कलम चलाउने सात जना सम्मानित हुँदै

चितवनको भरतपुर महानगरपालिकाले कलमको माध्यमबाट समाजमा योगदान पुर्याएका विशिष्ट व्यक्तिहरुलाई सम्मान गर्ने भएको छ । महानगर प्रज्ञा प्रतिष्ठानद्वारा प्रदान गरिने विभिन्न पुरस्कार तथा सम्मानका लागि प्रतिभा तथा स्रष्टाहरुको छनौटसमेत भइसकेको छ ।
एक लाख रुपैयाँ बराबरको नारायणी प्रज्ञा सम्मान भरतपुर–१२ निवासी त्रिभुवन विश्वविद्यालयका प्राध्यापक कपिल अज्ञातलाई दिन लागिएको प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलियाले जानकारी दिए । लामो समय नेपाली भाषा, कला, साहित्य र संस्कृतिमा योगदान पुर्याएबापत उनलाई यो सम्मान गर्न लागेको उनको भनाई छ ।
कृष्ण बम मल्ल प्रज्ञा सम्मानबाट भरतपुर–८ निवासी समाजशास्त्री प्रा.डा. देवीप्रसाद कंडेल पुरस्कृत हुँदैछन् । भरतपुर प्रज्ञा सम्मान भरतपुर–९ का मूर्तिकार सूर्य मध्यरातलाई दिन लागिएको छ । प्रतिष्ठानले आज एक प्रेस विज्ञप्तिमार्फत् यी दुवै पुरस्कारको राशि रु. ५०-५० हजार रहेको बताएको छ ।
निबन्ध विधामा भरतपुर–१५ निवासी स्रष्टा रमेश प्रभात सम्मानित हुँदैछन् । उनलाई ‘अलिकति फरक कुरा’ (निसमालोचना संग्रह) को लागि भरतपुर प्रज्ञा पुरस्कारबाट सम्मान गर्न लागिएको सदस्य सचिवले बताए ।
काव्य विधाको भरतपुर प्रज्ञा पुरस्कार वडा नं ५ निवासी गणेश श्रमणले पाउने विज्ञप्तिमा उल्लेख छ । उनको ‘आगो लिएर गाउँ गाउँमा’ (कविता सङ्ग्रह) बाट उनलाई यो सम्मान प्रदान गर्न लागिएको प्रतिष्ठानले बताएको छ ।
भरतपुर प्रज्ञा पुरस्कार सम्मानका लागि आख्यानतर्फ बाँसुरीको धुन (कथासङ्ग्रह) का सर्जक भरतपुर–४ निवासी टीकाराम रेग्मी छनौटमा परेका छन् भने निबन्ध संग्रह ‘अन्तर्मनका रड्डहरु’ले भरतपुर–१६ की स्रष्टा खिमा रिजाललाई सम्मानित गरिनेछ । खिमालाई बागीश्वरी प्रज्ञा पुरस्कारबाट सम्मान गर्न लागिएको हो ।
उल्लेखित भरतपुर प्रज्ञा पुरस्कार र वागीश्वरी प्रज्ञाको पनि पुरस्कार राशि जनही रु. २५ हजार रहेको जनाइएको छ । प्रेस विज्ञप्तिमा यी सबै सम्मान तथा पुरस्कारहरु निकट भविष्यमै प्रदान गर्ने बताइएको छ ।
टिप्पणीहरू