चीनबाट नेपाली चेलीहरूको चित्कार

चीनबाट नेपाली चेलीहरूको चित्कार
सुन्नुहोस्

विभिन्न प्रलोभन देखाएर नेपाली चेलीलाई खाडीमा लगी वेश्यावृत्तिमा लगाइन्छ, शारीरिक र मानसिक यातना दिइन्छ । मलेसिया र खाडीमा नेपाली महिला पीडित बन्ने क्रम बढेपछि सरकारले त्यता जान कडाइ गरेको छ । छिमेकी मुलुक चीनसहित कोरिया, फिलिपिन्स, भियतनामलगायतमा नेपाली चेलीको तस्करी हुने क्रम रोकिएको छैन । वर्षेनि सयौं महिला चीनमै बेचिने, उता लगेर शारीरिक र मानसिक यातना दिने क्रम बढेसँगै काठमाडौं जिल्ला अदालतले हालै एक चिनियाँका नाममा ३५ दिने म्याद जारी गरेको छ । 

नेपाली युवतीसँग विवाह गरेका मङ चोङ्छीले श्रीमतीलाई यातना दिँदै आएका थिए । हबेई प्रान्तको छियाङ्दु जिल्लाअन्तर्गत छिन्तल शहर बस्ने मेङ जेन्जियानका २९ वर्षीय छोरा उनको पासपोर्ट नम्बर ईजे ८१०७५९१ हो । उनीविरुद्ध युवतीले अदालतमा मानव बेचबिखन र यातनाको मुद्दा दायर गरेकी छन् । अचेल चिनियाँ र कोरियाली युवकसँग नेपाली युवतीले धमाधम लगनगाँठो कसिरहेको अदालतको तथ्याङ्कले देखाएको छ । काठमाडौं जिल्ला अदालतमा मात्रै डेढ वर्षमा झण्डै डेढ सय नेपाली र चिनियाँको विवाह दर्ता भएको छ । 

चीन लैजानेबित्तिकै मोबाइल फोन खोसिदिने, कुटपिट गर्ने, जबरजस्ती यौन सम्पर्क राख्ने, कोठामा थुन्नेलगायतका यातना दिने गरिएको छ । नेपाली महिलालाई वेश्यावृत्तिमा समेत लगाउने गरेको अवस्था छ । कतिपयले भने सन्तानका लागि मात्र नेपाली चेलीसँग विवाह गरेका र सन्तान भएपछि चरम यातना दिएका उदाहरणसमेत छन् । भाषाको समस्याका कारण पीडितहरूले कतै गुहार माग्न सक्ने वातावरण नै छैन । कतिपय पीडित भने जसोतसो नेपाली नियोग पुगेर त्यहींको सहयोगमा फर्किने गरेका पनि छन् । 

महिला फसाउन महिला नै प्रयोग

नेपाली चेली फसाउनका लागि चिनियाँहरूले नेपाली महिलालाई नै प्रयोग गर्दै आएको देखिएको छ । उनीहरूले एक युवतीबापत डेढ लाखदेखि १० लाख रूपैयाँसम्म दिने गरेका छन् । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले दुलही बनाएर नेपाली महिलालाई चीनतिर तस्करी गर्ने एकाधलाई हालै नियन्त्रणमा लिएको छ । धनी चिनियाँसँग विवाह गराइदिने प्रलोभन देखाएर महिलाको तस्करी गर्ने उदयपुरको त्रियुगा नगरपालिका–१, जोगीदहकी ३१ वर्षीया सुन्दरी राईलाई ब्यूरोले समातेको हो । लामो समयदेखि चीन बस्दै आएकी उनले नेपाली युवतीलाई बेहुली बनाएर लगी विकट ठाउँमा बेच्थिन् । सामाजिक सञ्जालमार्फत नेपाली युवतीसँग कुराकानी गर्ने उनले लाइफ सेटल हुने, विवाहपछि केटासँग बस्नैपर्ने बाध्यता नहुने, आफैं रोजगारी गरेर राम्रो आम्दानी गर्न सकिनेलगायतका प्रलोभन देखाउँथिन् ।

युवतीहरू उनको कुरा सुनेर चीन जान लालायित हुन्थे । यता, सुन्दरीले सामाजिक सञ्जालमार्फत भव्य घर, आलिशान जीवनशैलीको तस्बिर देखाउँदै युवतीहरूलाई विवाह गर्न उत्सुक बनाउँथिन् । कुरा पक्कापक्की भएपछि केटा लिएर आउँथिन् र अदालती विवाह गराएर लान्थिन् । ब्यूरोले यसै वर्ष नुवाकोटको किस्पाङ घर भई चीनमै बस्ने ४३ वर्षीय मनमाया घलेलाई पनि पक्राउ गरेको छ । उनले चिनियाँ नागरिकसँग नक्कली विवाह गराएर नेपाली युवतीको तस्करी गर्दै आएकी थिइन् । एक महिलाबापत उनले पाँच लाख रूपैयाँ लिने गरेको खुलेको छ । विवाह गरेपछि अध्यागमनबाट फुत्किन सहज हुने भएकाले तस्करहरूले यस्तो ‘टेक्निक’ अप्नाउन थालेका हुन् । यहाँ अदालती विवाह गरिन्छ । सो कागजात अध्यागमनलाई देखाएपछि सहजै जान दिइन्छ । विवाहको नाममा भइरहेको मानव तस्करी रोक्न आवश्यक रहेको सरोकारवालाहरू बताउँछन् । तस्करीका लागि अदालत प्रयोग भइरहेको उनीहरूको गुनासो सुनिन्छ । 

नपढेका युवतीमाथि नजर

कम पढ–लेख गरेका, आर्थिक अवस्था कमजोर भएका युवतीमाथि तस्करहरूले नजर राख्ने गरेका छन् । नेपाल फर्किन्छु भन्दा पनि चिनियाँले फर्किन नदिने गरेको ब्यूरोका अधिकारीहरू बताउँछन् । चिनियाँ र नेपालीको विवाह प्रायःजसो बेमेल रहेको छ । अधबैंसे पुरुषहरू २०–२५ वर्षकी युवतीसँग वैवाहिक बन्धनमा बाँधिने गरेको उनीहरूको भनाइ छ । 

मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता उपरीक्षक (एसपी) भावेश रिमाल विगतको तुलनामा चीन लगेर बेचबिखन गर्ने क्रम घटेको बताउँछन् । परिवारकै सहमतिमा विवाह गरेर चीन जानेको संख्या बढेकाले त्यस्तो घटनामा कमी आएको हुनसक्ने उनको अनुमान छ । भन्छन्, ‘केही वर्षअघिसम्म मानव तस्करीका घटना एकदमै धेरै थियो । केही समयअघि एउटा त्यस्तो केस आएको थियो । परिवारकै सदस्यको सहमतिमा विवाह गरेर जाने भएकाले पनि न्यूनिकरण भएको हुनसक्छ ।’


 

टिप्पणीहरू