सुधार केन्द्रभित्रै गयो युवकको ज्यान

बाराको सुधार केन्द्रमा राखिएका एक युवकको कुटपिटबाट ज्यान गएको छ । कलैया उपमहानगरपालिका–१, भवानीपुरस्थित नवजन्म सुधार केन्द्रमा स्थानीय ३७ वर्षीय धिरेन्द्र भन्ने प्रदिपप्रसाद मण्डलको निधन भएको छ ।
गएराति २ बजे सुधार केन्द्रमा वादविवाद भएपछि उनीमाथि निर्घात कुटपिट भएको बताइन्छ । गम्भीर घाइते उनलाई तत्काल प्रादेशिक अस्पताल कलैया पुर्याइए पनि चिकित्सकले मण्डललाई मृत घोषणा गरिदिएका थिए ।
घटनामा संलग्न भनिएका नौमध्ये सात जनालाई पक्राउ गरिसकिएको प्रहरीले जनाएको छ । जसअनुसार कलैया–३, बस्ने १९ वर्षीय सर्फराज मन्सुरी, कलैया–४, का २२ वर्षीय निरज सरार्फ, कलैया–६, का २० वर्षीय राहुल भन्ने महमद आशु मियाँ शेख, कलैया–१, का २४ वर्षीय अरुण सरार्फ समातिएका छन् ।
यस्तै, कलैया–२, बस्ने २१ वर्षीय प्रमेश्वर साह, कलैया–३, का २९ वर्षीय तमन्ना अली, कलैया–१, का १९ वर्षीया सागर गुप्ता पनि पक्राउ परेका छन् । कलैया–३, घर भएका २२ वर्षीय साहिल अलि र कलैया–६, का २६ वर्षीय सुरज शेख भने फरार रहेको प्रहरीले जनाएको छ । फरारको खोजीसँगै घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू