रोयल सेन्चुरी पुगेपछि हरायो फुटपाथ, भरतपुरको सडकमा समस्याको खात

रोयल सेन्चुरी पुगेपछि हरायो फुटपाथ, भरतपुरको सडकमा समस्याको खात

चितवनको भरतपुरमा नारायणगढ बजारदेखि माथिसम्मका थुप्रै घरहरुमा डोजर चलाएर अगाडि बढाइएको ‘सिक्स लेन’ सडकको काम अन्तिम चरणमा पुग्दै गर्दा समस्या झन् देखिएको छ । अन्यत्र सबैजसो ठाउँमा सडकपेटीमा टायलसमेत बिछ्याइसकेको भएपनि भरतपुर ओरालोमा रोयल सेन्चुरी अगाडिको अवस्था अलपत्र नै छ । 

भरतपुर महानगरपालिका कार्यालयकै अगाडिपट्टि रहेको होटल रोयल सेन्चुरीले सडकपेटी ओगटेर बनाएको संरचना अहिलेसम्म नहटाउँदा फुटपाथको काम पूरा हुन नसकेको बताइन्छ । सडक कार्यालयले हटाउन आग्रह गरेपनि रोयल सेन्चुरीले टेरेको छैन ।

नजिकैको भाटभटेनी सुपरमार्केट अगाडि फुटपाथ बिछ्याइसकिएको छ । तर प्रयोग भने सवारी साधनको पार्किङको रुपमा भइरहेको छ । ओरालोमा सोही साइडमा रहेको मःमः रेष्टुरेन्ट अगाडि पनि पैदलयात्री हिँड्ने फुटपाथ सवारीसाधन पार्किङ गर्ने थलो बनेको छ । नारायणगढ बजारतिर सर्भिसलेनलाई नै पार्किङस्थल बनाइएको छ ।

सडक नियमानुसार लामो दूरीका सवारीसाधन चल्न बनाइएको एक्सप्रेस लेनमा यात्रु चढाउन र झार्न मिल्दैन । म्याजिक, अटो जस्ता साना, छोटोदूरीका लोकल सवारी साधन चल्न एवम् यात्रुहरु चढाउन र ओराल्न बनाइएको सर्भिस लेन पार्किङले नै ओगट्दा उद्देश्य अनुरुप सञ्चालनमा आउन कठिनाइ भइरहेको बताइन्छ । 

नारायणगढमा सर्भिस लेनमा एक–एकतर्फी पार्किङ दुवै साइडमा गरिएको छ । पुल्चोकतिर एउटै सर्भिस लेनमा पनि दुईतर्फी रुपमा मोटरसाइकल, कारहरु पार्किङ गरिएको देख्न सकिन्छ । मेनरोड, मिलनरोड, बेलचोक, कमलनगर सबैतिर भित्री सडकहरुमा पनि पसलहरुअगाडि सडक किनारामै पार्किङ हुँदै आएको छ । 

भरतपुर बजार क्षेत्रमा पहिल्यैदेखि पार्किङको अत्यन्त ठूलो समस्या छ । फराकिलो, ठूलो व्यवस्थित ठाउँ नहुँदा फुटपाथ र सडकपेटीमै पार्किङ गर्नुपर्ने बाध्यतासँगै सडकमा अस्तव्यस्तता हुने गरेको पाइन्छ । नारायणगढमा केही वर्षअघि यसलाई व्यवस्थित बनाउन महानगरपालिकाले राम मिष्ठान्न भण्डार पछाडि, गणेशहलतिर पार्किङ एरिया छुट्याइदिएको भएपनि खासै प्रयोगमा आउन सकेन । महानगर प्रहरीको आँखा छल्दै अहिलेपनि फुटपाथमा सामान राखी फाट्टफुट्ट व्यापार भइरहेको र साईकल, ठेला, अटोरिक्साहरुमा सामान बोकी सडक क्षेत्रमै समेत व्यापार हुँदा सडकजाम हुने गरेको छ ।

स्मार्ट सिटी भन्ने गरिएको भरतपुरमा सवारी साधन पनि व्यवस्थित र उपयुक्त ढंगले चलेका छैनन् । अटो रिक्सामा मनपरी भाडा लिने गरिन्छ नै । आठ जनाको लागि बनेको म्याजिक गाडीमा तीन–तीन जनाको सिटमा चार–चार जना र मुढासमेत राखी अनिवार्यझैँ १२–१४ जना यात्रु खाँदेर चलाइने अवस्था पनि उस्तै छ । म्

याजिकमा अटेसमटेस गरी अरु यात्रुहरुसँग खुट्टामाथि खुट्टा राखेर, घुँडा–तिघ्रा खापेर काखमैजसरी बस्नुपर्ने अवस्थाले श्रीमान श्रीमती सँगै हिँड्न पनि बिजोग छ । तर भरतपुरमा रिंगरोडलगायत छोटो दूरीमा चल्ने सार्वजनिक सवारीसाधन भनेकै उही म्याजिक र अटो मात्रै हुन् । 

अटोरिक्सा त कुरै छोडौं, म्याजिकले समेत सानो गाडी भन्दै भाडामा छुट नदिँदा यतातिर वर्षाैंदेखि विद्यार्थीहरु भाडामा पाउने सहुलियतबाट पनि वञ्चित छन् । विद्यार्थी अधिकारको विषयमा स्थानीय सरकारले चासो दिएको देखिँदैन ।

छ लेनको सडकमा चितवन मेडिकल कलेज अगाडि रोड मेडियन नै भत्काएर इन्टरसेक्सन बनाइएपछि अन्यत्र पनि व्यापारी–व्यवसायीहरुले ओपनिङ चाहियो भनेर कराउनु अस्वाभाविक होइन । अन्त पनि कतैकतै सर्भिस लेन र फुटपाथ भत्काई बाटो निकालिएको छ । 

एसियाली मापदण्डको सडक विस्तार योजनामा प्रतिकूल असर पर्नेगरी चितवन मेडिकल कलेज (सिएमसी) अगाडि जबरजस्ती ओपनिङ खोलिएपछि दुर्घटनाको जोखिम बढेको भन्दै सडक डिभिजन कार्यालय भरतपुरले नयाँ बहस थालेको छ । कहाँ–कहाँ ओपनिङ आवश्यक छ, कहाँ छैन भनी प्रिजेन्टेसनसहित सिडिओ र भरतपुर महानगरपालिका कार्यालयसँग छलफल कार्यक्रम गरी अनावश्यक ओपनिङहरु बन्द गराउने सम्बन्धमा अघि बढाइएको प्रक्रिया अहिलेसम्म कुरोमै सीमित छ । हेरौं, अगाडि के हुने हो ? 

टिप्पणीहरू