बालेनको फौजलाई के हुने कारबाही ?

बालेनको फौजलाई के हुने कारबाही ?

गृह मन्त्रालयले सुरक्षा निकायको पोशाक र दर्ज्यानी चिह्न नक्कल गर्नेलाई कारबाहीको निर्देशन दिएको छ । देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै मन्त्रालयले सुरक्षा निकायसँग मिल्दोजुल्दो पोशाक र दर्ज्यानी चिह्न लगाउनेलाई कारबाही गर्न निर्देशन दिएको हो ।

पछिल्लो समय सुरक्षा निकायको पोशाक र दर्ज्यानी चिह्न नक्कल वा दुरुपयोग गर्ने क्रम बढ्दो छ । अहिले कतिपय स्थानीय तहले नै मुलुकको प्रमुख सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको पोशाक र दर्ज्यानी चिह्नको नक्कल गरेको पाइन्छ । 

यसको ज्वलन्त उदाहरण, काठमाडौं महानगरपालिका पनि हो । मेयर बालेन्द्र साह (बालेन) को फौजले लगाउने पोशाक देशको प्रमुख सुरक्षा निकायसँग मेल खाने खालको छ । ठ्याक्कै सेनाको जस्तै देखिने पोशाक महानगर प्रहरीको छ । 

यससम्बन्धमा जनआस्थाले समाचारसमेत लेखेको थियो । जनआस्था साप्ताहिकको गत माघ ९ गते ‘सेनाको बर्दी,बालेनकै मुन्तिर मनपर्दी’ समाचार प्रकाशित भएको थियो । त्यसपछि गृह मन्त्रालयले सुरक्षा निकायको पोशाक तथा दर्ज्यानी चिह्नमा कडाई गरेको हो । मन्त्रालयले कोही कसैले पनि सुरक्षा निकायको पोशाक तथा दर्ज्यानी चिह्न नक्कल गरेमा कारबाही गर्न ठाडो निर्देशन दिएको छ ।

परिपत्रमा भनिएको छ, ‘नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालले प्रचलित कानूनबमोजिम हाल प्रयोग गर्दै आएको पोशाक तथा दर्ज्यानी चिह्नहरुसँग मिल्दोजुल्दो हुने गरी विभिन्न सरकारी तथा गैरसरकारी र निजी सुरक्षा संघ, संस्थाहरुका सुरक्षा गार्डहरुलेसमेत पोशाक र दर्ज्यानी चिह्न प्रयोग गरेको पाइएको हुँदा सो कार्यबाट आम नागरिकहरुमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालमा कार्यरत प्रहरी कर्मचारीहरुको पोशाक तथा दर्ज्यानी चिह्न सम्बन्धमा द्धिविधा या भ्रम उत्पन्न भई कतिपय अवस्थामा आपराधिक क्रियाकलाप तथा अप्रिय घटनाहरु हुने तथा शान्ति सुरक्षा कायम गर्ने गराउनेलगायतका सुरक्षा निकायबाट हुने गतिविधिमा आधा व्यवधानसमेत उत्पन्न हुने अवस्था सिर्जना भएकोले यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्नका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले प्रचलित कानूनबमोजिम प्रयोग गर्दै आएको पोशाक र दर्ज्यानी चिह्नसँग मिल्दोजुल्दो हुनेगरी सरकारी वा गैरसरकारी निकाय, संघसंस्था र कोही कसैले पनि प्रयोग नगर्ने नगराउने तथा कसैले प्रयोग गरेमा प्रचलित कानूनबमोजिम कारबाही गर्नू ।’

टिप्पणीहरू