पूर्वराष्ट्रपति पोखरा र विराटनगरको भेटघाट सकेर धरान किचनमा

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमाले धरानका स्थानीय नेता तथा कार्यकर्तासँग भेटघाट गर्नुभएको छ । विराटनगरबाट सोझै धरान पुग्नुभएका उहाँ बरगाछीस्थित धरान किचनमा अपरान्ह ४ बजे आयोजित भेटघाट कार्यक्रममा सहभागी हुनुभयो ।
सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्नो राजनीतिक जीवन प्रारम्भ सोही स्थानबाट भएको बताउँदै पुराना साथी र नयाँ पुस्तासँग भेट गर्ने उद्देश्यले पूर्व आएको जानकारी दिनुभएको थियो ।
भण्डारीले आफैं पत्रकार भेटघाट आयोजना गर्नु, राष्ट्रिय राजनीतिबारे नियमित अपडेट राखेको भन्नु र आफ्नो विचारलाई अभिव्यक्त गर्न खोज्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सोही क्रममा उहाँ धरान पुगेर छलफल गर्नुलाई पनि एमाले पंक्तिले सजगतापूर्वक विश्लेषण गरेको अवस्था छ ।
एमालेको एउटा समूह पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी अध्यक्ष बनाउने उद्देश्यसहित भित्राभित्रै सक्रिय रहेको भनिएको बेला जारी भेटघाटलाई सामान्य रुपमा लिन नहुने बताइन्छ । यद्यपि,प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पार्टी राजनीतिमा फर्काउन प्रयासरत नेताहरुलाई आफू हुँदाहुँदै दायाँबायाँ नसोच्न कडा रुपमा जवाफ दिँदै आउनुभएको छ ।
भण्डारीले केही समयअघि पोखरा पुगेर ‘जनताले आवश्यकता महसुस गरे जिम्मेवारीसहित एमालेमा फर्किने’ बताउनुभएको थियो । विराटनगरमा पनि त्यही आशयको अभिव्यक्ति दिनुभएको छ ।
उहाँको भनाई थियो, ‘राष्ट्रिय राजनीतिका समग्र एजेन्डामा सबै पक्षसँग छलफल गरिरहेको छु’, भण्डारीको भनाई छ, ‘ती एजेन्डा पूरा गर्न कुनै दलमा आवद्ध हुनुपर्यो भने उपयुक्त समय आएपछि निर्णय लिनेछु ।’
टिप्पणीहरू