ह्वाइट हाउसमा सिँगान कोट्याउने,बालुवाटारमा बैठक छोट्याउने

भनिन्छ,बालबालिका भगवानका प्रतिमूर्ति हुन् । उनीहरुले जे देख्छन्न सिक्छन्, त्यही गर्छन् । तर कहिलेकाँही उनीहरुका स–साना हर्कतले समाजमा ठूलो तरंग ल्याउने गरेको छ । यसको ज्वलन्त उदाहरण बनेका छन् विश्वकै सर्वाधिक धनी एलन मस्कका चार वर्षीय छोरा एक्स र हाम्रा प्रधानमन्त्रीका स्वकीय सचिवका तीन वर्षीय छोरा सिमान्त (नाम परिवर्तन) बज्राचार्य।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मंगलबार ह्वाइट हाउसको ओभल कक्षमा विशेष पत्रकार सम्मेलन आयोजना गरेको अवसरमा डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी (डज)को थप क्षेत्राधिकार घोषणा गरिँदै थियो ।
दोस्रो पटक राष्ट्रपति निर्वाचित भएलगत्तै ट्रम्पको कार्यकारी आदेशबमोजिम स्थापित डजको प्रमुख एलन मस्कलाई बनाइएको छ । राष्ट्रपति ट्रम्पकै चाहनामा डज प्रमुख बनेका मस्कको टिमलाई सरकारी खर्च कटौती र विदेशी सहायताको पुनःविचारसम्बन्धी पूर्णअधिकार दिइएको छ । डजको क्षेत्राधिकार थप गर्नेबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्प कुर्सीमा बसेका थिए । भने, मस्क उनको दायाँपट्टी उभिएका थिए ।
जब पत्रकारले प्रश्न गर्न थाले, तब सबैको ध्यान एक बालकले खिचे । नाकको सिंगान कोट्याउँदै राष्ट्रपति ट्रम्पको छेउमा पुगेका ती बालक थिए, मस्कका चार वर्षीय छोरा एक्स (जसको नामबाट ट्वीटरलाई एक्स बनाइएको थियो) । एक्सले त्यहाँ बालसुलभ हर्कत मात्र देखाएनन्, ट्रम्पलाई ‘तिमी राष्ट्रपति होइनौ,यहाँबाट जाऊ" भनेर समेत थर्काए । उनले आफ्नै भाषामा भनेका थिए, ‘यु आर नट दि प्रेसिडेण्ट,यु निड टु गो !’
झ्वाट हेर्दा र सुन्दा यो दृश्यले एक बच्चाको बालसुलभ मनोदशालाई झल्काउँछ, तर यतिबेला धेरैले ‘बालकले घरमा सिकेको कुरो ह्वाइट हाउसमा अभिव्यक्त गरेको’ अर्थ लगाइरहेका छन् । अर्थात, विश्वका सर्वाधिक धनी व्यक्ति मस्कले आफैंलाई ट्रम्पभन्दा शक्तिशाली ठान्छन्, तर कुन उद्देश्यले उनी ट्रम्पको छायाँ सरकारको रुपमा काम गरिहेका छन् ? भन्ने गम्भीर प्रश्न पनि उठाइएको छ ।
यसरी महत्वपूर्ण स्थानमा बालबालिकाले देशकै संवेदनशील विषयमा प्रभाव पारेको उदाहरण अमेरिकामा मात्रै होइन, हाम्रो नेपालमा पनि छ । यता प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यका तीन वर्षे छोराले बालकोट, च्यासल हुँदै बालुवाटारसम्म हैरान पार्न थालेको गुनासो सुनिन थालेको छ ।
नेकपा एमालेको अध्यक्षसमेत रहनुभएका ओली प्रधानमन्त्री हुनुभन्दा अघि भक्तपुरको बालकोटस्थित निजी घरमा बस्नुहुन्थ्यो । स्वकीय सचिवको हैसियतले बज्राचार्य ओलीको घर आउजाउ गर्नु सामान्य हो । तर उनका तीन वर्षे छोरासँग प्रधानमन्त्री ओलीको लगाव यति जोडियो कि उहाँ घण्टौँसम्म खेलेर बस्न थाल्नुभयो । गत वर्ष असोज पहिलो साता प्रधानमन्त्री ओलीलाई भेट्न बालकोट पुगेका एक एमाले नेताले भनेका थिए, ‘त्यो बाबुलाई नाती भन्नुहुन्थ्यो,ऊसँग खेल्न लागेपछि अरुको कुरा सुन्दै नसुन्ने !’
हाल बालुवाटास्थित प्रधानमन्त्री निवासमा पनि ती बालकसँग जिस्किंदै खेल्न थाल्नुभएको बताइन्छ । प्रधानमन्त्री, सल्लाहकार विष्णु रिमालहरूसमेत ती बालकलाई खुशी तुल्याउन, जिस्किन थालेपछि राम्रोसँग शब्द उच्चारणसमेत गर्न नजान्ने उनले सबैलाई ‘तँ’ संबोधन गर्न र चिमोट्दै हिँड्न थाले । बालकको कारण कयौँ बैठक अवरोध भएको एमालेका एक जना नेताले केही समयअघि जनआस्थालाई बताएका थिए ।
टिप्पणीहरू