कांग्रेस एसका वकिलहरुले कसरी मिलाए कुरा ?

कांग्रेस एसका वकिलहरुले कसरी मिलाए कुरा ?

नेपाली कांग्रेस पक्षधर वकिलको संगठन डिएलए र नेकपा (एकीकृत समाजवादी) पक्षधर वकिल संगठन एसपिएलएबीच बार एशोसिएशनको चैत २३ गते हुने निर्वाचनसम्मका लागि गठबन्धन कायम गर्ने सहमति भएको निर्णय सार्वजनिक भएसँगै एमाले पक्षधर वकिलहरूको संगठन पिएलए र माओवादी निकट आरपिएलए नजिकिनेक्रम शुरु भएको छ । डिएलएलाई एक्लै पारेर चुनाव लड्दा आरपिएलएका रमण श्रेष्ठ र पिपिएलएका टीकाराम भट्टराई उठ्ने सम्भावना थियो । 

डिएलए र एसपिएलएले सर्वोच्च बारमा विजय हासिल गरेपछि गत फागुन ११ गते अनुपम फुडल्याण्ड गौशालामा एक भेला आयोजना गरेका थिए । नेपाल बारका पूर्व अध्यक्ष हरिहर दाहाल, शेरबहादुर केसी, प्रेमबहादुर खड्का, वर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरे, बसन्तराम भण्डारी, बाबुराम कुँवर, डिएलएका अध्यक्ष सीताराम केसी, भरत खरेल, महासचिव ज्ञानेन्द्र अधिकारी र एसपिएलएका शंकर सुवेदी, सर्वोच्च अदालत बारका पूर्वअध्यक्ष खगेन्द्रप्रसाद अधिकारी, एसपिलएका अध्यक्ष डेकेन्द्र सुवेदी र महासचिव अमर राउत, घनप्रसाद गौतमले भाग लिएको सो भेलामा बार काउन्सिलको चुनावमा डिएलए उम्मेदवारलाई मतदान गर्ने सहमति भएको बुझिएको छ । जसअनुसार काठमाडौंमा पर्शुराम कोइराला पिपिएलका तर्फबाट र तनहुँका रविनारायण खनाल प्रतिस्पर्धी देखिएका छन् । 

चैत २३ गते हुने केन्द्रीय बारको चुनावमा अहिले एसपिएलएले पाएको सिटभन्दा माथि अध्यक्ष वा महासचिव, त्यसो पनि नभए अहिले कायम रहेको सिटमैं तालमेल गर्ने सहमति भएको बताइन्छ । अहिले उपाध्यक्ष र तीन सदस्यले केन्द्रीय बारमा एसपिएलएको प्रतिनिधित्व गरिरहेका छन् । महासचिव भने माओवादी केन्द्र समर्थक अञ्जिता खनाल छिन् । एसपिएलएमन तर्फबाट शंंकर सुवेदी र घनप्रसाद गौतममध्ये एक यसको नेतृत्व लिने सम्भावना रहेको बताइन्छ । 

डिएलए र एसपिएलए सहकार्यका कारण न्यायपरिषद्मा वरिष्ठ अधिवक्ता दामोदर खड्का बारबाट प्रतिनिधित्व गर्ने सदस्यका रूपमा सर्वसम्मत चयन भएका हुन् । केन्द्रीय बारको २५ सदस्यीय कार्यसमितिमा डिएलएका १५ जना, एसपिएलएका ४ जना र आरपिएलएका ५ जना छन् । परिषद् सदस्यका रूपमा वरिष्ठ अधिवक्ता महादेव यादव, रञ्जितभक्त प्रधानांग, उपेन्द्रकेशरी न्यौपानेलगायत अन्य पनि जान इच्छुक भए पनि डिएलएले खड्कालाई तोकेपछि अरु सबै पछि सरेका हुन् । खड्काले न्यायपरिषद्मा बारको प्रतिनिधित्व गरेपछि सर्वोच्च र उच्च अदालतमा न्यायाधीशहरूको रिक्त दरबन्दी पूरा गर्ने प्रक्रिया अघि बढ्ने आशा जागेको देखिन्छ । यो आशासँगै सर्वोच्चको न्यायाधीशका निम्ति प्रयासरत वरिष्ठ अधिवक्ता दिनमणि पोखरेलको बाटो करिब करिब बन्द भएको मानिँदैंछ । सर्वोच्चमा माओवादी केन्द्रप्रति लगाव देखाउने न्यायाधीशहरू शून्यकै अवस्थामा रहेका छन् । डिएलएबाट अबको लटमा बारका पूर्व महासचिव वरिष्ठ अधिवक्ता विजय मिश्रको नाम प्रस्तावित हुने सम्भावना बढी रहेको बताइन्छ । 

अर्कोतर्फ समाजवादी प्रेस संगठन छोडेर विश्वमणि सुवेदी र रामकुमार एलनलगायत केही पत्रकार प्रेस चौतारीमा फर्के पनि वकिलहरू एसपिएल छोडर पीएलएमा फर्किएका छैनन् । बरु रास्वपामा मधु गएका छन् भने दुई जना स्वतन्त्र नै बसेका छन् । यी छिटपुट घटनाबाहेक एपिएलएले खासै क्षति नव्यहोरेको बताइन्छ ।
 

टिप्पणीहरू