टोपबहादुरलाई जेलमा अनेक रोग

टोपबहादुरलाई जेलमा अनेक रोग फाइल फाेटाे
सुन्नुहोस्

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाई करोडौँ असुल्ने गिरोहसँग साँठगाँठ गरेको आरोप लागेका तत्कालिन गृहमन्त्री तथा कांग्रेसका नेता बालकृष्ण खाँण बाहिरै बसेर मुद्दा पुर्पक्ष गरिरहेका छन् । उच्च राजनीतिक तथा प्रशासनिक नेतृत्व जोडिएको यस प्रकरणका अर्का पात्र हुन्, एमाले नेता तथा सांसद टोपबहादुर रायमाझी । प्रत्यक्ष–अप्रत्यक्ष संलग्नता रहेको भनिएका खाँण अदालतको आदेशले जेलमुक्त हुँदा उनी भने केन्द्रीय कारागारमा बन्दी जीवन बिताइरहेका छन् । 

माओवादीमा प्रचण्डपछि दोस्रो वरियताको नेता दावी गर्ने रायमाझी पटक–पटक मन्त्री र उपप्रधानमन्त्रीसम्म भए । आफूले रगत पसिना बगाएर बनाएको पार्टी त्यागी एमालेमा प्रवेश गरेका उनी अभियोग लागेसँगै पार्टी जिम्मेवारी र सांसद पदबाट निलम्बनको अवस्थामा छन् । प्रोस्टेट, उच्च रक्तचाप र मुटुसम्बन्धी समस्यासँग लडिरहेका उनी अन्य स्वास्थ्य समस्याबाट पनि पीडित छन् । यसै साता जेलभित्र जनआस्थासँग कुरा गर्दै उनले त्यसबेलाका विभागीय मन्त्री बालकृष्णले बाहिरबाटै मुद्दा लड्न सुविधा पाएको तर आफूले दुई वर्षदेखि अन्याय सहनुपरेको बताए । ‘बालकृष्णजी विभागीय मन्त्री भएकोले उनी कतिपय निर्णय प्रक्रियामा संलग्न भए होलान् । क्याबिनेटमा प्रस्ताव लगेका होलान् । अन्य किसिमका कागजमा सही पनि गरेका होलान्’, रायमाझीले भने, ‘तर म त त्यो विषयसँग सम्बन्धित नै थिइन । केवल एउटा फोटोका कारण मुद्दा लगाएर जेलमा पुर्‍याइयो ।’ लामो समयसम्म मुद्दा त्यसै थन्काएर आफूलाई थप पीडा दिने काम मात्र भएको उनको गुनासो छ । 

माओवादी छोडी एमालेमा प्रवेश गरेकै कारण राज्य सत्ताले आफूलाई झुटा मुद्दा लगाएर फसाएको रायमाझीको आरोप छ । जसरी नेपाली काँग्रेसको पहलमा खाँणलाई जेलबाहिरैबाट मुद्दा लड्ने सुविधा प्राप्त भयो त्यसैगरी उनको लागि एमालेले काँध नथापे पनि खुलेर चित्त दुखाउन भने हिच्किचाउँछन् । पार्टी नेतृत्वको आलोचना गरेमा अझै भित्रै ‘थन्काइदिने’ त्रासमा रहेका उनमा परिस्थिति बदलिने र बाहिर निस्कने झिनो आशा भने बाँकी नै छ । 

तत्कालीन नेकपाको एकता भंग गर्दै एमाले र माओवादीलाई पुरानै अवस्थामा फर्काउने सर्वोच्च अदालतको अनपेक्षित फैसलापछि रायमाझी माओवादी छोडेर तत्कालीन प्रधानमन्त्री केपी ओलीतिर लागेका थिए । त्यसवापत एमालेको सौराहा महाधिवेशनबाट सचिव पदमा छानिए । तर, जब भुटानी शरणार्थी प्रकरण सतहमा देखा पर्‍यो, घर न घाटको अवस्थामा पुगे । एमालेले पदबाट निलम्बन गरेर कित्ताकाट गरिदियो । 

