एमाले नेताको प्रश्न -रवि लामिछाने र प्रभु बैंकको कनेक्सन के हो ?

एमाले नेताको प्रश्न -रवि लामिछाने र प्रभु बैंकको कनेक्सन के हो ?
सुन्नुहोस्

नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रभु बैंकबीचको सम्बन्ध शंकास्पद रहेको बताएका छन् । 

आज सामाजिक सञ्जालमार्फत् ‘प्रभु बैंकले किन लामिछानेलाई संरक्षण गर्दैछ ?’ भनेर उनले प्रश्न सोधेका हुन् । सहकारी ठगी प्रकरणमा लामिछानेलाई पोखरा,काठमाडौँ र रुपन्देही जिल्ला अदालतले क्रमश: ६५, ६० लाख र एक करोड धरौटीमा रिहा गर्न आदेश दिँदा प्रभु बैंक ग्यारेन्टी बसेको अवस्था छ । सोही प्रसंगमा बस्नेतले यस्तो प्रश्न उठाएका हुन् ।

‘गरिब युवाले व्यवसाय गर्छु भन्दा पाँच लाख नपत्याउने, सरकारले सर्टिफिकेट र परियोजना धितो राखेर युवाहरूको रोजगारीको लागि नाै वटा सेक्टरमा १५ लाखदेखि २ करोड लोन प्रवाह गर भन्दा टेर्दैनन्’, उनले भनेका छन्, ‘अनि सहकारीबाट पैसा ठगेर ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने लामिछानेलाई संरक्षण गर्न रातारात बिना धितो दुई करोड २५ लाख किन उपलब्ध गराइरहेको छ ?’

लामिछाने र प्रभु बैंकबीचको सम्बन्ध र कारोबारमाथि छानविन गर्नुपर्ने बस्नेतको माग छ । ‘केही न केही गलत र अपराधिक कर्ममा यिनीहरूको साठगाँठ हुनुपर्छ, यसको बारेमा सही छानबिन गरी कारवाही गर्न आवश्यक छ’, उनले थपेका छन् ।
 

टिप्पणीहरू