चीनतिर देखाएर मुख थुन्न पाइन्छ कमरेड ?

चीनतिर देखाएर मुख थुन्न पाइन्छ कमरेड ?

जनताले काठमाडौंमा घर–घडेरी मागेका छैनन् । बिमा कम्पनीको जिएम पनि ताकेका छैनन् । न मलाई राजदूत बनाइदेऊ भनेका छन् । कारखानाको मालिक बनाइदेऊ भनेका छैनन् । न त कुनै किसिमको शेयर नै मागेका छन् । जनताले जम्माजम्मी आफ्नो र घरपरिवारको गुजारा गर्ने उपाय हरायो, जिन्दगी अघि बढ्न नसक्ने अवस्था भयो बाँच्ने उपाय के छ त्यो बताइदेऊ मात्र भनेको हो । जनतालाई गाँस, बास र कपासको बन्दोबस्त गर्ने जिम्मेवारी सरकारको हो । जनतालाई आज गुजारा गर्न मुस्किल परेजस्तै, खानबस्न नसकिने अवस्था बनेजस्तै आफूलाई पनि जीविका चलाउन मुश्किल परेरै हो नि एमाले अध्यक्ष तथा हालका प्रधानमन्त्रीले पढ्ने, लेख्ने अवसर नपाएको । गरिबीले त हो नि घरबाट निकालेर भूमिगत बनाएको र साम्यवादी राजनीतितिर हिँड्न बाध्य भएको ! 

जनता कुन अवस्थामा छन् र उनीहरूले कस्तो समस्या झेलिरहेका छन् भनेर साम्यवादी विचारधारा बोकेका प्रधानमन्त्रीले जति अरु कसैले बुझेका होलान् भनेर मान्न सकिन्न । प्रधानमन्त्रीले अझै पनि आफूलाई वर्गबाट आएको नेता हुँ भनिरहेको सुनिन्छ । यदि यो कुरामा उहाँ यकिन राख्नुहुन्छ भने मलाई लाग्छ कम्तीमा आफ्नो विगतप्रति न्याय गर्ने हिम्मत देखाउनुपर्छ । विगतलाई सम्झेर आजका गरिब किसान, मजदुरलाई दैनिक गुजारा हुनसक्ने व्यवस्था निर्माणतर्फ गम्भीर बनेर काम गर्नुपर्छ । तर यसो नगरी बरु राजाहरूको सिको गरेर उनीहरू जस्तै देखिने प्रयत्न गरिरहेको पो देखिन्छ । हाउ–भाउ–कटाक्ष सबै कुलीन घरानाको जस्तो छ । पहिरनमा देखिएका घडी, चश्मा, जुत्ता, मफलर र कोट आदिले पनि वर्ग छोडेकोतर्फ नै संकेत गरिरहेको छ । यसलाई सुधार्नु जरुरी छ । यतातिर ध्यान नदिँदा वर्गीय पहिचान धुलिसात हुन पुगेको छ । यो यथार्थ बताइदिने हिम्मत आजका बीरबलहरूमा देखिन्न । 

