कुन–कुन वकिल यसबीच कुटिए ?

कुन–कुन वकिल यसबीच कुटिए ?

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रवि लामिछाने नेतृत्वको ठगीका पीडितको तर्फबाट काठमाडौं जिल्ला अदालतमा बहस गरेकै भरमा कुटिएको घटनाले न्यायिक क्षेत्र तातिइरहेको छ ।

बहस पैरवी गरेकै आधारमा पनि धेरै वकिलले भौतिक आक्रमण झेलेका छन् । गाली गलौज त सामान्य रहेको कानुन व्यवसायीबीच चर्चा हुने गरेको छ । ०४८ सालताका पोखरामा तत्कालीन युवा अधिवक्ता हरिहर दाहालले अभियुक्तको तर्फबाट बहस पैरवी गर्दा पीडित समर्थित आक्रोशित भीडले भौतिक आक्रमण गरेको कानुन व्यवसायी सम्झना गर्छन् । पछि यो घटनालाई अदालतले न्यायिक जानकारीमा लिएर वकिल भनेको अदालतको अधिकृत भएको हुँदा तीमाथिको आक्रमण अदालतको अवहेलना हुने भनी व्याख्या गरेको पाइन्छ । दाहाल नेपाल बार एशोसिएशनको पूर्वअध्यक्ष तथा प्रभावशाली वरिष्ठ अधिवक्ता हुन् ।

२०५४/५५ सालतिर भक्तपुर बोडे माइती भएकी राजेश्वरी प्रजापति नामक नर्सको मैतीदेवी/ज्ञानेश्वर क्षेत्रको एकघरमा शंकास्पद मृत्यु भएकोमा माइती पक्षको जाहेरीले पतिलाई ज्यान मुद्दा लागेको थियो । थुनछेडको दिन पुरै बोडे, ठिमी र गोठाटार मूलपानीसम्मका मानिस थुन्नै पर्छ भनेर चारखाल घेर्न आएको सम्झना अधिवक्ता विनोद कार्की गर्छन् । 

उनका अनुसार, झुटो मुद्दा लगाएकोले खारेज हुनुपर्छ भन्दै सानो समूह पनि नारा लगाएर बसेको थियो भने पश्चिमतर्फ छिँडीमा हरिकुमार पोखरेलको इजलासमा सुनुवाइ भएको थियो। दुबै पक्षको बहस सकिएपछि अभियुक्तलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष हुने भन्नेबित्तिकै अभियुक्त पक्षको हुल छिरेर न्यायाधीशलाई समेत कुट्यो । प्रहरीले पछाडिको ढोकाबाट कुशलतापूर्वक न्यायाधीशलाई भगाउनुपरेको थियो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि रवि लामिछानेका कार्यकर्ताको आक्रमणपश्चात् यस्ता घटनाको सम्झना कानुन व्यवसायीमाझ अहिले हुने गरेका छन् ।

राप्रपा नेता दीपक बोहोराका दुई पत्नीमध्ये एकको मुद्दा वरिष्ठ अधिवक्ता मुकुन्द रेग्मीले हेरेका थिए । बहस सुनेपछि बोहोरा पक्षलाई सहिनसक्नु भएको हुनुपर्छ । बहस गरेर घर फर्कंदा रेग्मीलाई गुण्डाले पिछा गरी घरनजिकै पुग्दा गाडी रोकेर धेरै पिटेछन् । त्यसैबाट उहाँको दाँत झरेको पनि अधिवक्ता कार्की सम्झन्छन् । 

बहस गरेकै आधारमा सबैभन्दा ठूलो आक्रमण झेल्ने प्राध्यापक पवनकुमार ओझा हुन् । राजा ज्ञानेन्द्रको को महान्यायाधिवक्ता भएका उनले शाही आयोगको मुद्दामा राजाको आदेश दैवी कानुन हो भन्ने आशयको बहस गरेका थिए । उनी पछि सर्वोच्चको अस्थायी न्यायाधीश भए । स्थायी गर्ने बेला निरंकुश शाही शासन ढलेर नयाँ अन्तरिम संविधान जारी भएको थियो । तत्कालीन बार अध्यक्ष शम्भु थापाले बहसको कुरा उठाएर ओझालाई स्थायी गर्न नहुने चेतावनी प्रधानन्यायाधीश समेतलाई दिएका थिए ।

ओझामाथि चरित्र र क्षमतामा प्रश्न उठेको होइन । वरिष्ठ पत्रकार तथा पत्रकारिताका प्राध्यापक कुन्दन अर्यालका ससुरा प्रोफेसर ओझाको स्थायी नियुक्ति त के म्याद थप पनि भएन । उहाँ सामान्य तालमा घर फर्कनुभयो तर कहिल्यै यस कुरामा आक्रोश व्यक्त गर्ने वा प्रतिवादमा लाग्ने काम गर्नु भएन । 

 

टिप्पणीहरू