बैरीहरु एकैपल्ट प्रकट

अनामिका शर्मा
गौरवपूर्ण इतिहास बोकेको काठमाडौं स्कुल अफ ल संविधानविद् र कानूनका विज्ञ उत्पादन गर्ने शैक्षिक कारखानाको रुपमा परिचित छ । उक्त संस्था र पदाधिकारीहरुविरुद्ध पछिल्लो दिनमा योजनाबद्ध ढंगले समग्र संस्था र त्यहाँ कार्यरत अधिकांश शिक्षकहरुको मान मर्यादामा गम्भीर आँच पुर्याउँदै प्रचारप्रसार छेडियो ।
काठमाडौं स्कुल अफ लले नेपाल र एसियासँगै विश्वभर नै प्रतिष्ठा आर्जन गरेको छ । उक्त कलेज नेपालमा पाँच वर्षे स्नातक तहको कानुन र मानवअधिकारलगायतका विभिन्न विधाका शैक्षिक कार्यक्रमहरुको सुरुवात गर्ने पूर्वाञ्चल विश्वविद्यालयअन्तरगतको पहिलो अगुवा संस्था पनि हो । कार्यकारी निर्देशक रहेका डा.युवराज संग्रौला र कतिपय विद्यार्थीलाईसमेत लक्षित गरेर ‘बदनियत’ पूर्वक आक्रमण गरियो ।
संग्रौला कानूनी शिक्षा र मानवअधिकारको उन्नयनमा समर्पित व्यक्तित्व हुन् । नेपाल सरकारका पूर्वमहान्यायाधिवक्ता, वरिष्ठ अधिवक्ता एवम् एक दर्जन बढी कानुनी र साहित्यक पुस्तकका लेखक सर्जक पनि हुन् उनी ।
उक्त स्कुलबाट गत महिना मात्र बिएलएलएलबी पाँचौं वर्षको परीक्षा दिएकी सन्ध्या गौतमले इन्स्टाग्राम, फेसबुकलगायत सामाजिक सञ्जालमा ३७ वर्ष लामो शिक्षण पेसामा संलग्न अग्रज ‘गुरु’ विरुद्ध ‘मौखिक यौन दुव्र्यवहार’ को अपुष्ट आक्षेप लगाइन् । उनले सिङ्गो संस्था, प्राध्यापक, कतिपय विद्याथीसमेत दुव्र्यवहारमा संलग्न रहेको भन्दै सामाजिक सञ्जालमा धारावाहिक लेख्ने र बोल्ने कार्य जारी राखिन् । उनले सार्वजनिक गरेको त्यही सामग्रीका आधारमा कतिपय मिडिया र सामाजिक सञ्जालमा प्रा. संग्रौलालगायतलाई खुइल्याउने कर्म गरिएको छ ।
तर पत्रकार सम्मेलनमा संग्रौलाले ती छात्राले कार्यकारी आफू र परिवारसँग ५–५ लाखका दरले २० लाख रुपैयाँ माग मागेको बताएका छन् । सामाजिक सञ्जालबाटै मध्यरातमा संग्रौलाकी छोरी युगिच्छा संग्रौलाको नाम लिँदै ‘तँलाई जलाएर मार्छु’ भन्दै आतंकित पारेको पिडा पनि व्यक्त गरिएको छ । कतिपय सञ्चार माध्यमले ती छात्राको भनाइमा विश्वास गर्दै एकपक्षीय समाचार सम्प्रेषण गरेको कलेजले जनाएको छ ।
आफूलाई ‘अभियन्ता’ दाबी गर्नेहरुले त्यसैलाई ‘भाइरल’ बनाएका हुन् । ती छात्राले पाचौं वर्षको परीक्षा सकिएलगत्तै कार्यकारी निर्देशक संग्रौला र कलेजविरुद्ध किन यसरी लान्छना लगाएकी थिइन् भनेर कलेज प्रशासन र स्वयम् संग्रौलासँग बुझ्ने काम कहिँ कतैबाट भएको देखिँदैन । उक्त घटनामा प्रेस स्वतन्त्रताका नाममा पक्षधरता र कलम हातमा छ भन्ने नाममा मौका ढुक्ने नियोजित खेल भएको भनेर मिडियाभन्दा बाहिर यतिबेला टिकाटिप्पणी सुनिन्छ ।
कलेजकै सहकर्मी शिक्षकका अनुसार संग्रौलाले विद्यार्थीलाई व्यावहारिक उदाहरण दिएर बोलीचालीमा निर्दोष शिक्षकपन उच्चारण गरेको वचनलाई लिएर यौन दुव्र्यवहार, हिंसा, अश्लिलताको संगीन लाञ्छना लगाइयो । यो प्रकरणलाई उछाल्न एउटा तुच्छ स्वार्थ समूह लामो समयदेखि प्राध्यापक संग्रौला र केएसएललाई योजनाबद्ध बदनाम गराउन उद्धत रहेको चर्चा कानुन र न्याय क्षेत्रमा यतिबेला चर्चा छ । त्यही समूहले एकजना पात्रलाई प्रयोग गरेर संग्रौला र संस्थाविरुद्ध बदनामीको हिलो छ्याप्ने प्रयास गरेको भनिन्छ ।
