हजारौं किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप दिइँदै

हजारौं किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप दिइँदै

काठमाडौं महानगरपालिकाभित्रका झण्डै ५० हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप दिइने भएको छ । महानगरका ४६ हजार ९८५ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप दिन लागिएको छ ।

पाठेघरको मुखमा हुने क्यान्सरविरुद्ध सरकारले माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभर निःशुल्क खोप अभियान सञ्चालन गर्दैछ । अभियानमा महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नगएका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप दिने लक्ष्य लिइएको छ । 

महानगरको स्वास्थ्य विभागले सामुदायिक र संस्थागत गरेर ४९९ वटा विद्यालयका छात्राहरुको संख्या गणना गरेको थियो । सो क्रममा ७९ वटा सामुदायिक र ४२० वटा संस्थागत विद्यालयमा ४२ हजार ५७ जना छात्रा अध्ययनरत पाइएको छ ।

त्यस्तै, विद्यालयबाहिर चार हजार ९२८ जना किशोरी रहेको बताइन्छ । विभागका प्रमुख दिपककुमार केसीका अनुसार महानगरभित्र माघ २२ र २५ गते गरेर दुई चरणमा खोप अभियान थालिँदै छ । जसअनुसार पहिलो चरणमा वडा नम्बर १, २, ५, ८, ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २७, २८ र ३० वडामा खोप शुरु हुनेछ ।

वडा नम्बर ३, ४, ६, ७, ९, १०, १३, १४, १५, १६, २६, २९, ३१ र ३२ मा माघ २५ गतेदेखि खोप कार्यक्रम सञ्चालन हुने छ । वडा क्लिनिक र स्वास्थ्य प्रवद्र्धन केन्द्रले विद्यालयहरुसँग समन्वय गरेर खोप केन्द्र निर्धारण गर्ने जनाइएको छ । 

विद्यालयमा खोप लिन छुटेको र विद्यालयभन्दा बाहिरका किशोरीहरुका लागि कार्यक्रमको अन्तिम दिन स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट खोप दिइनेछ । पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा प्रत्येक दिन चार जना महिलाको मृत्यु हुने गरेको बताइन्छ । 

क्यान्सरमध्ये महिलाहरुको सबैभन्दा बढी मृत्यु पाठेघरको मुखको क्यान्सरबाट हुने गरेको छ । यो क्यान्सर ह्यूमन प्यापिलोमा भाइरसको संक्रमणबाट हुन्छ । उक्त भाइरसलाई एचपिभी पनि भनिन्छ । भाइरस संक्रमित व्यक्तिसँग यौन सम्पर्क हुँदा यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ । 

यसबाट पटकपटक संक्रमण भएर २० वर्षसम्म संक्रमण भएमा पाठेघरको मुखको क्यान्सर हुन सक्छ । यसबाट बच्न तीन चरणका उपाय छन् । १० वर्षदेखि १४ वर्षसम्म उमेरका किशोरीहरूले एचपिभी खोप लगाउनु पहिलो उपाय हो । 

दोस्रो उपायमा ३० वर्षभन्दा माथिका हरेक महिलाले पाठेघरको मुखको परीक्षण (स्क्रिनिङ्ग) गराउनु पर्छ र तेस्रोमा पाठेघरको मुखको क्यान्सर रोग पहिचान भएका महिलाले उपचार गराउनुपर्छ ।

टिप्पणीहरू