भुवन केसीको लापरवाहीले निर्माताको बेहाल
![भुवन केसीको लापरवाहीले निर्माताको बेहाल](https://janaaastha.prixacdn.net/media/albums/bhuwan_xU2t4TJsWn.jpg)
बहुप्रतिक्षित मानिएको ‘एक्टरः टेक वान’को लफडाले केही दिनदेखि नेपाली सिनेवृत्त तरंगित छ । चलचित्रकर्मीले खासै प्राथमिकता नदिएको नामसम्बन्धी विवाद बढ्दै जाँदा अदालतले प्रदर्शन रोक्न आदेश दिने तहसम्म पुगेपछि लफडा चर्किएको हो ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश ढाकाराम पौडेलको इजलासले तत्कालका लागि प्रदर्शन रोक्न हिजो अल्पकालीन आदेश दिएपछि यतिबेला निर्माण टिमले पुर्पुरोमा हात लगाएको अवस्था छ । सोमबार भक्तपुरको क्युएफएक्स सिनेमाजमा भव्य तामझामका साथ ग्राण्ड प्रिमियर गरिएको चलचित्र आजबाट प्रदर्शनमा आउनुपर्ने थियो । निर्माण टिमले अनलाईन बुकिङ्गसमेत खुलाइसकेको अवस्था थियो ।
मान्यतया: चलचित्र प्रदर्शन गर्दा बिदाको समयलाई ध्यानमा राखेर मिति तय गरिएकाे हुन्छ । आज (सहिद दिवस), भोलि (सोनाम ल्होसार), पर्सि (शुक्रबार) र त्यसपछि शनिबार भएका कारण त्यसैअनुसार फिल्मको प्रदर्शन मिति तय भएको थियो । तर, माघ ४ गतेदेखि प्रदर्शनमा आउने भनिएको अर्को चलचित्र ‘एक्टर’को टिमले अदालतमा दायर गरेको रिटले ‘एक्टरः टेक वान’को प्रदर्शन माघ २२ गतेसम्म रोकिएको छ ।
यससँगै, ‘एक्टरः टेक वान’को व्यापारमा सामान्य असर त परिसकेको छ । तर, यतिबेला दुवै निर्माण टिमलाई उस्तै नामको चलचित्रको इजाजत दिने चलचित्र विकास बोर्डमाथि पनि गम्भीर प्रश्न उठेको छ ।
करोडौँ लगानी गरिएको चलचित्रको प्रदर्शन रोकेर ‘एक्टर’को निर्माण टिमलाई के फाइदा होला ? निर्देशक सुजित बिडारीको प्रश्न छ । उनी भन्छन्, ‘नेपाली सिनेमा विकास हुन नदिने अरु कोही नभएर यहि चलचित्र क्षेत्रकै भाइरसहरु हुन् । चाहे त्यो मुद्दा हाल्ने भाइरस होस्, चाहे एउटै नाममा निर्माण अनुमति दिएर गौडामा आएर कैँची हान्ने चलचित्र विनास वोर्ड अथवा त्यसको सम्बन्धित व्यक्ति होस् ।’
त्यस्तै, अभिनेता तथा निर्देशक निश्चल बस्नेतको धारणा पनि उस्तै छ । ‘नाम नै एउटै भएको कुरा हो भने नाम दर्ता गर्ने विकास वाेर्ड जवाफदेही हुनुपर्छ’, उनको तर्क छ, ‘समस्या नै भएको हो भने ईजाजत दिने अध्यक्षलाई स्पष्टीकरण र मुद्दा लाग्नुपर्ने, विकास बोर्डलाई हो कि चलचित्रलाई ?’
