एउटा चिनियाँ एपले हल्लियो अमेरिका, एक दिनमै डुब्यो खर्बौ डलर

एउटा चिनियाँ एपले हल्लियो अमेरिका, एक दिनमै डुब्यो खर्बौ डलर

डोनाल्ड ट्रम्प अमेरिकाको ४७ औँ राष्ट्रपति भएपछि विश्वभरका सबैसँग भिडिरहेका छन् । आर्थिक क्षेत्रमा टक्कर दिइरहेको चीनलाई पनि ट्यारिफ लगाउने कुरा उनले बारम्बार भनिरहेका छन् । अमेरिकालाई ग्रेट बनाउन भन्दै उनले चीनलाई निरन्तर सताइरहेका छन् ।

राष्ट्रपतिको शपथमा पनि उनले विश्वकै धेरै मानिसले प्रयोग गर्ने चिनियाँ एप टिकटकमा प्रतिबन्ध लगाउने भनिसकेका छन् । आफूलाई चुनाव जिताउन अर्बौं डलरको खोलो बगाइदिएका इलोन मस्कका लागि उनले टिकटक किन्न खोजिरहेका छन् । ट्रम्पले दबाब दिएर पनि चीनबाट टिकटक मस्कका लागि किन्न बल गरेका हुन् । 

ट्रम्पले अमेरिकामा मात्रै सञ्चालित टिकटक १५/२० बिलियन डलरमा किन्ने भनेर चर्को लबिइङ गरिरहेका छन् । उनले यसअघि प्रतिबन्धमा परेको टिकटकलाई ७५ दिनभित्रमा अमेरिकी स्वामित्वमा ल्याउने घोषणा गरिसकेका छन् । त्यही शर्तमा उनले कार्यकारी आदेश दिएर टिकटक खुलाएका छन् । 

तर यहीबीचमा चीनले अमेरिकालाई दह्रो झापड मारेको छ । चीनको एउटा सानो कम्पनीका कारण अमेरिकाले पानी पिउनसमेत पाएन । ट्रम्प विश्वसामु मसिहा बन्न खोज्दा चीनले उनको महत्वाकांक्षालाई एक झट्कामा डुबाइदिएको छ । कतिसम्म भने यो चिनियाँ एप अमेरिकामा एक दिनमै सबैभन्दा धेरै डाउनलोड हुनेमध्ये शीर्ष स्थानमा पुगेको छ । 

विश्वमा अहिले सबैभन्दा चर्को प्रतिस्पर्धा कहीँ छ भने त्यो हो आर्टिफिसियल इन्टेलिजेन्स । आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी चिनियाँ कम्पनीको एउटा कदमका कारण एकै दिनमा अमेरिकाले सेयर बजारबाट १.५५ ट्रिलियन डलर गुमाएको छ । यसलाई सजिलो गरी बुझ्दा भारतको कुल अर्थतन्त्र साढे ३ ट्रिलियन डलरको छ । यस्तोमा त्यसको आधा अर्थात् चिनियाँ कम्पनीका कराण अमेरिकी सेयर मार्केटले १.५५ ट्रिलियन बराबर गुमाउनु परेको छ । 

डीपसीकका कारण अमेरिकी बजारमा पहिरो जाँदा त्यहाँका प्रविधि कम्पनीहरूले १७२ लाख करोड रुपैयाँ अर्थात् १.५५ ट्रिलियन डलर गुमाएका छन् । सेयर बजारमा सबैभन्दा धेरै ४७५ बिलियन डलर करिब (६६ लाख करोड रुपैयाँ) एनबिडियाले गुमाउको छ । 

कम्पनीको सेयर नै एकै दिन १६ प्रतिशतले ओरालो लाग्यो । एनबिडियाको यो क्षति भारतमा टाटा समूहको कुल बाजार पूँजीभन्दा पनि २५ प्रतिशतले धेरै हो । यो क्षति रिलायन्स इन्डस्ट्रिजसहित भारतका शीर्ष ३ कम्पनीको कुल बजार मूल्य र पाकिस्तान-न्यूजील्यान्ड जस्ता विश्वका १४० देशको भन्दा कुल अर्थतन्त्रभन्दा पनि धेरै हो ।

यो सबै चीनको एउटा एपका कारण सम्भव भएको हो । अमेरिकी सेयर मार्केटको एक ट्रिलियन डलर डुबाउने काम कुनै ह्याकरले गरेको होइन । चिनियाँ एपका कारण अमेरिकाले विश्वलाई जबरजस्ती मुर्ख बनाइरहेको कुरा पनि खुलासा भएको छ । 

