सात जना वकिलको एउटै स्वर : सहकारीको ऋण चलाउने रवि उनै हुन्
रुपन्देही जिल्ला अदालतमा जारी रवि लामिछाने विरुद्धको थुनछेक बहसमा सरकारी वकिलहरूले गोर्खा मिडियामा गएको ऋण उक्त कम्पनीका प्रबन्ध निर्देशक रवि लामिछानेले नै चलाएको दाबी गरेका छन् । उनीहरुले प्राप्त कागजातका आधारमा सुप्रिम सहकारीबाट लगिएको ऋण गोर्खा मिडिया नेटवर्कमै प्रयोग भएको र रवि मार्फत् खर्च गरिएको बताएका हुन् ।
आज अदालतमा बहस गर्न पुगेका सात जना सरकारी वकिलहरूमध्ये चार जनाले खाजाको समयअघि र बाँकी तीन जनाले त्यसपछि बहस गर्दैछन् । उनीहरुले सहकारीको रकम अपचलनमा रविको मिलेमतो र संगठित संलग्नता रहेको जिकीर गर्दै लामिछानेलाई थुनामा राखेर कानुनी प्रक्रिया अघि बढाउनुपर्ने माग गरेका छन् ।
रास्वपा सभापति तथा पूर्व गृहमन्त्री लामिछाने गोर्खा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशक हुँदा यी सबै बदमासी भएको उनीहरुको जिकिर छ । वकिलहरुको दाबी छ, ‘बुटवल वडा नम्बर ११ मा रहेको उक्त सहकारीको ऋण लिन निवेदन दिने आफू नभएको रवि लामिछानेको इन्कारी बयान छ । तर कागजपत्रले ऋण उहाँकोमा नै गएको र त्यो रकम चलाउने पनि उहाँ नै हो ।’
टिप्पणीहरू