‘यूनिफिकेशन चर्च’ को झण्डा बोक्ने व्यक्तिलाई केपी ओलीले सांसद बनाए - भीम रावल
‘मातृभूमि जागरण अभियान’ नेपालका प्रस्तावक डाक्टर भीमबहादुर रावलले ‘होली वाइन’का सूत्रधार तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई एमालेबाट सांसद् बनाएको भन्दै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको नैतिकतामाथि फेरि प्रश्न उठाएका छन् ।
एमालेबाट निकालिएपछि नयाँ अभियान थालेका उनले नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त प्रसंग कोट्याएका हुन् । रावलले नेपालको संस्कृतिलाई ध्वस्त गरेर ‘यूनिफिकेशन चर्च’को झण्डा बोक्ने अर्को पार्टीका व्यक्तिलाई एमालेबाट सांसद् बनाएको भन्दै ओलीको चर्को आलोचना गरे ।
‘हामी दशैँ–तिहार मनाउँछौँ । टीका–भाइटीका लगाउँछौँ । तर, नेपालको संस्कृतिलाई ध्वस्त बनाउन, सबै सिध्याउन लाग्नेको एकनाथ ढकालजस्तो व्यक्तिलाई ल्याएर केपी ओलीले सांसद् बनाए,’ उनले आक्रोशित हुँदै भने ।
त्यसो त, रावलले ‘केपी ओली, एकनाथ वा होली वाइन’को प्रसंग पहिलोपटक उप्काएका भने होइनन् । सुरूदेखि नै एउटा पार्टीको अध्यक्षलाई अर्को पार्टीबाट सांसद् बनाउने ‘अनैतिक रबैया’ को उनले निन्दा गर्दै आएका छन् ।
‘क्रिश्चियन धर्म प्रचारक’ ढकाललाई नेपालमा कतिपयले ‘होली वाइन’ भनेर पनि चिन्छन् । उनै विवादीत पात्रलाई अध्यक्ष ओलीले समानुपातिक निर्वाचनको बन्दसूचीमा खस–आर्य पुरुषतर्फ दोस्रो नम्बरमै राखी एमालेबाट सांसद् बनाएपछि धेरैले आश्चर्य मानेका थिए ।
टिप्पणीहरू