सामुदायिक कुकुरकी आमा संगीता
संगीता बुढाथोकी कुनै बेलाकी चर्चित नृत्यांगना हुन् । नेपालगञ्जका धेरै सांगीतिक मञ्चहरू त्यो बेला संगीताको नृत्यबिना खल्लो लाग्थे । जब संगीता नेपाली र हिन्दीमा नृत्यका लागि मञ्चमा उपस्थित हुन्थिन् दर्शकहरू हुटिङ गर्थे ।
६० को दशकमा उनले नेपालगञ्ज र आसपासका सांगीतिक मञ्च तताइन् । अहिलेको जस्तो सामाजिक सञ्जालको समय भएको भए भाइरल हुन्थिन् होला तर जमाना फरक थियो ।
दिन बदलिए, समय बदलियो, समयसँगै उनी पनि बदलिइन् । नृत्यमा विशेष दख्खल भएकी उनको रुचि पनि बदलियो । अहिले पशु सेवामा आफूलाई समर्पित गरेर लागेकी छन् । बौलाहा, भुस्याहाको उपमा पाएर मानिसबाट अपहेलित र यातना भोगिरहेका कुकुरलाई अधिकारकर्मीले सामुदायिक कुकुर भन्नुपर्ने आवाज उठाइरहेका बेला संगीता तिनैको सहारा बनेकी छन् । सडकमा दुर्घटनाबाट घाइते भएका, कुटिएका, फ्याँकिएका, बेवारिसे कुकुरहरूलाई ६ वर्षयता उद्धार, उपचारका साथै खानपिनको व्यवस्था मिलाउँदै आएकी छन् ।
सबैभन्दा बढी माया गर्ने खैरु नामक कुकुर बिरामी हुँदा भारतको लखनउसम्म लगेर उपचार गरिन् । पाठकहरूलाई पत्यार नलाग्न सक्छ तर सत्य उनले खैरुको उपचारका लागि ऋण सापटी गरेर तीन लाख रकम खर्च गरिन् तर त्यसलाई बचाउन सकिनन्, उनकै काखमा खैरुले प्राण त्याग्यो । यसै क्रममा एक दिन खैरुजस्तै कुकुर देखिन् । जसको शरीरमा कसैले तातोपानी हाल्दिएका कारण कपाल खुइलिएर पूरै छाला देखिएको थियो भने शरीरमा चक्कुले हानेजस्तो थियो ।
उनले तत्काल पुरानो पीडा कम हुने आशामा उद्धार गरेर पालिन् । जुन कुकुर अहिले पनि उनैसँग छ । जसको नाम सेती राखेकी छन् । पालिएको कुुुकुरको निधनबाट शोकमा डुबेकी संगीताले सो शोकलाई शक्तिमा बदल्दा अहिले सयौं कुकुरले नयाँ जीवन पाएका छन् ।
उनलाई यो कार्यमा भाइ दीपेन्द्र बुढाथोकीले सघाइरहेका छन् भने कहिले कसो साथीभाइले चामललगायत खाद्यान्न र आर्थिक सहयोग पनि दिने गरेका छन् ।
टिप्पणीहरू