बहुमत पाए गरेर देखाउने प्रचण्डको दाबी

बहुमत पाए गरेर देखाउने प्रचण्डको दाबी
सुन्नुहोस्

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत दिन अपिल गर्नुभएको छ । देश दौडाहाअन्तर्गत दाङ पुग्नुभएका उहाँले आज दिउँसो तुलसीपुरमा आयोजित पार्टीको नगर सम्मेलन तथा खबरदारी सभाबाट त्यस्तो आग्रह गर्नुभएको गर्नुभएको हो । 

विगतका आत्मसमीक्षा गरेर गल्ती सच्याउन जनतामा पुगेको उल्लेख गर्दै उहाँले अन्जानमा गल्ती गरेको स्वीकारसमेत गर्नुभयो । सरकारबाट हटेपछि संगठन निर्माणमा केन्द्रित रहेका प्रचण्डले आगामी निर्वाचनमा बहुमत पाए माओवादीले काम गरेर देखाउने प्रतिवद्धतासमेत जनाउनुभएको छ । 

‘हामीलाई ६४ मा मत दिनुभएका जनतालाई मेरो अनुरोध छ, आग्रह छ, हामीले हाम्रो गल्ती कमजोरी सच्याउछौँ’, प्रचण्डले भन्नुभयो, ‘तपाईहरूले पनि आफ्नै छोराछोरी त हुन् नि भनेर एकचोटी ०६४ मा जस्तै माया गरिदिनुभयो भने, बहुमत दिनुभयो भने ०८४ मा भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्नेछ ।’

१० वर्ष लामो जनयुद्धको समयमा जनताले साथ नदिएको भए मुलुकमा आजको परिवर्तन नहुने प्रचण्डको जिकिर छ । ‘तपाईँहरूले जनयुद्धमा साथ दिनुभयो, शान्तिप्रक्रियामा साथ दिनुभयो। अब भ्रष्टाचारविरुद्ध सामाजिक न्याय र आर्थिक समृद्धिको यो अभियानमा अन्तिम पटक साथ दिनुहोस्, हामी सच्चिएर आउँछौँ’, उहाँले थप्नुभयो ।

फरक प्रसंगमा उहाँले आफूमाथि अनुसन्धान र कारवाही गर्न वर्तमान सरकारलाई चुनौती पनि दिनुभयो । शेरा दरबार प्रकरणमा आफ्नो नाम जबर्जस्ति जोडिएको बताउंदै भन्नुभयो, ‘मैले सरकारमा रहँदा आफ्नो र अर्काको नभनी कारबाहीको प्रक्रिया अघि बढाएँ । अनुसन्धान खटिएका अफिसरहरूलाई अनुसन्धान गर्दै जाँदा प्रचण्ड नै देखिए पनि कारबाही अगाडि बढाउनू भनेँ । अहिले पनि म तयार छु। तर म चुनौतीका साथ भन्न चाहन्छु, अहिले सरकारको नेतृत्व गर्नेले मैले झैँ आफैंलाई अनुसन्धान गरेर देखाउनू ।’

आमसभापछि अध्यक्ष प्रचण्डले त्यहाँस्थित शहीद स्मृति आवासीय माविमा अध्ययनरत शहीद-सन्ततिहरुसँग भेटघाट गर्नुभएको छ । यो विद्यालयमा ३८० आवासीयसहित पाँच सय बढी विद्यार्थी अध्ययनरत छन् ।

अध्यक्ष प्रचण्ड आज साँझ तुलसीपुरमै बस्ने कार्यक्रम छ । बिहान शहीद परिवारका सदस्यसँग खाना खानुभएका उहाँले साँझ स्थानीय नेता र जिल्लास्थित उद्योगी-व्यवसायीसँग भेटघाट गर्दै हुनुहुन्छ । 

भोलि घोराही र देउखुरीको कार्यक्रमलाई सम्बोधन गरेर काठमाडौँ फर्किने कार्यतालिका रहेको उहाँको सचिवालयले जनाएको छ ।

टिप्पणीहरू