मधेशीलाई मिल्न नदिन बालुवाटारमा रातारात मन्त्रणा

मधेशीलाई मिल्न नदिन बालुवाटारमा रातारात मन्त्रणा
सुन्नुहोस्

कांग्रेसको साथ रहँदासम्म दुई तिहाइको सरकार अरुले चाहेर पनि तल–माथि हुने अवस्था छैन । प्रतिनिधिसभामा कांग्रेस र एमालेको मात्र १६६ सांसद रहेकाले साना दलसँग सरकार ढाल्ने  सामर्थ्य  देखिँदैन । तर, प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘३२ सिटे’ प्रचण्ड र मधेशवादी दलहरूको तालाचाबी हातमा बोकी बसेको छिमेकी भारतसँग कतिसम्म त्रास रहेछ भन्ने कुरा उपेन्द्र यादवलाई रातारात बालुवाटार बोलाएर गोप्य छलफल गरेबाट थप पुष्टि भएको छ ।

एकातिर सत्ता साझेदार कांग्रेसभित्रै सरकारप्रति असन्तुष्टिको ग्राफ बढिरहेको छ, अर्कोतिर दक्षिणी छिमेकीको आशीर्वाद नपाएकाले सरकारले फागुन नकटाउने हो–हल्ला भैरहेको छ । यस्तो स्थितिमा प्रचण्डले विपक्षी खेमालाई कसिलो बनाउँदै सरकारविरुद्ध मोर्चा कसेपछि थप असुरक्षित महसुस गरेका प्रधानमन्त्री ओलीले अघिल्लो हप्ता उपेन्द्रसँग बालुवाटारमा लामै साउती मारेको बुझिएको छ । आफैँले छिन्नभिन्न बनाएको पार्टीका अध्यक्षलाई महत्वका साथ भेट्नुको कारण भने उनीप्रति माया पलाएर होइन, विपक्षी मोर्चामा जानबाट रोक्नका लागि हो। 

नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादीलगायत विपक्षी मोर्चामा खुलेर लागेका दलहरूसँग अहिले संसदमा ८० सिट छ । त्यसमा उपेन्द्रको जसपा नेपालसहित सरकारसँग सन्तुष्ट नरहेका सिके राउत नेतृत्वको जनमत, नागरिक उन्मुक्ति, लोसपालगायत दल मिसिए एक सय हाराहारीमा पुग्छ । सरकार ढाल्न यो संख्या आफैँमा पर्याप्त नभए पनि विपक्षीहरू एकगठ हुनु सत्ता पक्षका लागि चुनौती हो । छरिएर रहेको विपक्षी मत एकीकृत हुँदा अहिले प्रचण्डप्रति विश्वस्त नरहेका कांग्रेस सभापति शेरबहादुर देउवाको मन नबदलिएला भन्न पनि सकिँदैन । यो सबै बुझेका प्रधानमन्त्री ओली विपक्षी मोर्चालाई कमजोर बनाउन चाहन्छन् । उपेन्द्रले बालुवाटार भेटबारे पार्टीपंक्तिलाई गरेको रिपोर्टिङअनुसार सरकारप्रति खासै आत्मविश्वासी नदेखिएका प्रधानमन्त्रीको आशय जसपा विपक्षी मोर्चामा नजाओस् भन्ने थियो । प्रचण्डप्रति तिक्तता पोख्दै उपेन्द्रलाई समाजवादी मोर्चामा सहभागी नहुन घुमाउरो आग्रह पनि गरियो । 

‘समसामायिक विषयमा छलफल गर्न भनेर बोलाइएको रहेछ, सरकारबारे उहाँ (ओली) त्यति धेरै आत्मविश्वासमा भएजस्तो देखिएन । प्रचण्डलाई सन्देश दिन बोलाएको जस्तो छ’, अध्यक्षको कुरा सुनेका एक नेताले भने, ‘फेरि उहाँ सत्ताको हिसाबकिताब मिलाउन सिपालु मान्छे पनि हो । विपक्षी मोर्चा र समाजवादी मोर्चामा नजाओस् भन्ने पनि थियो !’ 

तर, जसपा अहिले समाजवादी मोर्चा र विपक्षी खेमा कतै पनि सामेल छैन । प्रधानमन्त्री भएका बेला ओलीसँग मिलेर प्रचण्डले आफ्नो पार्टी फुटाइदिएकाले मोर्चामा बस्न मन नगरेका उपेन्द्र अहिलेसम्म विपक्षी दलको बैठकमा गएका छैनन् । सत्तापक्षमै रहेका उपेन्द्रलाई विपक्षी खेमामा जानबाट रोक्न बल गर्नुको कारण संख्याको जोड–घटाऊ होइन । भनिँदै छ, मधेशवादी दललाई सत्तापक्षमै राखेर दक्षिणको विश्वास आर्जन गर्नु यसको भित्री कारण हो । अहिलेको सरकारलाई भारतले खुलेर समर्थन गरेको छैन । प्रधानमन्त्रीको तीब्र चाहनाका बाबजुद दिल्ली भ्रमणको साइत नजुर्नुले धेरै कुरा प्रष्ट भैसकेकै छ । यो स्थितिमा उपेन्द्र, सिके, महन्थहरू विपक्षमा उभिँदा दक्षिणको समर्थन उतै छ भन्ने सन्देश जाने र सरकारलाई ब्युरोक्रेसीले टेर्न छोड्छ भन्ने कोणबाट पनि सत्ताधारीहरू त्रसित भएको पाइन्छ ।

 

टिप्पणीहरू