बालकृष्णले जस्तै सुविधा पाउने उनको चाहना पूरा हुनेछाँट छैन । दुई वर्षदेखि मुद्दा एक इञ्च पनि अघि नबढेको भन्दै रायमाझीले यसलाई न्यायको बर्खिलाफ हो भनेका छन् । भन्छन्, ‘हामीले राज्यका प्रणाली परिवर्तन गर्‍यौँ । तर, सोच, संस्कार र न्याय सम्पादनको नाजुक स्थितिलाई फेरबदल गर्न सकेनौँ ।’

रायमाझी एमाले केन्द्रीय सचिव मात्रै नभई अर्घाखाँची जिल्लाबाट प्रत्यक्ष निर्वाचित सांसद पनि हुन् । ०७९ को आमचुनावमा तत्कालीन पाँच दलीय गठबन्धनका उम्मेदवार कांग्रेसकी चर्चित नेत्री पूर्वउपसभामुख पुष्पा भुसाललाई पराजित गर्दै सांसद निर्वाचित भएका थिए । आफू जेल परेपछि अर्घाखाँची जनप्रतिनिधिविहीन भएको र विकास निर्माणका काम ठप्प भएको उनको तर्क छ । जेलमा भेट्न आउनेमध्ये अधिकांश उनका मतदाता हुने गर्छन् । तर, एमाले नेता भने खासै नदेखिएको जेल प्रशासनले जानकारी दियो । 

माओवादीमै बसेको भए यो अवस्था आउने थिएन कि भन्ने बुझाइ पनि छ रायमाझीको । सुन काण्डमा थुप्रै माओवादी नेताको नाम जोडिए पनि त्यसबेलाको सरकारले उनीहरूमाथि मुद्दा नचलाएको भेट्न आउनेहरूलाई सुनाउने गरेका छन् । त्यसो त एमालेका पूर्वमाओवादी नेताले पनि उनलाई साथ दिएका छैनन् । रामबहादुर थापा बादल, लेखराज भट्टहरूले आफ्नो पक्षमा नेतृत्वसँग पहलकदमी नगर्नुमा उनीहरूको ‘सामथ्र्य’ नपुगेको रायमाझीको बुझाई छ । 

नेकपा विभाजनपछि रायमाझीसँगै बादल, लेखराज, प्रभु साह, मणि थापा, गौरीशंकर चौधरी, दावा लामालगायतले एमाले रोजेका थिए । तर, एमालेको ठूलोपंक्तिले भने यसलाई पूर्वमाओवादी खेमाका कारण आफ्नो भाग खोसिएको अर्थमा बुझेको पाइन्छ । जसका कारण धेरै एमालेजनले टोपबहादुरहरूलाई पद दिएको रुचाएका थिएनन् । उनको पक्षमा पार्टीभित्र माहोल नबन्नुमा यो पनि एउटा कारण हुनसक्छ । 

अर्कोतिर, एमालेको केन्द्रीय राजनीतिमा लुम्बिनी प्रदेशको वर्चस्व छ । ७७ जिल्लामध्ये प्रदेशको चार जिल्लाका नेताले पदाधिकारीमा सात पद ओगटेको अवस्था छ । महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरू गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, उपाध्यक्ष युवराज ज्ञवाली, निलम्बित सचिव टोपबहादुर लुम्बिनीकै हुन् । जसकारण एमालेको पदाधिकारी तहबाट रायमाझीहरूलाई साथ मिल्ने कुरै थिएन । पूर्वमाओवादीहरूको हकमा ‘कुचोले बढार्नुपर्ने कसिंगर हावाले उडाइदियो’ भनेझैँ भएको छ । प्रभु साह र मणि थापाहरू आफैँ बाटो लागेका छन् । 

‘गणतन्त्रका लागि जनयुद्धसम्म लडियो, युद्धमा मारिन पनि सक्थेँ’, कुराकानीका क्रममा हल्का उत्तेजित हुँदै रायमाझीले भने, ‘अब योभन्दा बढी के नै गर्न सक्लान् र ! ज्यानै त लिँदैन होला, यहाँ कोचिएकै छु ।’ पूर्वउपप्रधानमन्त्री रायमाझीले जेलभित्रबाट खुइया गरे ।
 

टिप्पणीहरू