ठगहरुलाई विश्वास गरेपछिको दुःखद् परिणाम

ठगहरुलाई विश्वास गरेपछिको दुःखद् परिणाम
सुन्नुहोस्

वैदेशिक रोजगारीमा क्यानडा पठाइदिने भन्दै ठगी गर्ने गिरोह समातिएको छ । जिल्ला प्रहरी कार्यालय, मोरङले उक्त गिरोहका पाँच जनालाई नियन्त्रणमा लिएको हो । विभिन्न सामाजिक सञ्जालको माध्यमबाट वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिने विज्ञापन पठाएर उनीहरुले बाबुछोराबाट ६७ लाख ठगेका हुन् ।

ठगहरुले ह्वाट्सएप, टेलिग्राम, भाइबर आदिबाट वैदेशिक रोजगारीको विज्ञापन पठाउँथे । विराटनगर महानगरपालिका–११ का महेशकुमार चौधरी र उनका छोरा युपेशकुमार चौधरीले विज्ञापन देखेपछि सम्पर्क गरे । भीसा प्रयोजनका लागि कागजात मागेपछि आफुहरु विश्वासमा परेको बताए । 

पटकपटक गरेर उनीहरुको खातामा ६६ लाख ६७ हजार रुपैयाँ जम्मा गरे । रकम लिएर पनि तोकिएको मितिमा क्यानडा नपठाएपछि बाबुछोराले प्रहरीमा ठगीको जाहेरी दिएका हुन् । 

त्यसपछि एक भारतीयसहित चार नेपाली पक्राउ परेका छन् । प्रहरीले भारत बिहारका २३ वर्षीय केशव यादव, कटहरी गाउँपालिका–३ का २२ वर्षीय रोहितकुमार पासवान, विराटनगर महानगरपालिका–८ का २३ वर्षीय अमित राय, ३० वर्षीय बुद्धनारायण मलाह र पथरी शनिश्चरे नगरपालिका–५ का २५ वर्षीय बोधराज राजवंशी छन् ।  

मोरङ प्रहरी प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका अनुसार उनीहरुले वैदेशिक रोजगारीका लागि युरोप, अमेरिका, कुबेत, दुबईलगायतका मुलुक पठाइदिने भन्दै अनलाइनमार्फत ठगी गर्दै आएका थिए । यादवले विभिन्न व्यक्तिको नाममा खोलिएको ई–सेवा, खल्तीलगायतका डिजिटल वालेटमा पैसा हाल्न लगाउने गरेको तथ्य खुलेको छ । अनुसन्धानको क्रममा अन्य धेरैलाई ठगेको पाइएको डिएसपी जोशीले बताए ।

टिप्पणीहरू