नेपाली समयअनुसार आइतबार साँझ सवा ४ बजे नास्‍ड्याकमा एनबिडिया कम्पनीको सेयरको मूल्य १२६.७५ डलर थियो । अर्थात् डीपीसीकका कारण यसको मूल्यमा ११.१३ प्रतिशत अर्थात् १५.८७ डलरको गिरावट हो । यसक्रममा प्रविधि कम्पनी आवद्ध नास्‍ड्याक कम्पोजिट इन्डेक्स पनि ०.५० प्रतिशत अर्थात् ९९.३८ अंकबाट झरेर १९९,९५४.३० सम्म पुग्यो । 

चीनले बनाएको एउटा मोबाइल एपले अमेरिकाको ‌ओपन एआईलाई पनि ध्वस्त बनाइदिएको छ । अमेरिकालाई कहीँ कतै टिक्ने अवस्था नहुने गरी चिनियाँ एपले डीपसीकले एआईले झापड हानेको छ । 

यो एआई आउनेबित्तिकै अमेरिकाका सबै कम्पनी एक झट्कामा पछारिन पुगेका छन् । हामीबिना चीनले केही पनि गर्न सक्दैन भन्ने अमेरिकाको भ्रम  एक झट्कामा तोडिएको छ । अमेरिकी एआई कम्पनीहरूले आफूहरूले बनाएको चिपबिना चीनले केही गर्न नसक्ने बताइरहेका थिए । 

चिनियाँ कम्पनी डिपसिकले हालै मात्र आफ्नो डिपसिक-भी ३ ल्याएको थियो । अब डीपसीक-आर१ नामबाट एक नया शक्तिशाली लङ ल्याङ्ग्वेज मोडल (एलएलएम) सार्वजनिक गरेको छ। यो नया मोडल मिक्सचर अफ एक्पर्ट्स आर्किटेक्चरमार आधारित छ । यसले गणित, कोडिङ र सामान्य ज्ञान जस्ता काममा अमेरिकी ओपनएआईको मोडल ०१ लाई कडा टक्कर दिएको छ । खास कुरा के छ भने डीपसीक-आर १, ओपन एआईको तुलनामा ९० देखि ९५ प्रतिशत धेरै किफायती र सहज पनि छ । 

डीपसिक नामको चिनियाँ एप्लिकेशनले आर्टिफिसियल इन्टेलिजेन्सको सबै काम सित्तैमा गर्ने सुविधा दिएको छ । उता ओपन एआई र च्याट जीपीटीले यसअघि त्यही कामका लागि सयौँ डलर लिने गरेका थिए । अमेरिकी एआईले पैसा लिएर गर्ने काम चिनियाँ एपले सित्तैमा गर्न थालेपछि भूकम्प नै ल्याएको छ । 

जुन कामका लागि ‌ओपन एआईले धुम मच्चाएको अमेरिकीहरूले बताइरहेका थिए, त्यही काम डीपसिकले निशुल्क गरिदिएपछि संसारको ध्यान त्यसमा गएको छ। जब एप्पलको ओएस स्टोरमा यो एप हालियो तब अमेरिकी एआई संसारमा थामिनसक्नु भुइँचालो गएको छ, सेयर बजार हायलकायल भएको छ ।  

आर्टिफिसियल इन्टेलिजेन्स दुनियाँमा तहल्का मच्चाउने डीपसिक एक एप बनाउने काम हाई फ्लायर नामको एक सानो कम्पनीबाट भएको हो । यो चीन सरकारद्वारा लगानी गरिने कम्पनीमध्ये एक हो । यसलाई एकजना चिनियाँ नागरिक लियाङ्ग वङ्ग फङ्ग एक्लैले सञचालन गर्छन् । अनौठो त के छ भने यो कम्पनी सन् २०२३ मा मात्रै स्थापना भएको हो । 

जुन कम्पनीले स्थापनाको दुई वर्षमै विश्व हल्लाउने एआई बनाएको हो । यो एआई निर्माता कम्पनी ह्याङ्ग चाउ सहरमा छ । जहाँको ल्याबमा यस कम्पनीले एआई सम्बन्धी शोध गर्दै आएको थियो । 

सन् २०२३ मा स्थापित स्थापित डिपसिकको मातृ कम्पनी अब एआईको दौडमा अमेरिकासहित पश्चिमा देशलाई टक्कर दिँदै अगाडि आएको छ । गत साता मात्रै सार्वजनिक गरिएको डीपसीक-आर १, गणित, कोडिङ र तर्क जस्ता कुरामा अमेरिकी एआईलाई उछिन्दै अगाडि देखिएको छ । डीपसीकका कारण ओपनएआई, गुगल र सिलिकन भ्यालीका कयौँ कम्पनीको होस उडेको छ । डीपसीकको लन्चिङले केवल जनरेटिभ एआई स्पेसमा प्रतिस्पर्धा कडा मात्रै बनाएन अमेरिकाको सेयर बजारलाई पनि धरासायी बनाइदिएको छ। 

