चार महिनामा ४४ जिल्ला पुगे प्रचण्ड, आजको बास प्रधानमन्त्रीको इलाकामा

चार महिनामा ४४ जिल्ला पुगे प्रचण्ड, आजको बास प्रधानमन्त्रीको इलाकामा
सुन्नुहोस्

नेकपा (एमाले) र नेपाली कांग्रेसबीच असार १७ गते मध्यराति सात बुँदे सहमति भएपछि तत्कालीन प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए, ‘तपाईहरु ०८४ सम्मै मिलेर जानुहोला, झगडा नगर्नुहोला’ । ‘स्वर्ग/नर्क सँगै जाने’ कसम तोडेर केपी ओलीले शेरबहादुर देउवासंग दोस्ती कसेपछि एकाएक प्रतिपक्षी बेञ्चमा पुगेका उनले ‘मुटुमाथि ढुंगा राखेर’ त्यसो भनेको बुझ्न माओवादीपंक्तिका लागि कठिन थिएन ।

प्रतिपक्षमा पुगेको झण्डै दुई महिनासम्म खुमलटारमै बसेर नेता-कार्यकर्तासँग सरकारबाट बाहिरनूको पीडा पोखेका प्रचण्ड पछिल्लो समय देशदौडाहमा व्यस्त छन् । भदौ पहिलो साता गण्डकी प्रदेश परामर्श समितिको बैठकमा सहभागी हुन पोखरा गएका उनी त्यसयता खासै राजधानीमा छैनन् । दशैँ-तिहारको समयमा कहिले काठमाडौँ त कहिले चितवन बसेका उनी त्यसपछि जिल्ला-जिल्ला पुगिरहेको देखिन्छ । 

मंसिर महिनामा मात्रै १७ जिल्ला पुगेका प्रचण्डले पुसमा १९ जिल्लाको यात्रा गरेका छन् । पुष २३ गते केन्द्रीय समितिको छैठौँ पूर्ण बैठक सकाएर चितवन हानिएका उनी त्यसयता विभिन्न जिल्ला पुगेर शहीद परिवारसँग भेटघाट गरिरहेका छन् । माघ ५ मा पूर्वको विराटनगरबाट यात्रा थालेका उनी ७ गते निर्वाचन क्षेत्र गोर्खा पुगे । भोलिपल्ट गृहजिल्ला चितवनका विभिन्न कार्यक्रममा व्यस्त रहेका प्रचण्ड माघ १० मा सुर्खेत पुगे । त्यहाँबाट बाँके, बर्दिया र दाङ हुँदै अस्ति राजधानी फर्किएका उनी आज तेह्रथुम गएका छन् । 

एउटा रोचक के भने, प्रचण्डले प्रतिपक्षमा पुगेर सत्ता गठबन्धन दलका शीर्ष नेताहरुलाई ‘०८४ सम्मै मिलेर जानुस्’ भनी दिएको शुभकामना चार महिनापछि पनि दोहोर्याउन छाडेका छैनन् । आफूहरुलाई सरकारमा जान कुनै हतार नरहेको दावी गर्दै उनले सत्ता गठबन्धन आफैँ भत्किने जिकिर गरिरहेका छन् । चितवनमा कांग्रेस नेताद्वय शशांक कोइराला र चन्द्र भण्डारीलाई दायाँबायाँ राखेका भनेका थिए, ‘म अहिले पनि शुभकामना दिन चाहन्छु कि ०८४ सम्म यहीँ गठबन्धन जाओस् । तर यहाँ त त्यतिन्जेलसम्म नटिक्ने हो कि भन्ने पो शंका छ त । त्यस्तो परिस्थितति आइहाल्यो भने कांग्रेस हाम्रो पार्टनर छदैँछ ।’

प्रचण्डको अभिव्यक्तिमा नेता कोइरालाले पनि ‘राजनीतिमा जे पनि हुन्छ’ भनेर घुमाउरो समर्थन जनाएका थिए । 

आज र भोलि ओलीको इलाकातिर 

यसैबीच पार्टीका उपमहासचिव वर्षमान पुन अनन्तलाई लिएर प्रचण्ड आज बिहान सेनाको हेलिकोप्टरमा तेह्रथुम पुगेका छन् । आज राति उतै बसेर उनी भोलि साँझमात्रै काठमाडौँ फर्किने कार्यक्रम छ । 

प्रचण्डले त्यहाँ चोत्लुङपार्क र शहीद धनरुपा पार्कको उद्घाटन गरिसकेको उनको सचिवालयले जनाएको छ । त्यसपछि खाना खाएर प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मथलो आठराई जाने कार्यक्रम छ । त्यहाँ पनि उनले शहीद स्मृति पार्कको उद्घाटन र जनयुद्ध तथा शान्ति संग्रहालय भवनको शिलान्यास गर्ने बताइएको छ । 

स्मरण रहोस्, १० वर्षे जनयुद्धको बेला उक्त ठाउँमा १८ माओवादी लडाकु र तीन सर्वसाधारणले ज्यान गुमाएका थिए । 

भोलि बिहान आठराईमै पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने, माओवादी नेता स्व. भक्तराज कन्दङवाको परिवारसँग खाना खाने र दिउँसो तेह्रथुम बहुमुखी क्याम्पसमा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गरेर काठमाडौँ फर्किने कार्यतालिका छ ।


 

टिप्पणीहरू