जनतालाई शक्तिशाली बनाउने, जनताको सहभागितालाई सुनिश्चित गर्दै त्यसलाई थप विस्तार गर्ने र अन्तमा समाजवादतर्फ जाने भनेको हो जनसंवादमार्फत । जनतालाई शक्तिशाली कसरी बनाउने, विकास र राजनीतिमा उनीहरूको सहभागितालाई कसरी बढाउने भन्नेबारे सकारात्मक सोँच र पहलकदमी दुवै देखिन्न । शिक्षा र स्वास्थ्य गरिब किसान र मजदुरको पहुँचभन्दा बाहिर किन बनाएको होला ? यो त खासमा जनताको संवैधानिक अधिकार हो, मानवअधिकार भन्दा पनि हुन्छ, नैसर्गिक अधिकार भने पनि हुन्छ । जनतालाई अशिक्षित र रोगी बनाएर विकास र समृद्धिको कल्पनासमेत गर्न सकिन्न । जनताको सहभागिता दलभित्र र दलबाहिर दुवै ठाउँमा हुनुपर्छ । विपक्षमा बोल्नै नदिने, लेख्नै नदिने तथा असहमत हुनै नदिने कुराले सहभागिता बढाउने होइन कि घटाउने काम गर्छ । पार्टी एक जनाको मात्रै त होइन ! अरु सदस्य भएनन् वा सदस्य कम भए अध्यक्ष कसरी बनिएला अथवा थोरैको नेता हुँदा हैसियत पनि त सानै हुन जान्छ । केही समयपहिले चीनको कुरालाई अघि ल्याएर नेताको विरोधमा नबोल, नलेख आलोचना नगर भनियो । यो अत्यन्तै आपत्तिजनक कुरा हो । चीनका नेतामा जस्तो स्वच्छता छ र हामीमा ? चीनजस्तै विकसित र समृद्ध देश बनाउने काम भएको छ र नबोल्नलाई ! पाइलैपिच्छे भ्रष्टाचारको आरोप छ, सुशासन शून्यजस्तै छ, लोकतान्त्रिक अधिकारमाथि लगातार प्रहार भइरहेको छ अनि केही नबोली, केही नलेखी टुलुटुलु हेरेर बस्न त मिल्दैन नि ! यस्तो कुराले सहभागिता बढाउन सहयोग गर्दैन र फलस्वरूप पार्टी पनि विस्तार हुन सक्दैन । 

जनताले खोजेको अर्को कुरा पूर्वाधार विकास हो । पूर्वाधारले देशको अर्थतन्त्र बलियो बनाउन सहयोग पुग्छ । यसको विकासले जनतालाई काम पाउने परिस्थिति बन्न जान्छ । काम गरेर जनताको हातमा पैसा आयो भने उनीहरूले त्यो पैसा स्वास्थ्यमा खर्च गर्छन्, छोराछोरीको शिक्षामा खर्च गर्छन्, दाल, मासु, अण्डा, फलफूल तथा सागपातमा खर्च गर्छन्, केही पैसा घुमघाममा खर्च गर्छन्, केही पैसा बचत पनि गर्छन् । यो भनेको यस्तो गर्दा देशका निम्ति योग्य जनशक्ति निर्माण हुन सक्छ भनेको हो । देशैभरि नहर बनाउन किन नचाहेको ? उद्योग र कलकारखाना खोल्ने काम किन नगरेको ? देशैभरिका बाटो किन अस्तव्यस्त छन् र भनेको समयमा गन्तव्यमा पुग्न सकिने अवस्था बनाउन केले रोकेको छ ? भ्यु टावर पूर्वाधार होइन । यस्तो अनुत्पादक भ्यु टावर देशैभरि किन बनाइरहेको ? स्कूल नखोल्ने, कलेज तथा विश्वविद्यालय नबनाउने, शिक्षालाई उत्पादनमुखी–रोजगारमुखी नबनाउने अनि दक्ष जनशक्ति कसरी तयार गर्ने ? यसतर्फ किन ध्यान नदिएको ? कतै वर्गपरिवर्तनले काम गरिरहेको त छैन यहाँ ? ठूलो आशंका छ । 

देशमा सामाजिक, साँस्कृतिक तानावाना बलियो बनाउने, समाजलाई सौहाद्र्रपूर्ण बनाउने र आपसी भाइचाराको वातावरण बनाउने काम पनि राज्य सरकारकै हो । जनताको सामाजिक, साँस्कृतिक, धार्मिक भावनासित जोडिएका धार्मिक स्थल व्यापारीलाई दिएर विवाद खडा गराउनु उचित होइन ! आफ्नो दलका सदस्यको निजी स्वार्थ जोडिएको छ भन्दैमा जनताको भावनाको खिलाफमा जानु हुँदैन । व्यापारी र नेताहरूको नेक्सस् कसरी जोडिएको हुन्छ भनेर बताइरहनु पर्ला र ? भक्तजन तथा श्रद्धालुहरू हिँडेरै दर्शन गर्न जाँदा सरकारलाई कुनै प्रकारको तकलिफ हुनु जरुरी छैन । व्यापारीलाई फाइदा पुर्‍याउनकै लागि समाजलाई द्वन्द्वमा धकेल्नु बुद्धिमानी होइन । विवाद समाधान गर्ने गरी यस्तो काम गर्नबाट पछि हट्दा घाटा केही पनि हुने छैन । सरकारको धन्दा दिने र चन्दा लिने मनशायले त यसमा काम गरेको छैन कतै भनेर मान्छेले सोचिरहेका छन् । जनताको मनमा अनेकौं आशंका पैदा भएका छन् । हाम्रो हितमा किन काम हुन/गर्न नसकेको भनेर चिन्तित मात्रै होइन अत्यन्तै आक्रोशित पनि बनिरहेका छन् जनता । यो कुराको भित्रभित्र भान भएको पनि छ भन्ने देखिन्छ । त्यसकारण सत्ता नढल्ने रटान गरिरहेको सुनिन्छ । 