समग्रमा यतिबेला सिनेकर्मीहरु उस्तै नामको चलचित्रको इजाजत दिने विकास वोर्डमथि आक्रोश पोखिरहेका छन् । आखिर, वोर्डले कसरी उस्तै नामको चलचित्र इजाजत दियो त ? कारण खोज्दै जाँदा जोडिन्छन्, अभिनेता भुवन केसी ।
सामान्यतया कुनै निर्माण समूहले चलचित्रको कथा, छायांकन स्थल, कलाकार, बजेटलगायतका तयारी पुरा गरिसकेपछि चलचित्र विकास वोर्डसँग इजाजत लिनुपर्ने कानुनी प्रावधान छ । इजाजत लिएर छायांकन भइसकेपछि अन्तिम सम्पादन भएको चलचित्र सेन्सर वोर्डबाट पास हुन्छ । चलचित्रमा कुनै कैफियता देखिए बोर्डले त्यसप्रकारका दृश्य हटाउन आदेश दिने अधिकार राख्छ । तर चलचित्र ‘एक्टर’ र ‘एक्टरः टेक वान’बीचको अहिले देखिएको विवाद भने निर्माणअघि लिइने इजाजतसम्बन्धी हो ।
यी दुवै निर्माण टिमले गत वर्ष चलचित्रको इजाजत लिँदा वोर्ड अध्यक्ष थिए, अभिनेता केसी । उनको कार्यकाल गत साउनबाट सकिएपछि अहिले दिनेश डिसी त्यहाँको कुर्सीमा छन् । हाल दुई चलचित्रबीच चलिरहेको विवादको नैतिक जिम्मेवारी डिसीको काँधमा पुगे पनि उतिबेला लापरवाही गर्ने चाहिँ केसी नै रहेको स्रोतको दावी छ ।
वोर्डका एक पूर्व सदस्यका अनुसार ‘एक्टरः टेक वान’को टिम इजाजत लिन कार्यालयमा पुगेको बेला तत्कालीन अध्यक्ष केसीले चलचित्रको अध्ययनबेगर अनुमति दिएका थिए । निर्माण टिमले ‘पछि कुनै समस्या त हुँदैन ?’ भनेर ग्यारन्टी खोज्दा केसीले ‘कथा, कलाकार सबै फरक छ, केहि हुँदैन’ भनेर अनुमति दिएकाे बताइन्छ । जबकि, नामकै कारण यसअघि पनि थुप्रै चलचित्रबीच विवाद भएको नजिर छ ।
‘उहाँ (केसी)ले कलाकारको अनुहार हेरेर इजाजत दिएको स्पष्ट भयो, कतिपय शब्दकै कारण यसअघि पनि विवाद भएकै थिए, त्यस्तो नहोस् भनेर उहाँले बरु अर्को नाम राख्न सुझाउनु पर्ने हो, तर केहि अध्ययन नगरी लापरवाही ढंगको काम गर्नुभयो’, उनले थपे ।
दुई वर्षे कार्यकालमा दर्जनौँ पटक विदेश यात्रा गरेका केसी विवादमा आएको पहिलोपल्ट भने होइन । वोर्डको सरकारी गाडीमा प्रेमिका जिया केसीलाई राखेर मध्यराति क्लब गएको, विदेशमा हुने विभिन्न अर्वाड समारोहमा बोर्डमार्फत अपरदर्शी खर्च गरेको, बक्स अफिस रेकर्ड चुहावट गरेकोजस्ता आरोप उनीमाथि छ ।
उता बोर्डमा हालै सरुवा भएर आएका एक कर्मचारी भने ‘एक्टरः टेक वान’ निर्माण टिमकै गल्तीको कारण अहिलेको विवाद सिर्जना भएको बताउँछन् । ‘अहिले हाम्रो चलचित्रमाथि अन्याय भयो भनेर रोइ-कराई गर्नुको कुनै अर्थ छैन’, उनले भने, ‘टिमले एउटा नाम लिएर आएको हुन्छ, हामी कर्मचारी र नेतृत्वले त्यहीँ नाममा प्रक्रिया पूरा गरेर इजाजत दिने हो ।’
कतिपय चलचित्रलाई इजाजत नदिँदा पनि अदालतबाट आदेश लिएर आएको प्रसंग औँल्याउदै उनले थपे, ‘म यहाँ (वोर्डको कार्यालय) आएको धेरै भएको छैन । तर केहि चलचित्रको नाममा कैफियत देखिएपछि हामीले इजाजत रोकेका थियौँ । उहाँहरुले अदालतबाट आदेश नै लिएर आउनु भयो । हामीलाई जे गरे पनि सुख छैन । चलचित्रकर्मीहरु आफैँ सचेत र इमान्दार हुनुपर्ने हो ।’
टिप्पणीहरू