सरकारकाे घाँटीभन्दा हाड ठूूलो

सरकारकाे घाँटीभन्दा हाड ठूूलो
सुन्नुहोस्

मुलुकको आर्थिक अवस्था झन् झन् खस्कँदै गएको छ । आम्दानीभन्दा खर्च बढे पनि सरकारी निकाय तथा पदाधिकारीहरुको सुविधामा कटौतीभन्दा बढोत्तरी देखिन्छ । विकास खर्चको आन्तरिक जोहो एकादेशको कथा बन्न थालेको छ । 

तर विश्वकै सर्वशक्तिमान अमेरिकामा समेत पछिल्लो समय सरकारी खर्च कटौतीका विभिन्न निर्णय गरिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले खर्च कटौतीको जिम्मा विश्वका सबैभन्दा धनी एलन मस्कलाई दिएका छन् । इलोन मस्क नेतृत्वको त्यहाँको सरकारी दक्षता विभागले (डज) नेपाललाई उपलब्ध गराउने भनिएको ‘आर्थिक संघीयता र जैविक विविधता संरक्षण’ परियोजनाको तीन करोड नब्बे लाख अमेरिकी डलरको अनुदान रद्द गरेको छ । ट्रम्पले मस्कको नेतृत्वमा सरकारी दक्षता विभाग डजको गठन गरेपछि एकपछि अर्को यस्ता निर्णय भएका छन् । 

तर हाम्रोमा चालु आर्थिक वर्षको पछिल्लो सात महिनामा मुलुकको आम्दानीले साधारण खर्च पनि धान्न सकेको देखिँदैन । पछिल्लो सात महिनामा सरकारले राजश्व जम्माजम्मी ६ खर्ब ५९ अर्ब उठाएको बताइन्छ । तर, नेता, मन्त्री, सांसद, कर्मचारीको तलब, भत्ता तथा सुविधामा सोही अवधिमा ५ खर्ब ६२ अर्ब रुपैयाँ खर्च भएको मोटामोटी तथ्याङ्क छ ।

यसबीचमा सरकारले आन्तरिक तथा वाह्य ऋणको साँवा–ब्याजमा १ खर्ब ६७ अर्ब खर्चेको छ । सबै खर्च जोड्दा माघ मसान्तसम्म ७ खर्ब २६ अर्ब पुग्दा आम्दानी ४७ अर्बले न्यून देखिन्छ । सोझो अर्थमा भन्ने हो भने यो ‘सरकारले उठाएको राजश्वले साधारण खर्च समेत धान्न नसकेको अवस्था हो ।’

सामाजिक सञ्जालमा एक जनाले एउटा महँगो गाडी पोष्ट गर्दै व्यङ्ग्य गरेका छन् : यो गाडीको मूल्य ३ करोड ३४ लाख रुपैयाँ पर्छ । यो झण्डा नभएको गाडी हुँदा सचिव वा सहसचिव वा कुनै आयोगका हाकिमले चढ्दा हुन् ।’ अगाडि लेखेका छन्, ‘हामीले तिरेको कर यिनका पालन, पोषण, ऐस–आराम र विलासितामै ठीक हुँदो रहेछ ।’

टिप्पणीहरू