रविका माननीयहरुको ‘बेवास्ता’ पछि प्रधानमन्त्री पनि बाहिर

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अरुको ‘इग्नोर’ मन पर्दैन भन्ने तथ्य पछिल्लो सत्तारोहणको सात महिनायताको राजनीतिक घटनाक्रमले देखाइसकेको छ । आफ्नो निर्णयप्रति असहमति राख्ने पार्टीकै नेतामाथि कारबाहीको डण्डा चलाउनु भएका प्रधानमन्त्रीले गत कात्तिक पहिलो साता राष्ट्रिय स्वतन्त्र पार्टीप्रतिको आक्रोश चितवनका तत्कालीन प्रमुख जिल्ला अधिकारी (प्रजिअ) इन्द्रदेव यादव र सुरक्षा प्रमुख (एसपी) भावेश रिमालमाथि पोख्नुभएको थियो ।
रास्वपा कार्यकर्ताले प्रधानमन्त्री ओलीको पुत्ला प्रदर्शन र दहन गर्दा नरोकेको भन्दै घटनाको भोलिपल्टै प्रजिअ यादव र एसपी रिमालको सरुवा गरियो । त्यतिले नपुगेर सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेमाथि कठोर नबन्न आग्रह गर्दै बालुवाटार पुगेका रास्वपा नेताहरुलाई समेत ‘मेरो काट्टो खान आउनु भएको ?’ भनेर सोध्नुभएको थियो ।
त्यसयता खासै आमनेसामने नभएका प्रधानमन्त्री ओली र रास्वपा सांसदहरु आज एकपटक ‘इगो एक्सचेन्ज’को अवस्थाबाट गुज्रेका छन् । संसदको हिउँदे अधिवेशनअन्तर्गत आजको पहिलो बैठकमा रास्वपा नेताहरुले प्रधानमन्त्री ओलीको भाषण बहिष्कार गरेपछि रोचक दृश्य देखिएको हो ।
सभामुख देवराज घिमिरेले सभा शुरु गरेसँगै रास्वपाका सांसदहरुले समय माग्दै कुर्सीबाट उठेर अवरोध सिर्जना गरेका थिए । सभामुखले बारम्बार ‘आसन ग्रहण गर्नुहोस्,लामो समयपछिको सभालाई विधिवत ढंगले अघि बढाउने वातावरण बनाइदिनुहोस्, कार्यसूचीअनुसार दलीय आधारमा बोल्न समय उपलब्ध गराउनेछु’ भनिरहँदा पनि उनीहरु टसको मस भएनन् । सभामुख घिमिरेले अन्ततः रास्वपाको अवरोधलाई नजरअन्दाज गर्दै सभालाई अघि बढाउनुभयो ।
शुरुमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयबाट आएका विभिन्न पत्रहरु पढेर सुनाएपछि सभामुख घिमिरेले बैठकमा बोल्न पहिलो समय प्रधानमन्त्री ओलीलाई दिनुभयो । तर उहाँ रोष्ट्रमतिर जाँदै गर्दा रास्वपा नेताहरु भने ‘हामी बैठक बहिष्कार गर्छौ’ भन्दै हलबाट निस्किए ।
आधा घण्टाभन्दा बढी समय सम्बोधन गर्नुभएका प्रधानमन्त्री ओलीको भाषण नसकुञ्जेल रास्वपा सांसदहरु हलबाहिर सञ्चारकर्मीसँग व्यस्त देखिन्थे । उहाँको सम्बोधन सकिएको खबर पाएपछि पुनः बैठक हलमा छिरे ।
आफ्नो भाषण बहिष्कार गरेर बैठक हलबाट निस्किएका रास्वपा सांसदहरुलाई प्रधानमन्त्री ओलीले पनि उही शैलीमा बहिष्कार गरेर रोचक बद्ला लिनुभएको पाइयो । सभामुख घिमिरेले प्रधानमन्त्री ओलीपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई बोल्न समय दिनुभएको थियो ।
लगत्तै एमालेका तर्फबाट योगेश भट्टराई र माओवादी केन्द्रको तर्फबाट प्रमुख सचेतक हितराज पाण्डेलाई समय दिएपछि सभामुखले दलीय आधारमा रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेलाई समय दिनुभयो । संयोग वाग्ले भाषणको लागि रोष्ट्रम जाँदै गर्दा प्रधानमन्त्री ओली कुर्सीबाट उठेर बैठक हलबाहिर निस्किनुभयो । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे बोलिरहँदा उहाँ पुनः हलमा फर्किनुभएको थियो ।
टिप्पणीहरू