महानगरमा खैलाबैला मच्चाएर बालेन बेपत्ता

महानगरमा खैलाबैला मच्चाएर बालेन बेपत्ता

‘विधिको शासन कि शासकको विधि ?’ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको आजको हर्कतपछि पुनः यो प्रश्नमा बहस छेडिएको छ । आज बिहानैदेखि महानगर तनावपूर्ण अवस्थामा रह्यो । मेयरले वडाध्यक्ष,कार्यपालिका सदस्य र कर्मचारीमाथि बलजफ्ती गरेर चलाउन खोजेको शासनको प्रतिरोध गर्न सबै एकढिक्का भए । 

अन्ततः विधि मिच्नेको होइन,विधिमा चल्नेको जित भएको छ । विधिविधान कुल्चिएर महानगरमा आफ्नो एकल शासन चलाउँदै आएका मेयर बालेनको ‘ईगो’ का कारण कर्मचारीले महिनौंदेखि तलब पाएका थिएनन् । उता, शिक्षकहरुको पाँच महिनादेखिको तलब रोकिएको थियो । तर,बालेन समस्या सुल्झाउन भन्दा पनि बल्झाउनतर्फ बढी केन्द्रित भए । जसको परिणाम आज महानगरमा देखियो । 

वडा नम्बर २८ स्थित पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं टावरको नक्सा प्रक्रिया पुरा नगरिकन स्वीकृत गरेको भन्दै बालेनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई धपाएका थिए । संघ सरकारबाट पठाइएका सह सचिवस्तरका कर्मचारी गुरागाईँमाथि छानबिन गर्न समिति गठन गरे । जुन हरहिसाबमा गैरकानुनी थियो । गुरागाईँलाई जबरजस्ती बिदामा बस्न लगाइयो । 

छानबिन समितिले अनुसन्धान गरे पनि कतैबाट दोष निकाल्ने ठाउँ पाएन । निष्कर्ष निकाल्ने तयारी हुँदै गर्दा मेयरले छानबिन समिति ‘डिसमिस’ गरिदिए । आधा अधुरै रहेको प्रतिवेदन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पठाइएको महानगरको दाबी छ । संघीय राजधानीको प्रमुख स्थानीय पालिका प्रमुख प्रशासकीय अधिकृतविहिन भएपछि विकासका काम अवरोध भए ।

‘यो तमासा हामीले हेर्नुपर्ने ? मेयरको लिखित आदेश हो भने मेयर अघि आउनुपर्छ । होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन । पहिला आजको विषय समाधान गर्छौं । त्यसपछि बोर्ड बैठक बस्छौँ । आजका लागि यो समस्या समाधान गर्नुपर्छ ।’ 

अर्बौंको बजेट सञ्चालन गर्ने महानगरका कर्मचारीले तलब पाउन सकेनन् । मन्त्रालयले गुरागाईँलाई नै प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गर्न दिन भने पनि बालेनले मानेनन् । बरु,महानगरकै कर्मचारीलाई आर्थिक अधिकार दिन माग गरे । तलब नपाएका ‘भोका’  कर्मचारीहरुले समाधानका लागि पटक पटक बालेनको ध्यानाकर्षण गराए । 

तर,उनी सम्बन्धित निकायसँग छलफलभन्दा पनि सामाजिक सञ्जालमा ‘स्टण्टबाजी’ देखाउनमै व्यस्त भए । सँधैझैं सामाजिक सञ्जालबाट आगो ओकले । आफ्नो पदीय मर्यादाको ख्यालसमेत नगरी ‘गाड्दिन्छु’ जस्तो शब्दको प्रयोग गरेर स्ट्याट्स लेखे । 

एक साताअघि उनले फेसबुकमा लेखे,‘काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले ३ महिनादेखि तलब पाएको छैन,सरकारको दम्भले !, को कोले के के आन्दोलन गर्ने हो,मलाई थाहा छैन,अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु !’ गुरागाईँलाई कुनै पनि हालतमा नस्वीकार्ने अडान कसेका बालेनको लाखौं प्रयासका बाबजुद आज महानगरमा उही गुरागाईँको ‘ईन्ट्री’ भएको छ ।

मन्त्रालयले गुरागाईँलाई नै महानगरमा पठाउने तयारी गरेपछि बालेनले बिहानै प्रमुख प्रशासकीय अधिकृतको कार्यालयमा तालाबन्दी गरे । प्रशासकीय अधिकृत चढ्ने गाडीमा ह्विललक लगाइयो । ठूलो संख्यामा नगरप्रहरी महानगरको गेटमा परिचालन गरियो । गुरागाईँलाई छिर्न नदिने कसरतमा रहेका बालेन भने बिहानैदेखि लापता छन् । 