ओपन एआईसँग टक्कर 

अहिलेसम्म एआई च्याट टूलको मार्केटमा ओपनएआईको च्याटजीपीटी एक्लै राज गरिरहेको थियो । तर डिपसिकको धमाकेदार आगमनले च्याट जीपीटीले पहिरिएको बादशाहको ताज खोसिने अवस्था आएको छ । ओपनएआईमा अहिले ४ हजार मानिस काम गर्छन् । तर उता डीपसीकमा काम गर्ने केबल २ सय जनाले अमेरिकाको खर्बौँ डलर लगानीको कम्पनीलाई केही दिनमै धरासायी पारिदिएको छ । 

एनबिडियालाई यति ठूलो क्षति हुनुमा दुईवटा कारण छन् । पहिलो कारण ओपनएआई र डीपसीक दुवै एनबिडियाकै चिप प्रयोग गर्छन् । ओपनएआई आफ्नो टुललाई व्यवस्थापन गर्न करिब १६ हजार एनबिडिया चिप प्रयोग गर्छ । उता डीपसीक आफ्नो टुलमा एनबिडियाकै केबल २००० चिपको प्रयोग गर्छ । यस्तोमा ओपन एआई जुन काम १६००० चिपबाट गर्छ, त्यही काम डीपसीकले केबल २००० चिपबाट गरिरहेको छ । 

दोस्रो कारण भनेको डीपसीकले आफ्नो मोडल तयार र व्यवस्थापन गर्न सामान्य पैसा खर्च गरेको छ। यसको विपरीत अमेरिकी कम्पनीले एआई प्रोजेक्टमार अर्बौ डलर खोलोसरह बगाएको छ। उदाहरणका रुपमा ओपन एआईको ०१ मोडललाई तालिम दिन मात्रै १५ डलर प्रति मिलियन इनपुट टोकन लाग्छ । 

अर्कातिर ६० डलर प्रतिमिलियन आउटपुट टोकन लाग्छ । जबकि डीपसीक आर १ केबल ०.५५ डलर/मिलियन इनपुट टोकन र २.१९ डलर प्रतिमिलियन आउटपुट टोकन मात्रै खर्च गर्छ । स्टारगेट प्रोजेक्टमा ओपनएआई, माइक्रोसफ्ट, सफ्टब्यांक र ओराकलले करिब ५०० अर्ब डलर लगानी गरिसकेका छन् । तर डीपसीकको आगमनपछि यी सबै त्रसित छन् । यी सबै कम्पनी अहिले एनबिडियाकै चिप प्रयोग गर्छन् । 

दुवै प्ले स्टोरमा एक नम्बर

लन्च भएको चार दिनभित्र यो एआईले एप्पलको ओएस स्टोर र एन्ड्रोइडको गुगल स्टोरमा सबै रेकर्ड तोडेको छ । एप्पल स्टोरमा अहिले चिनियाँ एआई अमेरिकाका सबै एआईलाई उछिन्दै शीर्ष स्थानमा पुगेको छ । आर्टिफिसियल इन्टेलिजेन्समा जति एपले काम गरिरहेका छन्, ती सबै एपलाई चिनियाँ एपले उछिनेर शीर्ष स्थानमा पुगेको छ । चिनियाँ एपको धक्का बेहोर्नेमा अमेरिकास्थित ओपन एआई र च्याट जीपीटी छन् । विश्वमा सबैभन्दा प्रख्यात यी एआईलाई चिनियाँ एपले लन्च भएको केबल चार दिनमै हरेक क्षेत्रमा पछारिदिएको हो । 

डीपसीकको एआई एप सार्वजनिक भएको केही दिनमै शीर्ष स्थानमा उभिएको छ । खास कुरा के छ भने यस एपले बजारमा धेरै समय बिताएको छैन । तर पनि केही दिनमै यो एआई एप्पल एप स्टोर र गुगल प्ले स्टोरमा एक नम्बर बनेको छ । यस एपको आकार पनि साह्रै सानो छ । यसको रिजनिङ्ग (सोच्ने) क्षमता पनि अद्भूत छ। 

इन्टरनेटमा गएर यसले केही बेरमै तपाईंलाई चाहिएको विवरण ल्याइदिन सक्छ । यस एपलाई प्रयोग गर्न तपाईंलाई शक्तिशाली प्रोसेर भएको कम्प्युटर र अरु डिभाइस पनि चाहिँदैन । न त ओपनएआई र च्याटजीपीटी जस्तो महंगो शुल्कमा ग्राहक नै बन्नुपर्छ। यस एपले सार्वजनिक भएको केही दिनमै च्याटजीपीटलाई धेरै पछि पारिसकेको छ । 

के छ डीपसीकमा ? 