एकपक्षीय रुपमा आरोपित गर्न परपीडक समूह यतिबेला सक्रिय छ । हुनसक्छ, काठमाडौं स्कुल अफ ल र संग्रौलालाई अनैतिक र असफल करार गर्न सके अन्यत्र ल कलेजमा विद्यार्थीहरु तान्न सकिन्छ कि भन्ने कुत्सित मनसायले पनि काम गरेको होओस् ।
स्वार्थ समूहले केएसएलकै केही विद्यार्थी, चेला चपेटाहरु प्रयोग गरेर प्रा.संग्रौलाको व्यक्तित्व र प्रतिष्ठित संस्थाविरुद्ध धावा बोल्न मौकाको उपयोग गरिरहेको देखिन्छ । ‘के निहुँ पाउँ, कनिका बुक्याऔं’ भनेर बसेको एउटा सानो स्वार्थ समूहले विद्यार्थी तान्ने मौका छोप्न काठमाडौं स्कुल अफ लको विरुद्धमा धाबा बोल्न खोजेको पनि कतिपयको अनुमान छ ।
उनीहरुबाट केएसएलमै अध्ययन गरेका कतिपय विद्यार्थीहरु पनि प्रयोग गरिए कि भन्ने आशंका पनि छ । काठमाडौं स्कुल अफ ल ले अढाई दशकमै गरेको चामत्कारिक रुपमा गरेको लोभलाग्दो प्रगतिबाट परपीडक मानसिकताका केही पात्र र प्रवृत्तिहरु सायद छटपटिएको त्यहाँका शिक्षकहरुको बुझाइ छ ।
उनै वैरीहरुको ‘इर्द गिर्द’ समूहले यतिबेला हिलो छ्याप्ने कुत्सित मनसायले निसाना साँधिएको घटनाक्रमले पनि देखाउँछ । यो घटनामा संग्रौलाको सक्रियताबाट तर्सिएका ‘पीडक आत्मा’ हरु एकसाथ जाइलागेको प्राध्यापक स्वयम् बताउँछन् । नकरात्मकता भित्रै पनि हात लागेको एउटा सकारात्मक भनौं– संग्रौलाका वैरीहरु यसपल्ट छरपस्ट भएका हुन् ।
संग्रौला र उनी नेतृत्वको संस्थामाथि लगाइएको लान्छना अमूर्त र अपुष्ट हुनुले पनि सुनियोजित रहेको गन्ध आउँछ । अपुष्ट आरोपको आक्रमण हुँदै गर्दा मिडियाबाट समेत सामाजिक मर्यादाविरुद्ध हुने विषयको हेक्का नराखी एकोहोरो प्रहार किन भयो ? मूलधारको दाबी गर्ने कतिपय मिडियाहरूले समेत समाचार लेख्नुअघि कम्तीमा तथ्यहरूको जाँच गर्नुपर्ने सामान्य नियमलाई समेत यो विषयमा ठाडो अनदेखा गरेका छन् ।
विशेषगरी संग्रौलामाथि नियोजित तथा संगठित योजना अनुरुप ‘मिडिया ट्रायल’ भएको भन्दै मिडियाभित्रै पनि यतिबेला गम्भीर चिन्तासँगै दुःख मनाउ भएको सुनिन्छ । यो प्रकरणले सामाजिक सञ्जालमार्फत् कुनै व्यक्तिले लाञ्चछनायुक्त, झुटा र तथ्यहीन आरोप लगाए पनि समाचारको विषय हुन्छ ? वा त्यही नै अन्तिम सत्य हो ? भन्ने प्रश्न गम्भीर रुपमा तेर्सिएको छ ।
कक्षा कोठामा शिक्षा दिनेक्रममा सार्वजनिक रुपमा दिइएको उदाहरणजन्य अभिव्यक्ति, विद्यार्थीहरूलाई केटा साथी÷केटी साथी बनाउनमा लाग्नुभन्दा करियरमा ‘फोकस’ गर भनेर प्रायः सबैलाई दिने अभिभावकीय सुझावलाई अतिरञ्जित गरी यौनदुव्र्यवहार भएको आरोपको कथा बुनिएको शिक्षकहरुको बुझाई छ । एकपक्षीय आरोपका कारण दशकौँको संघर्षबाट स्थापित शैक्षिक संस्थाको प्रतिष्ठा धुमिल तुल्याउने कार्य विभिन्न क्षेत्रका ‘विद्धान भनाउँदा’ हरुबाटै भएको छ ।
कसैमाथि वास्तविक रुपमा अन्याय नै भएको अवस्थामा छानबिनका लागि राज्यबाट स्थापित न्याय प्रणाली ज्युँदो छ । तर ठाडै ‘मिडिया ट्रायल’ बाट आक्रमण सुरु गरियो । प्राध्यापक संग्रौलाले सार्वजनिक रुपमै आफू जस्तोसुकै अनुसन्धान र छानबिनका लागि तयार भएको बताइसक्दा पनि आरोपको श्रृङ्खला नरोकिनुले षड्यन्त्र होइन, थिएन भनेर कसरी भन्ने ?
टिप्पणीहरू