ताला लगाएर उनी कहाँ गए ? भन्ने विषयमा महानगरका कर्मचारी नै बेखबर छन् । यता,२० जना वडाध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीको जोडबलमा प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेश गराएरै छाडियो । कार्यकक्षको ताला फुटाएर उनले पुनःबहाली गरेका छन् । सो क्रममा ढोकाको सिसा फुटेको छ । कार्यालयमा घम्साघम्सी परेपछि उपमेयर सुनिता डंगोलले वडाध्यक्ष र कार्यपालिका सदस्यहरुको बैठक बोलाएर बालेनलाई चेतावनी दिएकी छन् । 

महानगरबासीको हित चाहने हो भने सबै एकजुट हुनुपर्ने उनको जिकिर छ । कोठामा बसेर आदेश गर्न सक्ने व्यक्ति अगाडि पनि आउनुपर्ने उनले बताइन् । उनले भनिन्,‘यो तमासा हामीले हेर्नुपर्ने ? मेयरको लिखित आदेश हो भने मेयर अघि आउनुपर्छ । होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन । पहिला आजको विषय समाधान गर्छौं । त्यसपछि बोर्ड बैठक बस्छौँ । आजका लागि यो समस्या समाधान गर्नुपर्छ ।’

वडा नम्बर २२ का वडाध्यक्ष चिनकाजी महर्जनले विधिविरोधी कार्य स्वीकार्य नहुने बताए । देशमा कानुन भएको उल्लेख गर्दै उनले मेयरले पनि सो कानुनको पालना गर्नुपर्ने जनाए । जनआस्थासँग उनले भने,‘देशमा कानुन छ । यदि उनले गल्ती नै गरेको हो भने कानुनबमोजिम अगाडि बढ्नुपर्छ । जबरजस्ती बिदामा बस्न लगाउने, कार्यकक्षमा ताला लगाउने,चाबी खोस्ने, ह्विललक लगाउने के यो विधिको शासन हो ?’

विधिको शासनको जित भएको भन्दै उनले खुशी व्यक्त गरे । महानगर सबैको घर भएको बताउँदै उनी भन्छन्,‘महानगर उहाँको निजी घर होइन । हामी सबैको हो । तर, उहाँले आज हामीलाई हाम्रो घरमा प्रवेश गर्न रोक लगाउनुभयो । हामीमाथि दुर्व्यवहार भयो । प्रमुख प्रशासकीय अधिकृत नहुँदा भुक्तानीका समस्या बल्झिएका छन् । तर,मेयरलाई कुनै फरक परेको छैन । महानगरमा आतंक मच्चाएर उहाँ गुमनाम हुनुभएको छ ।’ 

स्रोतका अनुसार मेयर पाँचखाल घुम्न गएका छन् । यद्यपि, महानगरले भने त्यसविषयमा कुनै जानकारी नभएको बताएको छ । सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले आफू कार्यालयमै नभएको बताए । ‘म आज अफिस गएको छैन, त्यसैले मेयर हुनुहुन्छ कि हुनुहुन्न थाहा भएन’,उनले भने । प्रमुख प्रशासकीय अधिकृतको विषयलाई हारजित बनाएका बालेनको सचिवालयले पार्टीको कार्यकर्ताले गुरागाईँलाई हाजिर गराएको आरोप लगाएको छ । 

पोशाकधारी पार्टीका कार्यकर्ताले भ्रष्टाचारमा मुछिएका कर्मचारीलाई हाजिर गराएको र गुरागाईँ दोषी देखिए उनलाई हाजिर गराउने पनि दोषी हुने सचिवालयको भनाइ छ । आजको हर्कतले बालेनको सामाजिक सञ्जालमा खोइरो खनिएको छ । ‘स्ट्याट्स’ को भरमा दम्भ देखाउन नपाइने सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको भनाइ छ । 

अमर माझी लेख्छन्,‘यदि हाकिमको गल्ती थियो भने त्यसलाई छानबिन गर्न सम्बन्धित निकाय छन्, होइन भने स्ट्याट्सको भरमा महानगरपालिकाको काम प्रभावित गर्नु राम्रो होइन ।’ त्यसैगरी, मदन मल्लले कोठामा लुकेर र फेसबुकमा भुकेर समस्या पार नलाग्ने बताएका छन् । उनले लेखेका छन्,‘कोठामा लुकेर, फेसबुकमा भुकेर होइन्, वाद संवादबाट समस्याको समाधान खोज्नुपर्छ । मेयरजस्तो गरिमामय पदमा बसेको व्यक्ति दम्भ र घमण्डी होइन्, जिम्मेवार र जवाफदेही भई हरेक समस्याको समाधान गर्नुपर्छ ।’

टिप्पणीहरू