स्पष्टीकरण सोधिएपछि एमाले जिल्ला नेताद्वारा हटाइदिन माग
नेकपा (एमाले) को सर्लाही जिल्ला कमिटी सदस्य शंकरराम श्रेष्ठले आफूलाई पार्टीबाट निश्कासनको माग गरेका छन् । कमिटीका अध्यक्ष राजनारायण साहले स्पष्टीकरण सोधेपछि उनले जवाफमा आफूलाई तुरुन्तै पार्टीबाट निकाल्न भनेका हुन् । लालबन्दी नगरपालिका–६ निवासी उनले अब आफू स्वतन्त्र भएर जिउन चाहने उल्लेख गर्दै पार्टीका कारण धेरै पीडा भएको बताएका छन् ।
कमिटीले गत माघ २० गते उनलाई स्पष्टीकरण सोधेको थियो । पार्टीको प्रतिष्ठा,मर्यादामा आँच पुग्ने र नेतृत्वलाई खुइल्याउनेगरी निरन्तर सामाजिक सञ्जालमा स्ट्याटस लेखेको भन्दै कमिटीले उनलाई सात दिनभित्र लिखित स्पष्टीकरण दिन निर्देशन दिएको थियो ।
पत्रमा भनिएको छ,‘तपाईंले किन, के–कति कारणले अनुशासन उल्लंघन गर्नुभएको हो ? सामाजिक सञ्जालमा पार्टी विरोधीलाई मलजल हुनेगरी किन सामग्री पोष्ट गर्नुभयो ? पत्र प्राप्त भएको मितिले ७ दिनभित्र लिखित स्पष्टीकरण दिनुहोला । चित्तबुझ्दो जवाफ प्राप्त नभएमा पार्टीको विधानबमोजिम आवश्यक प्रक्रिया अघि बढाइने जानकारी गराइन्छ ।’
त्यसपछि उनले हिजो सामाजिक सञ्जालमार्फत त्यसको जवाफ दिएका हुन् । विगत तीन दशकदेखि पत्रकारिता क्षेत्रमा रहेका उनले आफू कसैको कृपाले नभई मेहनेतले जिल्ला कमिटी सदस्य भएको भन्दै कडा शब्दमा जवाफ फर्काएका छन् ।
‘म नेकपा (माले), संस्थापक सर्लाही जिल्ला कमिटी सदस्य हुँ । करिब, ३० वर्षअघि, पत्रकारिता त थियो नै । अहिले सर्लाही जिल्ला कमिटी सदस्य छु । तिम्रो कृपाले होइन’,उनले लेखेका छन्,‘त्यतिबेला मणि,सोम,मुकुन्द,पवन,माफ गर्नु दुई जनाको नाम याद आएन । तर, अहिलेका ठेउकाहरुको जगजगी मलाई एमालेबाट तुरुन्त निष्काशन गर । म मेरो जीवन जिउँछु । मलाई पीडा भयो । निष्काशन गर्नु न ।’
टिप्पणीहरू