मन्त्रीलाई डाक्टरको अल्टिमेटम

चिकित्सा शिक्षा संघर्ष अभियानले सरकारले हालै तोकेको आवासीय चिकित्सकको निर्वाह भत्ता तत्काल फिर्ता नलिए संघर्षमा उत्रिने चेतावनी दिएको छ ।
केही दिनअघि शिक्षा र स्वास्थ्य मन्त्रीस्तरीय निर्णयबाट तोकिएको निर्वाह भत्ताप्रति आपत्ति जनाउँदै अभियानले तत्काल फिर्ता नलिएमा आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने बताएको छ ।
केही मेडिकल सञ्चालकलाई खुशी बनाउने हिसाबले हजारौं निजी मेडिकल तथा पारामेडिकलमा अध्ययनरत विद्यार्थीलाई निराशा बनाएर गरिएको उक्त निर्णय कदापि स्वीकार्य नहुने अभियानद्धारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
‘सम्पूर्ण फेकल्टी, पीजी र इन्टर्न विद्यार्थीहरुका मागलाई नसमेटिकनै मेडिकल बिचौलियाको आडमा मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्र चलाउने कोशिस गरेमा अभियान विद्यार्थीहरुका साथमा जुनसुकै समयमा आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ ।
गत माघ १४ गते शिक्षामन्त्री विद्या भट्टराई र स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आवासीय चिकित्सकका लागि नयाँ निर्वाह भत्ता तोकेका थिए । त्यसअघि सरकारले गरेको ४८ हजारको सम्झौताविपरीत मन्त्रीद्धयले निजी मेडिकल कलेजमा सःशुल्क अध्ययन गर्ने स्नातकोत्तर तहका आवासीय चिकित्सकलाई पहिलो वर्ष २५ हजार, दोस्रो वर्ष ३० हजार र तेस्रो वर्ष ३५ हजार रुपैयाँका दरले निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेका थिए ।
टिप्पणीहरू