरू