प्रधानमन्त्रीले भ्रष्टाचारी पालेको राजेन्द्र लिङ्देनको दाबी

प्रधानमन्त्रीले भ्रष्टाचारी पालेको राजेन्द्र लिङ्देनको दाबी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सरकार तस्कर र बिचौलियाको संरक्षकको रुपमा देखा परेको टिप्पणी गरेका छन् ।  

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले प्रधानमन्त्री कार्यालय मातहतका निकायहरु नै भ्रष्टाचारको अखडा बनेको दाबी गरे । ‘भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने’ प्रधानमन्त्री केपी शर्मा ओलीको नारा केवल नारामा सीमित बनेको उल्लेख गरेका छन् ।  

‘प्रधानमन्त्री कार्यालय मातहतको राजस्व विभागको काम नै व्यापारीलाई धम्काएर पैसा उठाउने हो, कुन व्यापारीकोमा छापा हानेपछि बिल नभएको सामान पाइन्छ, त्यहाँका कर्मचारीलाई राम्ररी थाहा छ’, लिङ्गदेनले भने, ‘उता भन्सार, नाकामा योजना मिलाएर पास गराइदिने, अनि यताबाट गएर छापा हान्ने, पैसा उठाउने । चरम भ्रष्टाचार होइन र हो ?’
त्यस्तै उनले नियमित गर्नुपर्ने कामलाई पनि सरकार ठूलो उपलब्धी भन्दै आत्मरतिमा रमाएको आपत्ति जनाए । ‘कांग्रेस र एमाले नमिलएको भए सुरुङमार्ग ब्रेक थ्रु हुँदैनथ्यो र ? नेपालको विद्युत बंगलादेश वा भारत जाँदैनथ्यो र ? विकासको लागि गर्नुपर्ने सामान्य नियमित कामलाई पनि ठूलो उपलब्धी मान्दिनुपर्ने ? जनतामा आशा जगाउने काम चाहिँ के भयो यसबीचमा ?’, लिङ्गदेनले सोधे । 

उनले प्रहरी प्रमुख (आईजिपी) बसन्तबहादुर कुवँरमाथि छानबिन गर्न मागसमेत गरेका छन् । रास्वपा सभापति रवि लामिछानेको प्रसंग कोट्याउँदै थपे, ‘उहाँ (आईजिपी)ले आफैँ राज्य व्यवस्था समितिमा आएर रवि लामिछानेमाथि कुनै पनि सहकारीसम्बन्धी उजुरी छैन, निवेदन छैन भन्नुभएको हो । अहिले उहाँ नेतृत्वकै प्रहरीले मुद्दा लगायो । हाम्रो राज्य व्यवस्था कसरी चलिरहेको छ, यो एउटा नमूना हो ।’
 

टिप्पणीहरू