डीपसीकका संस्थापक लियाङ्ग वेनफेङ्गको यात्रा बहुतै प्रेरणादायी छ । सन् १९८५ मा जन्मिएका लियाङ्गले झेचियाङ्ग विश्वविद्यालयबाट इन्जिनियरिको पढाइ गरे । त्यसपछि उनी फाइनान्सियल हेज फन्ड इन्डस्ट्रीमा छिरे । तर उनको खास सपना एआईको संसारमा केही गर्नु थियो । डीपसीकमा लियाङ्गले चीनको शीर्ष विश्वविद्यालयमा युवाहरूलाई अवसर दिए । यी युवा वैज्ञानिक नयाँ खोज र आविष्कारका लागि पूरा समर्पित थिए । लियाङ्ग युवा दिमाग धेरै सहासी हुने र जोखिम पनि उठाउन तयारहुने कुरामा विश्वास गर्थे । उनी एआई जस्ता प्रविधिको क्षेत्रमा युवालाई उतार्न चाहन्थे ।

एआईको नयाँ बादशाह

डीपसीक आर १ मोडल एआईको संसारमा नयाँ बादशाह बनिसकेको छ । यो मोडल आफ्नो उत्कृष्ट रिजनिङ्ग क्षमता, गणित र कोडिङ जस्ता कार्यमा शानदार प्रदर्शन गरिरहेको छ। 

डीपसीकले आफ्नो प्रमुख मोडललाई ओपन-सोर्स मात्रै गरेको छैन, यसको सानो भर्सन पनि डेभलपरका लागि उलब्ध गराएको छ। यी सबै मोडललाई एमआइटी लाइसेन्सका रुपमा लन्च गरिएको छ । 

डीपसीक कसरी आयो ? 

सन् २०२२ मा अमेरिकाले चीनमाथि आधुनिक चिप्स एनबिडिया एच १०० आपूर्तिमा प्रतिबन्ध लगाएको छ । यसका कारण चीनको एआई उद्योगमा झट्का लागेको थियो । तर चीनले यस चुनौतीलाई आफ्नो फाइदामा परिणत गरेको छ । 

ओपन एआई र च्याट जीपीटीले संसार खाने भ्रममा रहेका अमेरिकीहरूलाई चिपमाथि प्रतिबन्ध झेलेको चीनको यो कदमका कारण हुनुसम्मको बेइज्जती भएको छ । च्याट जीपीटी बनाउने अमेरिकी कम्पनीको अहिले बाह्र बजेको छ। 

अमेरिकाकै प्रख्यात एनबिडियाले चिनियाँ कम्पनीको डीपसिकका कारण खर्बौं डलर एक दिनमै गुमायो । एक दिनमै चिनियाँ कम्पनीले एनबिडियाको खेल समाप्त गर्दै स्टक मार्केटमा पनि पहिरो ल्याइदियो । 

एआई बनाइसकेपछि तपाईं हामीले चलाउने मोबाइल, ल्याप्टप र र टेलिभिजनमा लाग्ने चिपसमेत अमेरिकाले चीनलाई उपलब्ध नगराई प्रतिबन्ध हानेको थियो । 

चिनियाँमाथि चिपमा प्रतिबन्ध लगाएपछि अमेरिकीहरू अब कसैले पनि आफूले बनाए बराबरको चिप बनाउन नसक्ने भनेर ढुक्का थिए । अमेरिकीहरुको बुझाइ के थियो भने अब यस्तो एआई विश्वमा कसैले पनि बनाउन सक्दैनन् । त्यहीकारण अमेरिकाले दुई वर्षअघि नै चिप निर्यातमा प्रतिबन्ध लगाएको थियो । 

चिपमा प्रतिबन्ध लागेपछि अब एआईमा थप नयाँ खोज कसैले गर्न नसक्नेमा अमेरिकी ढुक्क थिए । आफूहरूले बनाइसकेकाले अब अब अरुले बनाउन नसक्ने भ्रममा रहेको अमेरिकालाई चीनले एक झट्कामा निद्राबाट ब्युँताइदिएको छ । 

राष्ट्रपतिका रुपमा आफ्नो अन्तिम हप्तामा जो बाइडनले चीनमा एआई चिप्सको तस्करी रोक्न विश्वका अधिकांश देशमा एआई चिप निर्यातलाई सीमित गरेका थिए । उनले त्यसका लागि सख्त प्रतिबन्ध लगाएका थिए । अब नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्प एआई निर्यातमा अझै सख्त नियन्त्रण गर्छन् गर्दैनन् हेर्न बाँकी छ । ट्रम्पले विदेशमा उत्पादित कप्युटर चिप्समा नयाँ ट्यारिफ लगाउने योजना बनाइसकेका छन् । 

टिप्पणीहरू