कुन कुन क्रान्तिकारीको निवेदन खारेज ?
नेकपा माओवादी केन्द्र सम्वद्ध अखिल (क्रान्तिकारी) को नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा मनोनयन दर्ता गराएका २० जनाको उम्मेदवारी खारेज भएको छ ।
केन्द्रीय निर्वाचन समितिले सूचना जारी गर्दै रीतपूर्वक र विधिसम्मत नभएका २० उम्मेदवारको उम्मेदवारी रद्द भएको जानकारी दिएको हो । उम्मेदवारी कायम नरहनेमा सबैभन्दा बढी १७ जना केन्द्रीय सदस्यका उम्मेदवार छन् । त्यस्तै,केन्द्रीय सचिव, सचिवालय सदस्य, निर्वाचन आयोग सदस्य र अनुशासन आयोगका सदस्यमा मनोनयन दर्ता गराएका एक-एक जनाको पनि उम्मेदवारी रद्द भएको छ ।
निर्वाचन समितिले मनोनयन दर्ता भएका उम्मेदवारमाथि दाबी विरोधको सूचना जारी गरेकोमा २९७ वटा दावी विरोधको उजुरी परेको र त्यसमाथि जाँचबुझ तथा छानबिन गर्दा उनीहरुको उम्मेदवारी रद्द भएको जनाएको छ । जसअनुसार केन्द्रीय सचिव (मुस्लिम) मा उम्मेदवारी दिएका महमद जमसेत आलम र सचिवालय सदस्य पदमा मनोनयन दर्ता गराएका विकुलबहादुर जेठाराको उम्मेदवारी खारेज भएको छ ।
त्यस्तै, उम्मेदवारी रद्द हुने केन्द्रीय सदस्यका उम्मेदवारहरु उपेन्द्र थापा, उमा राई, एक राज वली, कन्चन लुवागुन, कल्पना कुमारी यादव, कुलराज बन्जाडे, दिपक तामाङ थिङ्ग, विष्णु नकोजिया, मंजु नेपाल, मन्दिरा न्यौपाने, रविन्द्र खड्का, विपिसा भट्टराई, शशि यादव, सुजन चौलागाई सुसन पौडेल र रत्न राजवंशी छन् । निर्वाचन आयोग सदस्य दर्शन शाह र तथा अनुशासन आयोग सदस्य विक्रम परियारको पनि मनोनय कायम नरहेको बताइएको छ।
यता, एउटा पदमा उम्मेदवारी दिएका व्यक्तिको अर्कै पदमा राखेर नामावली सार्वजनिक भएको भन्दै विवाद चर्किएको छ । महासचिवमा उम्मेदवारी दिएका रोशन खड्काको नाम निर्वाचन समितिले खुला उपाध्यक्षमा प्रकाशित गरेको आरोप छ । निर्वाचन समितिले गम्भीर त्रुटी गरेको भन्दै विद्यार्थीहरुले निष्पक्ष निर्वाचन हुनेमा आशंका गरेका छन् ।
अखिल (क्रान्तिकारी)को नयाँ नेतृत्व चयन गर्नका लागि भोलि मतदान गर्ने तालिका छ ।
टिप्पणीहरू