यहाँ सबै जनाबाट परिस्थितिको व्याख्या गर्ने काम मात्रै भयो तर परिस्थितिलाई बदल्ने काम कसैबाट पनि हुँदै भएन । दिनदिनै सडक दुर्घटनामा परेर जनताको अकालमा ज्यान गइरहेको छ । सडक राम्रो बनाउन केले छेकेको छ ? कहिल्यै नआउने पानीजहाजको लागि खर्चिलो व्यवस्थापनको कुनै जरुरत छैन, अहिलेलाई खारेज नै गरे फरक पर्दैन । रेलकै कुरा पनि धेरै पछिको हो । आजको मुख्य काम दुर्घटनाको जोखिम कम गर्न बाटो बनाउने हो । झोलुंगे पुल बनाउने हो । ठुल्ठूला सिञ्चाइको नहर बनाउने हो । बन्द उद्योगहरू पुनः सञ्चालनमा ल्याउने हो । स्कूल–कलेज बनाउने र शिक्षामा गुणात्मक सुधार ल्याउने हो । अस्पताललाई सस्तो र सबैको पहुँचमा पुर्‍याउने हो । कसैलाई गाली गरेर, अरुलाई होच्याउने काम गरेर अघि बढ्दा मूल मुद्दामा केन्द्रित हुन अप्ठ्यारो हुन्छ र सहयोगको सम्भावना रहेको ठाउँबाट पाइने सहयोग पनि पाइन्न । द्वन्द्वलाई हिंसा भन्दा कस्तो प्रतिक्रिया सामना गर्नुपर्‍यो थाहै छ । 

जनताले भन्ने देशको प्रधानमन्त्रीलाई हो । पार्टीका समर्थक र शुभेच्छुकले भन्ने आफ्नो अध्यक्षलाई हो । सत्तामा जो छ भन्ने उसैलाई हो । प्रतिपक्षी दललाई भन्ने कुरा भएन, भने पनि उनीहरूले गर्नसक्ने केही छैन । तपाईंले थोपरेको महँगीबारे चुँसम्म गर्दैनन् प्रतिपक्षहरू, अनावश्यक अध्यादेशहरूको विरोधमा केही बोल्न सक्दैनन् । तिनीहरूलाई भन्ने कुरा पनि भएन । आफ्नो अनावश्यक र अनुपयुक्त महत्वाकांक्षालाई लगाम दिने, सामुहिकतालाई मूलधारमा ल्याउने, समाजवादी राजनीतिलाई सत्तासंग जोडेर काम गर्ने हो भने धेरै कुरा जनतालाई दिन सकिन्छ । 

एउटा प्रसिद्ध जापानी भनाइ छ– जसलाई म सल्लाहको रूपमा प्रस्ताव गरेर यसको बिट मार्न चाहन्छुः ‘यदि तिमी झुक्किएर अन्तै जाने रेलमा चढ्यौ भने पहिलो स्टेशनमै ओर्लिहाल्नु । ओर्लिन जति ढिला गर्नेछौ तिमीलाई त्यति नै धेरै नोक्सानी हुनेछ ।’ मेरो बुझाइमा एमाले अहिले अन्तै जाने रेलमा चढेको छ । ऊ जति छिटो त्यो रेलबाट उत्रेर सही ठाउँमा जाने रेलमा चढ्न सक्छ, उति नै कम नोक्सानी व्यहोर्नु पर्नेछ ।

 

टिप्पणीहरू