अछाममा दुई किशोरी मारिएकै ठहर

अछाममा दुई किशोरी मारिएकै ठहर
सुन्नुहोस्

अछाममा दुई जना किशोरी मृत्यु प्रकरण हत्या नै भएको प्रहरीले ठहर्याएको छ । केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी,प्रदेश प्रहरी कार्यालय र अछाम प्रहरीले संयुक्त रूपमा अनुसन्धान गरिरहेको उक्त हत्याकाण्डको आरोपी चाँडै सार्वजनिक गर्ने तयारी प्रहरीको छ ।

जिल्लाको ढकारी गाउँपालिका ८ की सरस्वती खड्का र ईशरा खड्काको शव गएको शनिवार ढकारी १ को चिन्ने ओडार जङ्गलमा फेला परेको थियो ।
उक्त हत्याकाण्डको अनुसन्धानमा रहेको प्रहरीले केही दिनमा हत्यारा सार्वजनिक गर्ने तयारी गरेको हो । बुधवार मृतकका आफन्त भेट्न ढकारी पुगेका प्रदेश प्रहरी प्रमुख डिआइजी गणेश चन्दले हत्यारालाई कानुनी कारबाही हुने बताए । उनले उक्त घटना हत्या भएको सङ्केत गर्दै भने 'हामी अपराधीलाई छोड्दैनौँ,अपराधीलाई कडा कारबाही हुन्छ । बरु आशङ्का लागेका अन्य व्यक्तिको जानकारी  हामीलाई दिनुस् ।'

डिआइजी चन्दको उक्त भनाइमा किशोरीको मृत्यु दुर्घटना नभएको पुष्टि भएको छ ।अछाम प्रहरीको हिरासतमा रहेका दुई जनाले समेत घटनामा आफ्नो संलग्नता स्वीकार गरेको श्रोतले बताएको छ । उनीहरूले साबिती बयान दिए पनि प्रहरीले प्रमाण सङ्कलन गरिरहेको बुझिएको छ ।

आफन्तले हत्या नै भएको दाबी गरेर दुई जनाविरुद्ध किटानी जाहेरी गरेका छन् ।

टिप्पणीहरू