अध्यादेश अस्वीकार गर्ने विपक्षी दलको निर्णय
![अध्यादेश अस्वीकार गर्ने विपक्षी दलको निर्णय](https://janaaastha.prixacdn.net/media/albums/474707721_2150376398693621_270943637737077734_n_rRZgEiFMpY.jpg)
विपक्षी दलहरुले हालै जारी भएका अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन् । सिंहदरबास्थित नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालयमा आज बिहान बसेको विपक्षी दलको संयुक्त बैठकले सरकारले ल्याएको अध्यादेशविरुद्ध संसदमा एकजुट भएर आवाज उठाउने निर्णय गरेको हो ।
संसद्को हिउँदे अधिवेशन भोलिदेखि शुरु हुँदैछ । संसदमा यौटै मतका साथ प्रस्तुत हुने तयारीमा रहेका विपक्षीहरुले साझा धारणा तय गर्न बैठक राखेका हुन् । मुख्यत: अध्यादेश र सरकारको ६ महिने कार्यकालमा भएका बेतिथीबारे कुरा उठाउने उनीहरुले जनाएका छन् ।
सरकारले सुनियोजित ढंगबाट अध्यादेश ल्याएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बताए । बैठकको निष्कर्ष सुनाउँदै भने, ‘समितिमै छलफल भएको विधेयकलाई पनि मिनिमाइज गरेर अध्यादेश ल्याएको छ, यसलाई अस्वीकार गर्दै सबै विपक्षी दलहरूले गलत भयो भन्ने निष्कर्ष निकालेका छौँ ।’
सरकारले ल्याएको अध्यादेश प्रक्रियागत रुपमा पनि गलत रहेको पाण्डेको दावी छ । ‘सरकारले सदन बोलाउने बेलामा नै जसरी अध्यादेश ल्याएको छ, यो प्रक्रियाका हिसाबले पनि गलत छ’, उनले थपे ।
त्यस्तै, जनताको दैनिक जीवनसँग जोडिएका महंगी, कालोबजारी, भ्रष्टाचार, सुशासनलगायतको विषयमा पनि आवाज उठाउने निर्णय गरेको उनले जानकारी दिए ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद (डिपी) अर्याल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव र राष्ट्रिय प्रजातन्त्र पार्टी (रापपा) का नेताहरु सहभागी थिए ।
टिप्पणीहरू