आफ्नो प्रगति विवरण ल्याउन पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई जसपाकाे उर्दी

जनता समाजवादी पार्टी, नेपाल (जसपा) को केन्द्रीय कारिणी कार्यसमितिको बैठक बोलाइएको छ । ललितपुरको बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा भोलि र पर्सि बिहान ११ बजेदेखि बस्ने बैठकमा समसामयिक राजनीतिमाथि छलफल हुने जनाइएको छ ।
त्यसैगरी, पार्टीको संगठनात्मक कार्यदिशामाथि छलफल र करिब छ महिनादेखि पार्टीले सञ्चालन गर्दै आएको ‘जनतासँग जसपा नेपाल संगठन निर्माण अभियान’ को बृहत समीक्षा गर्न लागिएको जानकारी दिइएको छ । यसअघिको बैठकले केन्द्रदेखि वडास्तरसम्म जारी संगठन निर्माण अभियान निकै लोकप्रिय, प्रभावकारी र उत्साहजनक रहेको निष्कर्ष निकाल्दै पुस र माघ मसान्तसम्म समयावधि थप गर्ने निर्णय गरेको थियो ।
कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यहरुलाई तोकिएको जिम्मेवारीअनुसार आ–आफ्नो कार्यक्षेत्रअन्तर्गत भएका कार्यप्रगति विवरणको लिखित प्रतिवेदनसहित बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ । मधेश केन्द्रित दलहरुले संयुक्त मोर्चा बनाएर गर्न लागेको संघर्षबारे पनि बैठकमा छलफल हुने पार्टीले जनाएको छ ।
टिप्पणीहरू