मोहन वैद्यका डेढ दर्जन नेता प्रचण्डतिर मिसिए

मोहन वैद्यका डेढ दर्जन नेता प्रचण्डतिर मिसिए

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता-कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

क्रान्तिकारीका पूर्व केन्द्रीय सदस्य एवं काठमाडौँ सेक्रेटरी खगेन्द्र छन्त्यालको नेतृत्वमा डेढ दर्जन नेता-कार्यकर्ता खुमलटार पुगेर आज माओवादीमा मिसिएका हुन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई पार्टीमा स्वागत गर्नुभयो । 

पार्टी प्रवेश गर्नेहरुमा छन्त्यालसहित वैद्यका प्रदेश सचिवालय सदस्यहरु प्रेम तामाङ, केशर प्रधान, उमेश लामा, मीनकुमार राना मगर, रविन्द्र मिश्र, प्रदेश सल्लाहकार कुमारी थापा, प्रदेश सदस्य नोदराज रुचाल, पूर्वजिल्ला सदस्यहरु दावा शेर्पा, मेघनारायण श्रेष्ठ, मानबहादुर तामाङ, किरण लामा, जिल्ला सदस्य पदम तामाङ, विकास तामाङ, रेखा रम्तेल विकास के. सी.,इन्द्र राई, आशा रानालगायत छन् ।

नवप्रवेशीलाई स्वागत गर्दै प्रचण्डले देशव्यापीरुपमा माओवादी प्रवेशको लहर चलेको उल्लेख गर्दै क्रान्तिकारी शक्तिहरुबीच ध्रुवीकरण हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । क्रान्तिका उपलब्धि संस्थागत गर्दै समाजवादी क्रान्तिमा अघि बढ्न सबै क्रान्तिकारी शक्ति एक ठाउँमा आउनुपर्नेमा उहाँको जोड छ । 

त्यसक्रममा प्रचण्डले माओवादी फुटाउने कुरा क्रान्ति नभएको अनुभवबाट पुष्टि भएको दावीसमेत गर्नुभयो । माओवादी केन्द्रलाई बलियो बनाएरमात्रै शहीदका सपना पूरा गर्न सकिने बताउनुभयो ।

वैद्य छोडेर आउनेहरुलाई उचित जिम्मेवारी दिइने स्पष्ट गर्दै उहाँले पार्टी बनाउन आ-आफ्नो ठाउँबाट अभियानमा लाग्न निर्देशन पनि दिनुभयो । प्रवेश गर्नेहरूले विभाजनबट पाठ सिकेर त्यताबाट क्रान्ति हुन्न भन्ने निस्कर्षसहित माओवादी केन्द्रमा समायोजन हुन आएको बताए ।

टिप्पणीहरू